Saturday, July 27News That Matters

बाँसका सामाग्री सिक्दै, बुन्दै खोटाङका महिलाहरु


खोटाङ, भदौ २६ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका महिलाहरु यतिबेला बाँसका सामाग्री निमार्ण गर्न ब्यस्त छन् । बाम्राङको वडा कार्यालयमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाहरु बाँसका सामाग्री निर्माण गर्न ब्यस्त भएका हुन् ।

अन्तराष्ट्रिय श्रम संगठनको समन्वयमा महिला उद्यमी महासंघले एक महिने बाँसका सामाग्री निर्माण गर्ने तालिम आयोजना गरेको हो । भदौ १० गतेबाट सुरु भएको तालिममा ३० जना महिलाहरु सहभागी छन् । सुरु दिनदेखि नै तालिममा सहगाभी सबै महिलाहरु अहिले धमाधम बाँसका सामाग्री निर्माण गरिरहेका छन् । उनिहरु आफैले बाँसका चोया काडेर पेनकेस, र्‍याक, फुलदानी, डुङ्गाबास्केट र डस्बिन बुनिरहेका छन् ।

गाउँ घरमा प्राय पुरुषहरुले गरिरहेको यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने उनिहरुलाई लाग्दैन थियो । तर, अहिले सिक्दै जादा सम्भव रहेछ भन्ने लागेको बाम्राङकी रोजिना रिजाल बताउनु हुन्छ । ‘पहिले यो छोरा मान्छेले गर्ने काम भनेर खासै गरिएको थिएन, तर छोरी मान्छेले नगरेर रहेछ, गर्यो भने सकिने रहेछ ।’ रिजालले भन्नुभयो, ‘गाउँमा बाँस टन्न पाइन्छ, अब तालिम पश्चात यहि व्यवसाय गर्ने सोँचमा छु ।’

बाँसका सामाग्री निर्माण गर्न १५ दिन सिकेकी प्रेलिना राई अहिले आफै सह–प्रशिक्षक बन्नुभएको छ । १५ दिनसम्म सर्मिला लामाले प्रशिक्षण दिएर गएपछि अहिले राईले सिकाउने काम गरिरहनु भएको छ । तालिममा सहभागी मध्ये उत्कृष्ट बनेर सामाग्री बुन्दै सिकाउदै गरिरहनु भएकी प्रेलिना राई यहि पेसाबाट जीविको पार्जन गर्न सकने बताउनुहुन्छ । महिलाले केही गर्न सक्दैन भन्ने समाजको अगाडी पुरुषहरुले गरिरहेको बाँसका सामाग्री निर्माण गर्ने काम गरेर व्यावसायीक बन्ने योजना रहेको उहाँको भनाइ छ ।

तालिममा सहभागी ३० जना महिला मध्ये २५ जना बाम्राङका छन् । बाकी ४ जना वडा नम्बर १ दिक्तेल र १ जना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिला सहभागी रहेको महिला उद्यमी संघ खोटाङकी कोषाध्यक्ष सन्जु खत्री बस्नेतले बताउनुभयो । आगामी दिनमा यहि पेसाबाट महिलाहरुले आम्दानी गर्न सकुन् भनेर तालिमको आयोजना गरिएको उहाँको भनाइ छ ।

तालिम पश्चात महिलाहरुले बुनेको सामाग्रीको बजारिकरणसमेतर संघले गरिदिने छ । जसको लागि दिक्तेलमा कोसेली घर स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । अहिले तालिममा सहभागी महिलाहरु मध्ये उत्कृष्ट छानेर माथिल्लो स्तरको जस्तै माद्रो, नांलो, डालो लगायतका सामाग्री बुन्ने तालिम दिइने कोषध्यक्ष सन्जुको भनाइ छ ।

अहिले सञ्चालन भइरहेको तालिममा सभागी ३० जनालाईनै एक महिना भरीको रु १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *