Sunday, October 6News That Matters

खोटाङमा कोदो राम्रो उत्पादन हुन्छ, तर आम्दानी हुँदैन्

 

खोटाङको जन्तेढुंगा गाउँपालिकाका कृषकले लगाएको कोदो बाली ।

राजकुमार सरगम (भट्टराई)

खोटाङ, पुष १५ । रैथाने बाली कोदो खोटाङमा अझै पनि मनग्ये फल्ने गरेको छ । तर यसबाट उल्लेखीय आम्दानी हुन नसक्दा किसानहरु चिन्तित् छन् । उनिहरुले अन्य विकल्प नभएको कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउछन् ।

जिल्लाका प्राय सबै ठाउँमा कोदो फल्छ, कृषकले रोप्दै पनि आएका छन् । कृषक यस खेतीबाट सन्तुष्ट भने छैनन् । चालू आर्थिक वर्ष २०८०/८१ म मात्र खोटाङमा ३४ हजार १ सय ४६ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र खोटाङसँग छ । तर, कोदोलाई सहि सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् । अधिकांश कृषकको भनाइ अनुसार गाउँ घरमा आजभोली कोदोको प्रयोग जाँडरक्सीमा मात्र भइरहेको छ । तर त्यसबाट पनि उल्लेखीय आम्दानी छैन् । रोटी, ढिडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन विस्तारै हराउदै गएको छ ।

अहिले जिल्लामा घरेलु मदिरा उत्पादनको लागि मात्र कोदो रोपिने गरेको छ । कोदोबाट धेरै आम्दानी गरौँला भन्ने कोही कृषकलाई आश छैन् । जसकारण कृषकहरुले कोदोको विकल्प खोज्न थालेका छन् । जिल्लामा अहिले १९ हजार १ सय ८४ हेक्टर क्षेत्रफलमा कोदो बाली लगाउने गरिएको छ ।

रावा बेसी गाउँपालिका–३ लामिडाँडाका कृषक कुमार श्रेष्ठ भन्नुहुन्छ, ‘कोदो खादा के फाइदा हुन्छ भनेर अहिलेका युवालाई थाहा नै छैन् । कोदोले दिने बल चामलको भातले कहाँ दिन्छर ? कोदाको ढिँडो र तरकारी खाएर भेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो, दिनभरी काम गर्न सकिन्थ्यो । हामी सानोहुँदा घरमा चामलनै हुँदैन थियो, यहि कोदोको परिकार खाएर हुर्केका हामी, त्यसैले अझै काम गर्न सक्ने छौँ । अहिलेका युवाहरु त ढिँडो नखाएर पनि होला बल नभएको ।’

आयुर्वेद चिकित्सक उमेश मेहताको भनाइ अनुसार सुगरको बिरामीहरुको लागि सबै भन्दा फाइदा कोदोको परिकारले गर्छ । स्वास्थ्यको हिसाबले कोदोको परिकारले हरेक ब्यक्तिलाई राम्रो गर्ने उहाँको भनाइ छ । तथापी सुगरको बिरामीलाई कोदो ठुलो औषधि हो ।

किन घट्यो कोदोप्रति आकर्षण ?

अहिले प्राय युवा जनशक्ति बिदेशमा छन् । बिदेश नगएकाहरु पनि गाउँमा छैनन् । कोही पढाइ त कोही रोजगारीको शिलशिलामा शहर बजारमा छन् । घर गाउँमा काम गर्ने जनशक्ति छैन् । यसकारणले पनि जग्गा जमिन बाँझिदै गएको प्रष्ट छ । खेतीपाती हुँदै गरेका जग्गामा पनि आजभोली कोदो खेती कम देख्न थालिएको छ । थोरै जग्गामा बाली लगाएर धेरै आम्दानी गर्ने सोँच किसानमा देखिन्छ । तर कोदो खेतीबाट लगानी पनि उठ्न सकेको छैन् ।

जिल्लामा लाग्दै आएको साप्ताहिक हाटबजारमा पनि अझै फाट्टफुट्ट कोदो बिक्री गर्न ल्याएको देखिन्छ । बजारमा कोदो प्रति किलोग्राम ५० देखि ६० रुपैयाँमा अहिले किनबेच हुँदै आएको छ । अहिले कोदो उत्पादन तथा खरिद घरेलु मदिरा बनाउनको लागि मात्र हो भन्दा फरक नपर्ला । पिठोको परिकार बनाएर खानको लागि कोदो खरिद गर्ने त कमै प्रतिशत मात्र होला ।

यसरी कोदोलाई सहि सदुपयोग गर्न नसक्नु, घरेलु मदिराको पनि उचित मूल्य एवं व्यवस्थापन हुन नसक्नु नै कोदोबाट आम्दानी हुन नसक्नु हो । तसर्थ लगानी पनि नउठेपछि किसानहरु कोदो खेतीप्रति आकर्षित नहुनु स्वभाविक हो ।

जनजातिहरुको चाडपर्वमा, पितृ देउताहरुलाई कोदोको जाँड तथा रक्सी चडाउने चलन छ । अर्थात प्राय जनजातिहरुको पुजाआज वा कुनै कार्जेक्रममा कोदोको जाँडरक्सी आवश्यक पर्छ । यस बाहेक कोदोलाई अन्य कुनै कुरामा सदुपयोग गर्न सकिएको छैन् ।

यसो गरे कसो होला ?

सबै भन्दा पहिले त यसको महत्व सरकारले बुझ्न जरुरी छ । यदि सरकारले बुझेर कोदोको संरक्षण तथा प्रवद्र्धनमा लाग्ने हो भने कृषकको गोजी पनि भरिने अनि नेपालीहरु स्वस्थ पनि हुने । बाहिरबाट आउने पेयपदार्थलाई रोकेर रैथाने बाली कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्ड गर्ने हो भने पनि कृषक धनि हुने छन् । सरकारको पनि आयस्रोत बढ्नेछ ।

होटल तथा होमस्टेहरुमा कोदोको परिकार निर्माण गर्यो भने पनि एउटा आम्दानीको स्रोत बन्न सक्ला । कृषि ज्ञानकेन्द्र खोटाङका सूचना अधिकारी सन्जय कुमार पण्डितका अनुसार अहिले सामुदायिक विद्यालयमा प्रदान हुने दिवा खाजामा रैथाने बालीका प्रकारलाई अनिर्वाय गर्न सके राम्रो हुनेछ । रैथाने बाली कोदो लगायतका परिकार खाजामा अनिवार्य गरियो भने कोदोको खपतमा बृद्धिसँगै विद्यार्थी पनि स्वस्थ हुने थिए ।

कोदोको पिठोबाट चाउचाउ, मम, केक, लगायतका परिकार बनाउन सकिन्छ । कोदोको परिकारहरु बनाएर प्याकेजिङ गरी ब्रान्डिङ गर्न सके खोटाङका कृषकको दरिलो आम्दानीको स्रोत कोदो हुने सूचना अधिकारी पण्डित बताउनुहुन्छ ।

हालसम्म जिल्लाका कुनै स्थानीय सरकारले रैथाने बाली कोदोको प्रवद्र्धन हुने कार्यक्रम ल्याउन सकेका छैनन् ।