Saturday, July 27News That Matters

लालुपाते सहकारी : एक जनाकै नाममा ९९ लाखसम्म ऋण, पक्राउ परेकाहरुको अनुसन्धान अन्तिम चरणमा


खोटाङ, मङ्सिर ८ । खोटाङको दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक जनाकै नाममा रु ९९ लाखसम्म ऋण रहेको पाइएको छ । सहकारीले बचतकर्ताको बचत हिनामिना गरेको जाहेरी परेपछि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले नियम बिपरित एक जनाकै नाममा रु ९९ लाखसम्म सहकारीले ऋण दिइएको पाइएको जनाएको छ ।

सहकारीको जम्मा सेयर पुँजी रु ५१ लाख १४ हजार ७८१ रहेको छ । सहकारीले आफ्नो सेयर पुँजीको १० प्रतिशतसम्म ऋण दिन पाउने नियम भएपनि मनोमानी ऋण देखिएको हो । यसरी नियम बिपरित ऋण लाने २४ जना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । एक जनाकै नाममा ९९ लाखसम्म ऋण रहेको उहाँको भनाइ छ । हाल अनुसन्धान भइरहेकाले उनिहरुको नाम खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक कार्कीको अनुसार ‘सहकारीबाट जम्मा ५९ वटा खातामा ऋण गएको देखिन्छ । एउटै ब्यक्तिको नाममा ४ वटासम्म ऋण खाता छन् । जसमा एक जनाकै नाममा ९९ लाखसम्म ऋण गएको छ । यो सहकारीको पुँजी अनुसार रु ५ लाख ६५ हजारसम्म एक जनालाई ऋण दिन मिल्छ । तर नियम बिपरित ऋण दिदा सहकारी डुबेको देखिन्छ ।’

वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालीन अध्यक्ष जोशीको निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ ।

सहकारी ठप्प भएपछि बचतकर्ताले २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीको परिवारका पाँचजना सदस्यसहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले सहकारी सञ्चालक समितिका उपाध्यक्ष अजुर्न चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई, अध्यक्ष जोशीका भाइ सुनिल जोशी, उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी), सहकारीका प्रबन्धक रुकु जोशीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस्तै, बचत अपचलन गरेको जाहेरीमा जसुदा पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत खोटाङबाट म्याद थप गरी भइरहेको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको जनाएको छ । केही दिन भित्र माग दाबीका लागि सरकारी वकिल कार्यालयमा जाने प्रहरीको योजना छ । त्यसपश्चात सरकारी वकिलले अदालतमा उनिहरु विरुद्ध अभियोग पत्र दर्ता गर्नेछन् । त्यसपछि यस विषयमा बहस सुरु हुनेछ ।

सहकारीबाट बचत रकम माग दाबीसहित हालसम्म २ सय ६५ वटा जाहेरी जिल्ला प्रहरी कार्यालयमा आएको छ । रु ८ सय देखि ५५ लाखसम्म बचत गर्नेहरुको जाहेरी आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । जम्मा ४ करोड ४१ लाख २ हजार ७७० रकम दाबी माग रहेको उहाँको भनाइ छ । जाहेरी दिन छुटेका अन्य बचतकर्ता पनि हुन सक्ने प्रहरीको अनुमान छ ।

सहकारीको ऋण लानेहरुले फिर्ता गर्न प्रहरीको अनुरोध पश्चात केही ब्यक्तिहरुले फिर्तासमेत गरेका छन् । हालसम्म ६ जनाले रु १५ लाख १६ हजार खातामा जम्मा गरेको प्रहरीले जनाएको छ ।

रु ५१ लख १४ हजार ७८१ सेयर पुँजी रहेको सहकारीको रु ४ करोड ४७ लाख ५७ हजार ३२१ बचत रहेको देखिएको प्रहरीको भनाइ छ । सहकारीले रु ४ करोड ४७ लाख ६ हजार ९६७ ऋण लगाएको छ भने उसको जगेडा कोषमा १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार ५६४ रहेको छ । सहकारीले रु ४ करोड ९० लाख ९७ हजार ३९३ भुत्तानी दिनु पर्ने देखिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

सहकारीको नाममा कारागार नजिक करीब १६ रोपनी जग्गासमेत छ । अर्कैको नाममा रहेको जग्गा प्रहरीले अनुसनधान सुरु गरेपछि हाल सहकारीको नाममा सरिएको उहाँको भनाइ छ । यस्तै सहकारीले हलेसीमा पनि जग्गा खरिद गर्ने भनेर ५० लाख छुट्याएको देखिन्छ । तर उक्त जग्गा अध्यक्ष जोशीका भाई सुनिल जोशीको नाममा रहेको प्रहरीको भनाइ छ ।