Saturday, July 27News That Matters

कोरिया भ्रमणको पहिलो दिन


तीर्थराज भट्टराई
म गतवर्ष नगरपालिकाको प्रतिनिधित्व गर्दै खोटाङ मुढे निवासी निमा शेर्पाको पहलकदमी र NRNA तोचिगीका अध्यक्ष मन्दिप क्षेत्रीको निम्तोमा जापान गएको थिएं । १५ दिन जापान बस्दा SMS कम्पनीका सुरेन्द्र अधिकारी , महेश लुईंटेल , श्याम खड्का , पत्रकार संतोष घिमिरे , नेपाली मनका स्थानीय वासिन्दा यामागुची सान , प्रा. डा. आस्थाप्रभा तुलाघर , ज्योतिरत्न तुलाधरको सहयोगले सफल भएको थियो जापान भ्रमण । त्यहाँ बस्दा निमा शेर्पाको परिवार पेमाल्यामु , दावा, आंछिरिंग, मिंगमा लगायत सबै परिवारको ठूलो योगदान र भूमिका रह्यो ।

त्यही भ्रमणको जगमा २०८० असोज १७– २१ गते दिक्तेलमा ५ दिने मुन्दुम अन्तराष्ट्रिय प्लेन एयर चित्रकला तथा कला प्रदर्शनी २०८० भव्यता पूर्बक सम्पन्न गरिसकेका छौं हामीले । त्यही जगलाई टेकेर नगरपालिकाका उपप्रमुख विसन राई र म दक्षिण कोरिया भ्रमणको पहिलो दिनको यात्रा तय गर्नुछ आज । दिक्तेलमा भएको मुन्दुम चित्रकलाले देश विदेशमा हामीलाई चिनाएको छ भने नगरको अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा पनि कोशेढुंगा सावित हुनेमा छौं हामी आशावादी । विगतमा नगरको तर्फबाट वैदेशिक भ्रमणमा गएको संस्थागत लिखत छैन तर हाम्रो गत वर्षबाट नै निरन्तरको प्रयत्न चलिरहेकोछ अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि ।

कसैकसैलाई यस्ता कार्यक्रम र भ्रमण फजुल लाग्न सक्छ तर यसको दूरगामी असर र महत्वको बारेमा गर्न सक्नुपर्छ आकलन र लेखाजोखा पनि । फेरी अर्कोतर्फ वैदेशिक भ्रमणमा गएपछि ढाकरभरी बोकेर ल्यायो भने मात्रै यात्रा उपलब्धि मूलक र सफल भयो भन्ने पनि लागेको हुनसक्छ विलकुल हुनुहुँदैन त्यस्तो पनि ।

हाम्रा पुर्खा बाउबाजेले मितेरी सम्बन्ध किन गास्नुहुन्थ्यो भने दुःख र अप्ठ्यारो परेको समयमा काम लाग्छ भनेर । सम्बन्ध ठूलो कुरा हो सम्पति मात्रै केही होइन । यसो भन्दै गर्दा विदेशको यात्रा रमाइलो गर्दै मुख फेर्नलाई मात्रै हो त ? त्यो पनि होइन । त्यसैले सम्बन्ध विस्तार र सहयोगको वातावरण निर्माणका लागि दिईएको हो यो महत्त्वपूर्ण समय र यात्रा । संझौता गर्दा, सहयोग आदानप्रदान गर्दा जोसँग जेछ त्यहि दिने र लिने हो । आवश्यकता भन्दा बढी लिन र दिन खोज्यो भने एक काधे हुन्छ र तुहिन्छ हाम्रो कार्ययोजना र उद्देश्य पनि । सहयोगको नाममा आफ्नो देश र नगरको शिर झुकाएर लम्पसार परेर लिइन्न सहयोग । हामी प्राकृतिक सम्पदा , पर्यावरण , स्वच्छ सफा– हावा पानी र मनोरम दृष्यावलोकन गर्ने अवसर दिएर हामी लिन्छौ प्रविधिको ज्ञान र स्वतः स्फुर्त रूपमा हुने सहयोग । धनुश्टंकार गरेर होइन ठाडो शिर गरेर लिने हो सहयोग । यही नगरको धारणा लिएर जादैछौं कोरिया ।

चाइन एयरबाट हाम्रो यात्रा दक्षिण कोरिया स्थित Nanghyup University / Former Mayor association of gyunggi Province कोरियाको निम्तोमा जाने दिन हो आज । विहानैभरी शुभेच्छुक -शुभ चिन्तकसंगको भेटघाट र बित्यो फोन सम्पर्कमा । हुनत राजनीतिकर्मी र अहिले खोटाङ सदरमुकामको मेयर भएको नाताले धेरै समस्या छ समय व्यवस्थापनका लागि । त्यसैले पनि व्यस्त रहनु पर्ने बाध्यता रहन्छ नै । म जुन ठाउँमा छु आज त्यहाँसम्म ल्याउन खोटाङको माटोमा रगत र पसिना बगाउनु हुने मेरा अनन्य मित्रहरूलाई मैले बिर्सिए जस्तो भएको छ, तर त्यो विलकुलै होइन । मेरो मनमस्तिष्कमा सधैं घर बनाउनु भएको छ । यो भूमिका नै यस्तै रहेछ नसकिने व्यवस्थित हुन । अहिले मैले नजानेको र नसकेको हो समय व्यवस्थापन गर्न । तर छिट्टै नै यो तारतम्य मिलाउने प्रयास गर्छु व्यवस्थित ढंगले ।

महत्वपूर्ण भूमिका निर्वाह गर्दै मलाई माया गर्नुहुने सबै सबै प्रति गर्दछु हार्दिक सम्मान ।‘र दुः ख – सुखको साथी हुनेछु म हर क्षणमा । १० कक्षाको विद्यार्थी भएको नाताले जेठो छोरा अध्ययन विहानै ट्युसन पढ्न शिवपुरी गएको हुनाले हुन सकेन भेट । त्यसैले सामान्य खानाखाएर हामी ३ जना जीवन संगिनी कुमारीजी र सानो छोरा अनुसन्धान सहित हिड्यौं वासस्थान महाराजगंजबाट विमानस्थल । हामीलाई लिन आउने चालक मनोज खत्रीलाई मैले सिधा, इमान्दार र अनुभवी चालकको रूपमा लिनेगरेको छु भने चालक संजिव गुरूंङसँग मेरो छैन उठबस । तर अहिलेसम्मको व्यबहार हेर्दा सकिन्न इमान्दारितामा प्रश्न उठाउन ।

उहाँहरू सहित हामी विसनजीको निवास कपन हुँदै ९ः२५ मा पुग्यौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । गौशालामा चालक संतोष भुजेलसँग भेट भएकोले उहाँ पनि जानुभयो हामीलाई विदा गर्न । मित्रहरू प्राज्ञ धनबहादुर याक्खा , शिक्षा क्षेत्रका मसिहा राजकुमार आचार्य , नरेन्द्र अधिकारी , युवा नेता द्वय राजन भट्टराई एवम् केमल राई , अधिकृत नारायण खवास , सचिवालयका चिरन्जिवी खतिवडा लगायत साथीहरू आउनु भएको थियो विमानस्थलमा । अरू साथीहरूलाई आउनबाट रोक्यौ हामीले । रोक्दा रोक्दै उहाँहरू भने आउनु भएकोमा हार्दिक धन्यवाद दियौं हामीले । यो विदाई र स्वागतको संस्कृतिले पैसा त खर्च हुन्छ नै सँगसँगै समयको अनावश्यक बर्बादी पनि । तथापि आउनु भएका साथीहरूलाई बिदा गर्दै हामी १२. १० बजे हवाइजहाजमा चढ्यौं उपप्रमुख विसन राई र मित्र नवराज काफ्ले । १३२ सिटे एयर बसको उडानबाट ठीक १२.३६ मा जमिन छोड्यो चाइना एयरले ।

करिव तीन घण्टाको समय आकाशमा उडेर हामी पुग्यौं चाइनाको च्छेंदु तेनफु अन्तराष्ट्रिय विमानस्थल । नेपाली आकाशको दुबै तर्फ हेर्दा देखिन्थ्यो मनमोहक रमणीय हिमश्रृंखलाका गगनचुम्बी पहाड । जहाजका विदेशी यात्रीहरू तछाड–मछाड गर्दै सेताम्ये हिमालका छटाहरु देखेर लोभिंदै कैद गरिरहेका थिए महंगा– महंगा मोवाइल र अत्याधुनिक क्यामेरामा । मेरो पनि पहिलो यात्रा थियो चीनको भूगोल हुँदै विदेश जाने । आहा !! स्वर्ग भन्दा कति सुन्दर छ मेरो देशको कदमकदमको माटो । तर सकेनौं हामीले यसको सहि उपयोग गर्न र महत्वलाई बुझ्न तथा विदेशीलाई प्राकृतिक सौन्दर्यता र पर्यावरणलाई सहि सलामत ढंगले बेच्न ।

