Saturday, July 27News That Matters

रुखबाट झरेको पात चराहरुले टिपेर फाल्ने खोटाङको पञ्चकन्या पोखरी

पुनर्निर्माण गरिएको पञ्चकन्या पोखरी

राजकुमार सरगम (भट्टराई)

खोटाङ, असार २८ । खोटाङको पञ्चकन्या पोखरी, कतिले देखेको हो, कतिले सुनेको हो भने कतिले नसुनेको नाम हो । यो पोखरी खोटाङको सुदूर दक्षिणी भेग जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा पर्छ । सुनकोसी र बुँवा खोलाको संगमस्थल नजिकै रहेको पञ्चकन्या पोखरीले भर्खरै मात्र पुनर्जीवन पाएको हो ।

खोटाङको तराई भनेर चिनिने मैनटार गाउँ नजिकै रहेको यो पोखरी वि.स. २०४१ सालमा बुँवा खोलामा आएको बाढीले पुरिदिएको थियो । दैनिक दर्शनार्थी आइरहने पञ्चकन्या पोखरी एकाएक बगरमा परिणत भयो । त्यसपछि स्थानीयले खेल मैदानमा प्रयोग गर्न थाले । खेल मैदान बनेको पञ्चकन्या पोखरीले लामो समय पछि पुनर्जीवन पाएको छ । जन्तेढुंगा गाउँपालिकाले केही वर्ष अगाडि पोखरीको पुनर्निर्माण गरेको हो । पोखरीको पुनर्निर्माणसँगै अहिले फाट्टफुट्ट दर्शनार्थीहरु आउने गरेको स्थानीय रिपुधन तामाङ बताउनुहुन्छ । पोखरीको नजिकै मन्दिर पनि निर्माण गरिएको छ ।

कस्तो थियो पञ्चकन्या पोखरी ?

बुबा खोलामा बाढी आउनु अघिसम्म हाल देखिएको पोखरीको माथीसम्म पानी थियो । वरिपरि ठुला ठुला रुखहरु थिए । पोखरीको दृश्यले मन आनन्दमय त हुन्थ्यो नै, वरिपरिको रुखमा बसिरहेका चराको आवाजले झनै मनमोहक बनाइदिन्थ्यो जो कसैलाई ।

पञ्चकन्या पोखरीको पानी सफा थियो । पोखरीको पानी सफा राख्ने चराहरु थिए । रोचक कुरा के छ भने, पोखरीमा रुखका पात झर्ने बित्तिकै चराहरुले त्यो पात टिपेर बाहिर निकाल्थे । ४१ सालमा खोलाको बाढी पोखरीमा नपसुन्जेलसम्म चराहरुले रुखबाट झरेका पात टिप्ने गरेको स्थानीय रिपुधन तामाङको भनाइ छ । पोखरीमा रातो र सेतो माछा पाइन्थ्यो, चराहरु रुखबाट झरेका पात टिप्ने गर्थे । जुन दृश्य हेर्न र दर्शन गर्न दैनिक दर्जनौं मानिसहरु पञ्चकन्या पोखरी पुग्ने गरेको स्थानीय तामाङ बताउनुहुन्छ ।

हाल पुनर्निर्माण गरिएको पञ्चकन्या पोखरीमा सामान्य रातो र सेतो माछा आफै उत्पन्न भएका छन् । वरिपरि चराहरु पनि रहेका छन्, तर पहिले जस्तो पात टिप्ने भने गर्दैनन् ।

पञ्चकन्या पोखरीको रोचक किम्बदन्ती

जे माग्यो त्यही दिने पञ्चकन्या पोखरीको किम्बदन्ती झनै रोचक छ । बालसाहित्यकार रामविक्रम थापाको रोचक लोककथा पुस्तकमा समेत यस पोखरीको किम्बदन्ती पढ्न सकिन्छ ।

बाहुन दम्पतीका पाँच छोरी कोसीमा हाम फालेर क्रमशः मरेपछि यो पोखरीको उत्पत्ति भएको बताइन्छ । यो पोखरीले जे खाना माग्यो त्यही दिन्थ्योरे, जे हेर्न माग्यो त्यही फुत्त बाहिर निस्कन्थ्योरे ।

तमसुक लेखेर सहीछाप गरी पोखरीमा डुबाएपछि ऋण स्वरूप पैसा पनि पाइन्थ्यो । तर बोलेको भाकामा खुरुक्क तिर्नुपथ्र्यो । इच्छा लागेको खानेकुरा मागेर त्यहीँ खान पाइन्थ्यो तर घर लान पाइँदैनथ्यो । कसैका वस्तुभाउ हराएमा पुकारा गर्दै भाकल गरेपछि भेटिन्थ्यो । मान्छे धेरै लोभी भएर खानेकुरा मागेर घर लाने र लिएको ऋण पनि तिर्न छाडेपछि पोखरीबाट पाउँदै आएको सबै सुविधा बन्द भएको पञ्चकन्या पोखरीको किम्बदन्ती छ ।

पोखरीका पातलाई दुईटा चराले टिपेर बाहिर फाल्दै सफा गर्थे । यो कुरा पनि किम्बदन्तीमा उल्लखे गरेको पाइन्छन । तर यो काम चराहरुले पोखरीमा खोलाको बाढी नपसुन्जेलसम्म गरिरहेका थिए । जसको प्रत्यक्षदर्शी त्यहाँका स्थानीय छन् ।

पञ्चकन्या पोखरी नजिकै रहेको मैनटार गाउँ

सुन्दर मैनटार गाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *