Saturday, July 27News That Matters

खोटाङको एक विद्यालयको २ वटा कक्षामा एक जना मात्रै विद्यार्थी, प्राय कक्षाकोठा खाली

विद्यार्थी संख्या न्यून रहेको पञ्चकन्या आधारभूत विद्यालय ।

राजकुमार भट्टराई (सरगम)
खोटाङ, मङ्सिर १२ । खोटाङको एक सामुदायिक विद्यालयका २ वटा कक्षामा १/१ जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा २ र ४ मा १/१ जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् ।

कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा जम्मा १५ जना विद्यार्थीको भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक पुस्प राईले बताउनुभयो । उहाँका अनुसार कक्षा १ मा ६ जना, कक्षा २ मा १ जना, कक्षा ३ मा ४ जना, कक्षा ४ मा १ जना र कक्षा ५ मा ३ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा २ र कक्षा ४ मा १/१ जना मात्र छन् । उक्त १ जना विद्यार्थी विद्यालय नआउदा कक्षा खाली हुने गरेको छ । अघिल्लो वर्ष कक्षा ३ मा एक जना पनि विद्यार्थी थिएनन् । जसअनुसार कक्षा ४ मा यो वर्ष खाली हुने थियो । तर एक जना विद्यार्थी बाहिरबाट आएकाले अहिले ४ कक्षामा १ जना विद्यार्थी छन् । उनि नियमित विद्यालय भने आउदैनन् ।

वि.स. २०३१ सालमा स्थापना भएको पञ्चकन्या आविमा अहिले २ जना स्थायी दरवन्दी छ । दरवन्दी अनुसार प्रधानाध्यापक राईसँगै अर्का एक जना स्थायी शिक्षक विद्यालयमा छन् । पालिकाको अनुदान कोटाबाट १ जना शिक्षक र एक जना कार्यालय सहयोगि गरी विद्यालयमा जम्मा ४ जना कार्यरत छन् । ५ कक्षासम्म सञ्चालन हुने उक्त विद्यालयमा हाल १५ जना विद्यार्थी भर्ना भएपनि सबै विद्यार्थी नियमित विद्यालय आउदैनन् । विद्यालयको भौतिक संरचना, शौचालय गुणस्तरीय छ । तर विद्यार्थीको संख्या भने अत्यान्तै न्यून छ ।

खार्पास्थित रुभुङ गाउँमा राई, विश्वकर्मा र नेपाली गरी करीब ६५ घरधुरी छन् । तर प्राय घरका बालिबालिका अन्यन्त्र निजी विद्यालयमा अध्ययन गर्छन् । विद्यालयमा शैक्षिक गुणस्तर नहुँदा विद्यार्थी न्यून भएको नाम नबताउने सर्तमा एक अभिभावक बताउनुहुन्छ । ‘विद्यालयमा प्राय गाउँकै शिक्षकहरु हुनुहुन्छ, गाउँमा बिबाह वा कुनै कार्जेहुँदा पनि विद्यालय बिदा हुन्छ । गाउँकै शिक्षक भएकाले अभिभावक कसैले कुरा उठाउदैनन् ।’ उहाँले भन्नुभयो, ‘विद्यालयमा खासै राम्रो पढाइ हुँदैन्, त्यसैले प्राय गाउँका बालबालिकालाई अन्तै निजी विद्यालयमा लगिएको छ ।’
रोजगारीकोलागि गाउँका प्राय युवाहरु विदेश गएका छन् । आफुले पढ्न नसकेपनि छोराछोरीलाई राम्रो शिक्षा दिने भन्दै उनिहरुले शहर बजारका निजी विद्यालयहरुमा लाने गरेको अभिभावकहरु बताउछन् । गाउँका धेरै जसो बालबालिका जिल्ला सदरमुकाम दिक्तेल, धरान, काठमाडौं लगायतका शहर बजारमा अध्ययनरत रहेको उहाँको भनाइ छ ।

यता विद्यालयका प्रधानाध्यापक राई भने शैक्षिक गुणस्तर नभएका कारण विद्यार्थीको संख्या न्यून भएको कुरालाई अस्वीकार गर्नुहुन्छ । केही बालबालिका मात्र अध्ययन गराउन बाहिर लगिएको उहाँको भनाइ छ । गाउँमा बालबालिकानै नभएको कारण विद्यालयमा विद्यार्थी नभएको उहाँ बताउनुहुन्छ । ‘आजभोली गाउँघरमा बालबालिका नै छैनन्, पछिल्लो समयका युवाहरुले ढिलो बिबाह गर्छन् । छोराछोरी धेरै जन्माउदैनन् । त्यसैले विद्यालयमा विद्यार्थी पाउन मुस्किल छ ।’ उहाँले भन्नुभयो, ‘रुभुङमा बालबालिका कम छन्, भूगोलका कारण अन्य गाउँबाट यस विद्यालय आउन कठिन छ । त्यसैले हाम्रो विद्यालयमा विद्यार्थी संख्या कम भएको हो ।’

भौतिक संरचना राम्रो भएको उक्त विद्यालयका ३ वटा भवन छन् । एउटा भवनको एक कोठामा विद्यालयको प्रशासनीक कार्यालय सञ्चालन गरिएको छ । उक्त भवनको एक कोठा र अर्को भवनमा पठनपाठन गराइएको छ । विद्यायको सिंगो एउटा भवन खाली छ । उक्त खाली भवनमा कम्प्युटर कक्षा सञ्चालन गर्ने सोच गरिएको प्रधानाध्यापक राई बताउनुहुन्छ । जसकालागि गाउँपालिकासँग माग राखिएको उहाँको भनाइ छ । विद्यालयमा खानेपानी र शौचालयको सुविधा पनि अत्यन्तै राम्रो छ । तर अभिभावक र विद्यार्थीको रोजाइमा भने विद्यालय परेको छैन् ।