नेपालको भूगोल पार गर्दा नगर्दै चीनको भूगोलमा सामान्य देखिन्थ्यो हिमश्रृंखलाका पहाडहरू । उजाड लाग्दो पहाड र मानव बस्ति विहिन मरूभूमि । च्छेन्दु विमानस्थल हेर्दा पातलो गाउँ वस्तिको एकान्त ठाउँमा बनेको हो कि भन्दै अट्कल्न सकिन्थ्यो । अत्याधुनिक ढंगले बनेको विमनस्थलमा सुरक्षा निकायबाट निकै कडाई देखियो जकड्तालको शिलशिला । चार ठाउँको मिहिन चेकजाच पछि हामिलाई लगियो प्रतिक्षालयमा । नेपालको विमानस्थलको तुलनामा सुनसान रहेछ यो विमावस्थल तर अत्याधुनिक विकास र व्यवस्थापनको विल्कुलै गर्न सकिन्न तुलना ।

भेडा–भेडा तिर , बाख्रा– बाख्रा तिरै भन्ने कथन झैं हामी नेपालीहरू प्रायः एकिकृत भयौं सबै एउटै प्रतिक्षालयमा । निकै लामो १५ घण्टाको थियो ट्रान्जिट । वैंशाली ट्राभल्सका टिकट काट्ने भाइ अर्जुनले मसंग पहिला गरेका थिए होटल बुक गरेको कुरा तर उड्ने दिन चाइनाएयरले टुंगो नगरेको बताए । त्यहि पनि मलाई आश्वासन दिन भने छोडेका थिएनन् म कम्पनीसंग कुरा गर्छु भनेर । अग्लो कद , गोरो वर्ण , लरक्क फक्रिएको मस्त जवान हेर्दै लोभलाग्दो हाम्रा सारथी हुनुहुन्थ्यो नवराज काफ्ले । जो हामीलाई निम्तो पठाउने नोनगेप कृषि विश्वविद्यालय कोरियाका प्रतिनिधि । जति सुन्दरता झल्किन्थ्यो उहाँको शारीरिक बनावटमा त्यो भन्दा अझै बढि हाउभाउ र कोरियन– अंग्रेजी भषामा दक्षता पनि । कुटनीतिक क्षेत्रमा धनुष्टंकार गरिरहनु ठिक हुँदैन हामी नेपालीले भनेर गन्थनमन्थ गरिरहनुहुन्थ्यो उपप्रमुख विसन राईसँग ।

मेयरसाब र तपाईले स्पष्ट कुरा गरेर कुटनीतिक मर्यादा जोगाउनु पर्छ नेपाल र नेपालीको भनि सुझाउनु भयो हामी दुबैलाई । पुरानो चिनजानमा नै म ढुक्क थिएं उहाँको निष्ठा प्रति तर थप प्रभावित बनायो आजको प्रश्तुतिले । बाहिर निक्लनै नदिने सुरक्षा अधिकारीको कुरा सुनेर विसनजी स्मरण गराउदै हुनुहुन्थ्यो कम्युनिष्ट व्यवस्था आए रून पनि पाइन्न भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाले विगतमा गरेको भषणको प्रशंग । र हामीलाई पनि पुष्टि गरायो चीनको कम्युनिष्ट सरकारका प्रतिनिधि पात्र सुरक्षा निकायका प्रमुखको कथनीले । देशको नियम मान्नै पर्यो जुन सुकै व्यवस्थाको भए पनि । अब यहाँ कसरी कटाउने १५ घण्टा ! हामी नेपाली अवाक् भयौं सबै । कुनै बिकल्प नभएकोले आरामदायी बसाईको खोजिमा भौंतारिंदै घुम्यौं विमानस्थल भित्र तल र माथी । न अंग्रेजी भाषा बोल्छन् यहाँका मानिस  नगर्छन् छलफल र बहस नै । टुटेफुटेको अंग्रेजी भाषामा गराउछन् जानकारी र जान्छन् आफ्नो काममा । त्यहाँका प्रत्येक नागरिकले आफ्नो कर्तब्य र जिम्मेवारी पालना गरेर नै विकासले फड्को मार्यो र भयो समृद्ध राष्ट्र ।

