Saturday, July 27News That Matters

धामीझाँक्रीको मात्र भर पर्दा खोटाङमा २४ दिनको बच्चाको ज्यान गयो

फाइल तस्विर

खोटाङ, मङ्सिर १४ । खोटाङमा अन्ध विश्वासको कारण २४ दिनको बच्चाको ज्यान गएको छ । धामीझाँक्रीको मात्र भर पर्दा जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पामा २४ दिनको बच्चाको ज्यान गएको हो ।

बिरामी बच्चालाई निरन्तर ६/७ दिनसम्म परिवारले धामीसँग झारफुक गर्न लगेका थिए । धामीको झारफुकले निको नभएपछि अन्तिम अवस्थामा बच्चालाई हरमटार अस्पताल पु¥याइएको थियो । अस्पताल आइपुग्दा बच्चाको धड्कन बन्द भइसकेको डाक्टर संगम न्यौपानेले बताउनुभयो ।

अन्ध विश्वासका कारण खार्पा कोइरालेका तेज बहादुर राई र देबिना राईले आफ्नो बच्चालाई गुमाएका हुन् । राई जोडिले कम उमेरमै बिबाह गरेका थिए । देबिनाको उमेर हाल १७ वर्ष मात्र रहेको छ । नियमित गर्भ चाँजसमेत नगराएका उनिहरुले प्रसूतिका लागि पनि वर्थीङ सेन्टरसम्म गएका थिएनन् । घरमै बच्चा जन्माएका उनिहरुले बच्चा बिरामीहुँदा पनि स्वास्थ्य संस्थामा लगेनन् । बच्चा नबाच्ने अवस्थामा पुगेपछि बल्ल उनिहरुले अस्पताल लाने सुर कसेका थिए ।

रावा बेसी गाउँपालिकाको केन्द्रसमेत रहेको हरमटार अस्पतालमा दिउँसो करीब ३ बजे उनिहरुले बच्चालाई पु¥याएको डा. न्यौपानेले बताउनुभयो । तर अस्पताल पुग्दा बच्चाको धड्कन चल्न छाडिसकेको उहाँको भनाइ छ । ‘अस्पताल आइपुग्दा बच्चाको धड्कन रोक्किसकेको थियो । शरिरमा हल्ला तातो मात्र रहेको थियो, बाटैमा बच्चाको मृत्यु भइसकेको रहेछ ।’ उहाँले भन्नुभयो, ‘परिवारलाई बुझ्दा सुरुमा बच्चालाई खोकी लागेको रहेछ । उहाँहरुले धामीसँग झारफुक गर्न लग्नु भएछ । बच्चालाई निरन्तर ६/७ दिन खोकी लागिरहदा पनि झारफुककै विश्वासमा बसिरहनु भएछ । घर भन्दा केही माथी स्वास्थ्य चौकी छ, अझ उहाँहरुको छिमेकीनै स्वास्थ्यकर्मी हुनुहुन्छ, तर उहाँहरुले बच्चाको विषयमा केही कुरा गर्नुभएन् । धामीलेनै बच्चालाई ठिक बनाउने उहाँहरुमा विश्वास रहेछ ।’

लामो समय रुघाखोकीले सिकिस्त बच्चाको निमोनियाको कारण मृत्यु भएको हुन सक्ने डा. न्यौपानेले बताउनुभयो । सुरुवातमै बच्चालाई स्वास्थ्य संस्थामा लगेको भए केही नहुने उहाँको विश्वास छ । बच्चा अन्तिम अवस्थामा पुगेपछि पनि धामीले बच्चालाई अस्पताल लानु भनेपछि मात्र उनिहरु अस्पताल आएको बताइएको छ ।

खार्पा स्वास्थ्य चौकी राई परिवारको घरबाट धेरै टाढा छैन् । तर उनिहरुलाई अन्ध विश्वासले अस्पताल जान दिएन् । जसकारण पहिलो सन्तानलाई उनिहरुले गुमाएका छन् । नियमति गर्भ जाँचका लागि आउन आग्रह गरेपनि देबिनाले अस्वीकार गरेको खार्पा स्वास्थ्य चौकीका इन्चार्ज अहेव अमिर विश्वकर्माले बताउनुभयो । ‘उहाँ गर्भ जाँच गर्न पनि आउनु भएन, गाउँपालिकाले सञ्चालन गरेको ग्रामिण अल्टा साउण्ड कार्यक्रममार्फत गर्भवतीको निःशूल्क भिडियो एक्सरे पनि हुन्छ । त्यसमा पनि उहाँ आउनु भएको थिएन् । पछि डेलीभरी पनि घरमै भएछ ।’ उहाँले भन्नुभयो, ‘बच्चा जन्मिएको केही दिन पश्चात बिरामीहुँदा पनि उहाँहरुले अस्पताल जानु पर्छ भन्ने नसोच्दा यस्तो घटना हुन पुग्यो ।’

आमा र बच्चाको मृत्युदर शून्य बनाउन नेपाल सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गर्भवती महिलाको परिक्षण गर्दा स्वास्थ्य चौकी एवं जिल्ला अस्पतालमा पनि कुनै शूल्क लाग्दैन् । जिल्लामै प्रसूति एवं उपचार सम्भव नभए राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हलिकोप्टरमार्फत निःशूलक उद्धार गर्ने कार्यक्रम पनि नेपाल सरकारले सञ्चालन गरिरहेको छ । तर पनि कतीपय गाउँ घरमा अन्ध विश्वासका कारण आमा र बच्चाको ज्यान जाने गरेको छ ।

सुरक्षित प्रसूतिकालागि प्राय सबै स्वास्थ्य चौकीमै वर्थीङ सेन्टर पनि निर्माण गरिएको छ । नियमित गर्भ जाँच गराए बापत र वर्थीङ सेन्टरमा बच्चा जन्माए बापत आमा र बच्चाले कपडासँगै रकमसमेत पाउने छन् । झोला, न्यानो कपडासँगै रु २ हजार ८ सय रकम पाउने सरकारले व्यवस्था गरेको छ ।