Tuesday, March 18News That Matters

फोक्सिङ्टार पुल निर्माण सुरु भएको दश वर्षपछि सञ्चालनमा आयो

खोटाङ, पुस ७ । पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत वारी–पारी सडक बनेपनि नदिमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो । हिउँदको समयमा अस्थायी रुपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारी साधन वारपार हुने गरेको थियो । बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता थियो ।

खोटाङ र उदयपुर जिल्लाको सिमानामा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदिमा मोटरेबल पक्की पुल बिहिबारबाट सञ्चालन आएसँगै तराई आवतजावत गर्न र सामान ढुवानी गर्न जिल्लाबासीलाई सहज हुने भएको छ । उक्त पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत सहजता हुने अपेक्षा गरिएको छ । दैनिक उपभोग्य सामान ढुवानीमासमेत सहजता हुनेभएपछि अघिल्लो वर्षहरु जस्तो बर्खामा सामानको मूल्य बृद्धि नहुने ब्यापारीहरुको भनाइ छ ।

वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते पुल निर्माणको सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको गौरी पार्वती वाईपी जेभीको चरम ढिलासुस्तीका कारण सम्झौता भएको दश वर्ष पश्चात मात्र पुल सञ्चालनमा आएको छ । ठेकेदार कम्पनीको लापारबाहीको कारण हरेक वर्ष अस्थायी बेलिब्रिज जडान गर्दा र हटाउदा राज्य कोषबाट करोडौँ रकम सकिएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदिमा निर्माण गरिएको उक्त पुल ‘आर्क’ डिजाइनको रहेको छ ।
१२० मिटर लामो पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो । पुलको रङरोगन तथा वाइरिङको काम बाकी रहेपनि बिहिबारबाट पुल सञ्चालनमा ल्याइएको छ ।

यता दिक्तेल–गाईघाट सडकखण्डको अवस्था भने नाजुक छ । कालोपत्रको ठेक्का परेपनि ठेकेदार कम्पनीको लापारबाहीले गर्दा सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । नदिमा पुल निर्माण भएर सञ्चालनमा आएपनि पुलसम्म सवारी साधनलाई पुग्न हम्मेहम्मे हुने गरेको छ । जिल्लाको महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको छ । हाल महुरेदेखि राजापानीको सिम्पानीसम्म सडकको जिम्मा पाएको कम्पनीले काम सुरु गरेपनि सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्मको कालोपत्रे गर्ने जिम्मा पाएको ठेकेदार भने बेपत्ता छन् ।