हामी काठमाडौंबाट उडेको दिन ३ गते बेलुकीको ८ बजि सकेको थियो तर भेटिएन सहज ढंगले रात कटाउने आरामदायी ठाउँ । न यहाँ मेयर–उपमेयरको हिसाब किताब हुन्छ न मान सम्मान नै । केवल छ यहाँ कानून र हुन्छ मन्त्रीदेखि सिपाहीसम्म समान व्यवहार र जिम्मेवारी । यहाँ छैन घमण्ड ठूलो पद र शक्तिको , आआफ्नो जिम्मेवारी पुरा गर्ने हो सबैले । पदको होइन यहाँ हुन्छ श्रमकों सम्मान र पाइन्छ मान सम्मान । हाम्रोमा जस्तो चल्दैन भनसुन र गर्दैनन् राजनीतिक भागबण्डार खिचातानी । हो त्यसैले भएको छ विकास अनि समृद्ध देश र सुखी नागरिक । ठूलोठूलो सपना देखाउदै मिसन ८४ को गुड्डी हाक्ने नयाँ पसल खोल्ने रवि हुन् कि सुन्दर सपना देखाएर जनविद्रोहको बिगुल फुक्ने छविको गतिविधिले देखिन्छ नयाँ बोतलमा पुरानो रक्सीको प्रवन्ध । काग्रेस – एमालेको त विगत ३५ वर्षदेखि देखेकै छन् शासन सत्ता चलाउने तौर तरिका र ढर्रा । तर अव निराश होइन आशावादी बनेर सबै दल मिलेर गर्नु छ तरक्की र मार्नुछ विकासमा फड्को ।

एक घण्टाको चक्कर पछि पाइयो तुलनात्मक रूपले आरामदायी ठाउँ । हामी नेपालीहरू भयौं एकिकृत र हारालुछ गर्दै जोहो गर्यौ सुत्ने व्यवस्था । विसनजी र नवराजजी खानाको खोजीमा जानुभयो भने म सुतें गज्जबले । मस्त सपनादेखें सुन्दर हराभरा नगरपालिका र समृद्ध नागरिकको उक्सिएको जीवन स्तर । हाम्रोमा जस्तो मैले पाइन कसैले कसैको गरेको चियो चर्चो र भद्दा आलोचना । छ कामको पुरापुर चिन्ता र सबैले सबैको राखेका छन्  पदीय मर्यादा । हामी नेपालीले सिक्नै पर्ने पाठ भनेकै आफ्नो खाने र आफ्नो कर्तब्य पुरा गर्ने संस्कृति । तहगत हिसाबले पुरा गर्नु छैन आफ्नो कर्तब्य अनि सामल खाजा बोकेर कुराकाट्दै गर्नुछ सत्तोसराप, अनि हुन्छ होला त हाम्रो प्रगति ? त्यसैले आफु पनि सिकौं र अरूलाई पनि सिकाउँ सकारात्मक सोच र असल संस्कृतिको अभ्यास ।

फेरी अर्को २०–४० वर्ष उमेर समुहका मात्रै देखिए सुरक्षाकर्मी र सेक्युरिटी गार्ड तथा सरसफाई गर्ने कर्मचारी । हाम्रोमा जस्तो आर्यघाट नपुगुन्जेल पद नछोड्ने देखिएन संस्कृति पनि । वर्षौंदेखि राजनैतिक र निजामतिको सत्तामा बसिरहनेले कोचिंङ लिन जाने होकि अव ? नयाँ प्रविधी र सोचका युवालाई जिम्मेवारी हस्तान्तरणको पहलकदमी गरेर इतिहास रच्ने कि अब नेतृत्वले !!

११ बजे राति हाराहारी हुँदोहो म मस्त निन्द्रामा थिएं । उठाउनुभयो र दिनुभयो शाकाहारी खानेकुरा । १५ दिन सम्म पुरापुर शाकाहारी भएको घोषणा गरेकोले साथीहरूबाट सोहि बमोजिमको भएको रहेछ प्रबन्ध । केक, विस्कुट , सुख्खा गेडागुडी र चाउचाउ खाएं निन्द्राको शुरमा र पुनः ढल्किएं । साथीहरूले पनि जोहो गरेको ओछ्यान तताउनुभयो । हवाइजहाजबाट आएका नेपाली युवायुवतिहरू कोहि मस्त निन्द्रामा थिए त कोही कस्सीरहेका थिए राजनीतिक बहसमा । ठाउ न ठहर बुढिको रहर भनेझैं जादैछौं श्रम गर्न र पढ्न कोरिया– जापान अनि गुड्डी हाकी रहन्छौ शेरबहादुर, ओली र प्रचण्डको । नेतालाई मात्र दोषारोपण नगरौं , आफु सुध्रियौँ पहिला अनि सुधारौं नेता र तब बन्छ देश ।

हिडेको दोस्रो दिन मंसिर १८गते विहान ४ बजे उठेर काठमाडौंबाट हवाई उडानमा लेखेको कान्छीलाई अंगालोमा बाधेको दिन आलेख पुरा गरेर पत्रकार महासंघका अध्यक्ष दिलिप खत्रीलाई पठाई दिएं भने कोरिया भ्रमणको पहिलो दिन शुरू गरें लेख्न । नित्यकर्म सकेर एकान्तमा बसेर लेखिरहेको थिएं आलेख भनौं या दैनिकी । नवराजजीले ८.३० बजेको समयको उडानमा हिड्न आग्रह गर्नुभयो । झोलातुम्बी बोकेर १५ घण्टे चीनिया भूमि च्छेन्दु विमानस्थलको बसाईलाई प्रेरणादायी मान्दै नेपाली समय अनुसार विहानको ९.११ बजे उड्यौं कोरियातर्फ ।

चाइनाएयर लाइन्सको १३२ सिटेमा आएका थियौं । सोहि कम्पनिको थियो कोरिया जाने हवाइजहाज पनि तर निकै ठूलो यो । १ लाख ६७ हजार लिएपछि बस्ने खाने व्यवस्था गर्नुपर्ने हो नि । तर कम्पनीले गर्यो पुरै लापर्वाही र गैह्रजिम्मेवारी पूर्ण व्यवहार । चीनको कम्युनिष्ट शासन व्यवस्था न मज्जाले हाँस्न पाइने न रून भन्थे तर त्यहाँ थिएन त्यस्तो ।

नवराजजीको ठाउँमा आज मेरो विजनेश क्लासको बसाई थियो भने गज्जबको खानपान र व्यवहार पनि । मेरो ठाउँमा नवराजजी बसेर गराउनुभयो मलाई बिजनेश क्लासको अनुभूति । फराकिलो आरामदायी सीट र यात्रा अवधीभर तातोचिसो सहितको परिकार युक्त खानपान । यो कम्पनी प्रति मेरो अघिल्लो दिनको नकारात्मक सोचलाई पुरै परिवर्तन गराई दियो विजनेश पोलिसीले । दोस्रो आलेख अधुरो थियो त्यसैले मलाई त खुदो नै पल्टिए झैं भयो बसाईको सहजताले । ३ घण्टा सात मिनेटमा दक्षिण कोरियाको इन्छोन अन्तराष्ट्रिय विमानस्थल पुग्यौं हामी । जापानको भन्दा पनि इमिग्रेसन चुस्त दुरुस्त पाइयो कोरियामा । चीनमा डेढ घण्टा लागेको थियो जाचपड्ताल्को समय भने कोरियामा २५ मिनेटमा नै सकियो ।

दर्जनौं पटक कोरिया आउनु भएको नवराजजीको साथले हामीलाई केहि भएन असहज । लोकेशन फारम भर्नेदेखि निकासपछि गन्तब्य तर्फको दिशा छनोट गर्ने आदि काममा ।  विमानस्थल आहा ! क्या गज्जबको अनि विकास त्यस्तै । विमानस्थल भित्रको भित्तामा परिवर्तन भई रहने प्रविधि युक्त कला, संस्कृतिको लोभ लाग्दो प्रश्तुति अनि संगैमा छ व्यवस्थापन पनि । हामीसँग छ अथाह कला र संस्कृति तर सकेनौं व्यवस्थापन गर्न । कला र संस्कृति माथि पनि गर्यौ जवरजस्त राजनीतिक हस्तक्षेप र राख्यौं पुर्वाग्रह । अनि गरेनौं क्षमताको कदर र गर्न सकेनौं कलाकारलाई सम्मान ।

अन्त्यमा, काठमाडौंदेखि कोरियाको ७ घण्टे दूरीको यात्रा भएता पनि ट्रान्जिट सहित लगभग २५ घण्टाको पहिलो दिनको यात्रा विभिन्न अनुभव र अनुभूति सहित पुरा गर्यौ कोरिया पुगेर । लामो समयदेखि राष्ट्र सेवक कर्मचारीको रूपमा सेवा गरिरहनु भएको संघीय मामिला मन्त्रालयका उपसचिव महेन्द्र कुमार सापकोटा लगायत सहयोग गर्ने सबै पक्षलाई हार्दिक घन्यवाद दिंदै कोरियासम्म पुग्न हाम्रो नगर र विश्वविद्यालयसँग सेतुको काम गर्नुहुने नवराजजी सधैं– सधैं आभारी भइरहनु हुनेछ हामीबाट ।

(लेखक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगर प्रखुख हुनुहुन्छ)