पवन खड्का/खोटाङ, वैशाख ३ । आधा उमेर देशबाहिर बिताएका हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुरीढाँडका खम्ब चाम्लिङ अहिले ४८ वर्ष पुगे । रोजगारीको सिलसिलामा उनले कतारमा ६ वर्ष, साउदी अरबमा २ वर्ष र भारतका विभिन्न प्रान्तमा १५ वर्ष बढी गरी जीवनको अढाइ दशक खर्चेका छन् ।
एकातिर घरको जेठो सन्तान, अर्कातिर सानै उमेरमा विवाह । त्यसले गर्दा किशोरावस्थामै उनको काँधमा जिम्मेवारीको चाङ आइलाग्यो । परिवार चलाउन उनले सानै उमेरमा ऋणको बोझ बोक्नुपर्यो । लागेको ऋण तिर्ने र प्रशस्त पैसा कमाएर परिवारलाई सुखले पाल्ने सुनौलो सपना लिएर विदेश पसेका उनले रोजगारीको सिलसिलामा अनेकन समस्या झेल्नुपर्यो । कहिले काम गर्ने कम्पनी राम्रो परेन त कहिले सोचे अनुुसारको काम पाएनन् ।
स्वभावैले मान्छे एकातिरबाट आशा गरिएको प्रतिफल प्राप्त नभएपछि अर्कातिर लाग्छ । त्यही आशाले वैदेशिक रोजगारीका दौरान यताउता गर्दागर्दै उनको आधा उमेर बित्यो । कसै गरी पनि वैदेशिक रोजगारीले नफापेछि ३ वर्षअघि उनी सधैँका लागि स्वदेश फर्किए । अहिले उनी आफ्नै देशमा कृषि पेशाबाट केही गर्छु भन्ने दृढ संकल्पका साथ ४० वर्षभन्दा बढी समयदेखि बाँझिएको जमिनमा पसिना बगाइरहेका छन् ।
रोजगारीको सिलसिलमा सपरिवार भारत रहँदा ४ वर्षअघि अल्पायूमै उनकी श्रीमतीको निधन भयो । श्रीमतीको निधनले उनी लामो समय गहिरो शोकमा डुुबे । भनिन्छ, पीडालाई पनि सही सदुपयोग गर्न सके त्यही नै जीवनमा खुसीको स्रोत बन्छ । त्यही पीडालाई सदुपयोग गरेर उनी अहिले श्रममा लागेका छन् ।
चुरीढाँडमा उनको २७ रोपनी जग्गा छ । उनलाई सम्झना भए अनुसार उक्त जग्गामा उनी बाल्यकालमा छँदा बुबाआमाले खेती गर्थे । पछि बुबा घर बस्न छोडेर बाहिर हिँड्न थालेपछि जग्गा बाँझो रहन पुग्यो । किशोरावस्थामै विदेश पलायन भएका उनलाई खेती गरेर खासै फाइदा छैन भन्ने लाग्थ्यो । तर, अहिले उनको त्यो सोच बदलिएको छ । “विदेश मात्रै कमाइ गर्ने ठाउँ होइन रहेछ,” चाम्लिङले आफ्ना् अनुभव सुनाए, “मेहनत गर्ने हो भने आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागरे मैले पनि कृषि पेशा रोजेँ ।” अहिले उनी विदेशको नामसमेत लिन चाहँदैनन् ।
कृषि पेशाबाटै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वासका साथ अहरोत्र नौ महिना कोदालो र झम्पल लगाएर उनले १२ रोपनी बाँझो फोरे । उक्त जमिनमा अहिले उनले मकै लगाएका छन् । बाँकी रहेको जमिन पनि आगामी वर्षभित्र खनिसकेर केही न केही कृषि उपज लगाउने योजना रहेको उनले सुनाए । खनिएको जमिनमा सुन्तला, कागती लगायत फलफुल लगाउने उनको योजना छ । कृषि सामग्री बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनी बताउँछन् ।
कृषिबाटै समृद्धिको सपना देखेका चाम्लिङले लगानी गर्ने पूँजीको अभावका कारण अहिले नै सोचे अनुसार काम गर्न भने सकेका छैनन् । स्थानीय सरकारबाट अनुदान पाए आफ्नो पेशामा ठूलो सहयोग पुग्ने उनी बताउँछन् । तर, वास्तविक किसानले अनुदान नपाएको उनको गुनासो छ । “स्थानीय सरकारबाट सहयोग मिले केही गर्न सकिन्थ्यो होला,” उनी भन्छन्, “तर हामी मेहनत गर्ने किसानलाई अनुदान छैन । कामै नगर्ने जनप्रतिनिधिका आसेपासेले अनुदान पाएका छन् ।”
आफूसँग भएको थोरै पूँजीले उनी बाख्रा पालन पनि गरिरहेका छन् । बाख्रा पालनका लागि उनले व्यवस्थित खोर बनाएका छन् । अहिले उनीसँग २० वटा बाख्रा छन् । “सानै उमेरदेखि कमाउनतिर लागियो तर कमाउन सकिएन,” चाम्लिङले भने, “जिम्मेवारीको भारीले उमेर बितेको पत्तै भएन । बुढेसकाल लागेपछि होश आयो । युवा अवस्थामै यतातिर लागेको भए आजको स्थिति अर्कै हुने थियो । तर, अहिले पनि हिम्मत हारेको छैन । केही त गरेर देखाउँछु नै ।”
उनका एक छोरा र एक छोरी छन् । छोराको विवाह भइसेकर पनि सन्तान जन्मिएका छन् । चाहेको भए उनी छोरा वा छोरीको शरण लिएर बस्न सक्थे । तर, पाखुरीमा बल रहेसम्म उनलाई आफ्नै मेहनतको कमाइ खान मन छ । भन्छन्, “मलाई परनिर्भरता पटक्कै मन पर्दैन । सकेसम्म आफैँले गरेर खाऊँ भन्ने लाग्छ ।”
चुरीढाँडमा थुप्रै जमिन बाँझो छ । खेतीयोग्य जमिन जंगलमा परिणत भएको छ । बाँझिएको जमिन पूर्वावस्थामा फर्काउन चाम्लिङले दिन रात नभनी मेहनत गरेका छन् ।
रोजगारीका लागि युवाहरू विदेश पलायन हुने क्रम बढ्दो छ । परिणामतः खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यही बेला चाम्लिङले थालेको कृषिकर्म अनुकरणीय छ ।



