Saturday, July 27News That Matters

रातो माछाले प्रख्यात खोटाङको बराहपोखरीमा निरन्तर पानी घट्दै

रातो माछाले प्रख्यात खोटाङको बराहपोखरी, तस्विर : दमन राई

राजकुमार भट्टराई (सरगम)

खोटाङ, वैशाख २५ । खोटाङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल बराहपोखरीमा निरन्तर पानी घट्न थालेको छ । २०७२ सालको भुकम्प पश्चात पोखरीमा निरन्तर पानी घट्न थालेको स्थानीयले बताएका छन् । हालसम्म पोखरीको चार भागको तीन भाग पानी घटिसकेको छ ।

दुर्लभ रातो माछाले प्रख्यात बराहपोखरी करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाईमा फैलिएको छ । सधैं स्वच्छ पानीले भरिभराउ रहने निलो रंगको देखिने पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा छ । पोखरीलाई माथिका डाँडाबाट हेर्दा झनै आकर्षक देखिन्छ । दुर्लभ रातो माछा हेर्न र दर्शन गर्न दैनिक पर्यटकहरु पोखरीमा पुग्ने गरेका छन् । तर पछिल्लो समय पानीको आकार निरन्तर घट्दै गएकाले पोखरी सुक्ने होकी भन्ने चिन्ता लाग्न थालेको स्थानीय बताउछन् ।

नेपाल सरकारको सय गन्तव्य सूचीमा समावेश गरिएको उक्त पोखरीकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । बराहपोखरी गाउँपालिका–१ मा पोखरी रहेको छ । मुहान र निकास हुने ठाउँ नदेखिए पनि सधै टम्म पानी हुने विशेषता बोकेको बराहपोखरीमा शंखेश्वर महादेवको दर्शन गर्न र घुमफिर गर्न खोटाङ जिल्लाका विभिन्न ठाउँ, छिमेकी जिल्लाहरु उदयपुर, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्दुली, संखुवासभा लगायत देशका अन्य जिल्लासँगै बाहिर देशका पर्यटकहरु आउने गरेका छन् ।

बराहपोखरीमा रामनवमी, शिवरात्रि, हरिबोधिनी एकादशी, बालाचतुर्दशी, माघे सङ्क्रान्तिका दिन मेला लाग्ने तथा सतबीज छर्ने चलन छ । बच्चा नहुने दम्पतीले बराहपोखरीको दर्शन गर्दा बच्चा प्राप्त हुने जनविश्वास रहेको स्थानीय डिल्लीराम गिरीले बताउनुभयो । बिशेष मेला लाग्ने समयमा शान्तिका लागि परेवा उडाउनेहरुको पनि भीड लाग्ने गर्दछ । १९९० सालको भुकम्पले केही तल भासिएको पोखरी २०७२ सालको भुकम्पले छेउछेउमा चिराचिरा बनाएको उहाँको भनाइ छ ।

४ दशमलव ४६ हेक्टरमा फैलिएको बराहपोखरीमा २०४१ सालमा पोखरी माथीबाट रहेको कोकाखोला बाढी आएर थेरै भूभाग पुरिएको स्थानीय धु्रव गिरी बताउनुहुन्छ । बीचमा बाढी पस्दा पोखरी झण्डै दुई भागमा बाढिएको उहाँको भनाइ छ । हाल पोखरीमा पुरिएको बालुवा निकालीएको छ । तर पोखरीको पानी सुक्दै जादा बगरको मात्रा बढ्दै गएको देखिन्छ । प्राय पोखरी माथी रहेको कोकाखोलाको पानी तथा भलले पोखरी भरिने गरेकोमा पछिल्लो समय पोखरीतर्फ आफै बाँध लागेर खोला अन्य स्थानबाट बग्न थालेको छ ।

पानीको मुहान नदेखिने तर कहिल्यै नसुक्ने बराहपोखरीको पानी सुरुङबाट निकास हुने गरेको गिरीको भनाइ छ । पोखरी भन्दा केही तल भुल्के भन्नेठाउँमा पोखरीको पानी निकास हुने गरेको गिरी बताउनुहन्छ । नजिकै रहेको कोकाखोलाको पानी पोखरीमा फिल्टर गरेर ल्याउने व्यवस्था मिलाउन सके पोखरीको पानी नघट्ने स्थानीयको माग छ ।

दुर्लभ रातो माछा पाइने बराहपोखरीमा पछिल्लो समय माछा पनि घट्दै गएको छ । नदिबाट बेलाबेला जलहाँस आएर माछा खाने गरेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । ‘नदिबाट जलहाँस आएर माछा खाइदिने गरेको छ, एउटा हाँसले एकै पटकमा ३० वटासम्म माछा खाने रहेछ । सरकारको नियम अनुसार हाँस मार्न पाइदैन, तर खेदाउदा खेदाउदै हाँसले माछा खाएर सक्न लाग्यो ।’ वडाध्यक्ष कार्कीले भन्नुभयो । दुर्लभ रातो माछाको लोभ हुन लागेको र पानीको मात्रा चार भागको एक भाग मात्रै बाकी रहेकाले बराहपोखरीको अस्तित्व हराउनेमा डर पैदा भएको उहाँको भनाइ छ । पोखरीको संरक्षणमा प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यान जानु पर्ने वडाध्यक्ष कार्कीको माग छ ।

बराहपोखरीमा रहेको दुर्लभ रातो माछा

बराहपोखरीको संरक्षण लागि स्थानीय सरकारको बजेटले नपुग्ने भएकाले धेरै पटक प्रदेश र केन्द्रीय सरकारलाई गुहार्दा पनि बजेटको व्यवस्था नभएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जचारले बताउनुभयो । पालिकाको तर्फबाट प्रवद्र्धनका केही कामहरु सुरु गरिए पनि बजेट अभावले अधुरै रहेको उहाँको भनाइ छ । सरकारले बराहपोखरीलाई १०० गन्तव्य सूचिमा राखे पनि हालसम्म राख्ने काम मात्र भएको उहाँको गुनासो छ । ‘सरकारले कागजमा मात्र बराहपोखरीको नाम राख्यो, काम केही गर्दैन् अनि कसरी यसको प्रवद्र्धन हुन्छ । हामीले जिल्लाको हलेसी, बराहपोखरी र चतरालाई जोड्ने प्रयास पनि गर्यौ तर सफल हुन सकेको छैन् । पोखरीको संरक्षण र प्रवद्र्धनमा केही कामको थालनी गरेका छौँ, तर बजेट अभावले अलपत्र छ ।’ अध्यक्ष बञ्जराले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि ल्याइएको डुंगाको बेहाल
पर्यटन प्रवद्र्धनका लागि बराहपोखरीमा डुंगा ल्याइएको थियो । २०७४ चैत १० गतेदेखि सञ्चालनमा ल्याइएको डुंगा अहिले बेहाल अवस्था छ । पाइडलले चल्ने र एक पटकमा चारजना अट्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीयले बताएका छन् । अहिले डुंगा पाखा भित्तामा अलपल अवस्थामा छ ।

उचित संरक्षण र संवद्र्धनको अभावमा ओझेलमा रहेको भन्दै पोखरीको पर्यटन प्रवद्र्धनका लागि आर्थीक वर्ष २०७३/७४ मा तत्कालीन सांसद विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजन गरिएको बजेटमध्ये ६ लाख ५० हजारमा भारतबाट तीनवटा डुंगा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको थियो । तर, केही समय चलेर हाल डुंगा बिग्रीएर बगरमा थन्कीएको छ ।

बराहपोखरीमा सञ्चालनका लागि ल्याइएको डुंगाको बेहाल अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *