Saturday, July 27News That Matters

कार्य सम्पादनमा खोटाङ जिल्लामा हलेसी तुवाचुङ सबै भन्दा उत्कृष्ट

हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय

खोटाङ, माघ २९ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तह मध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट देखिएको छ । दश स्थानीय तह रहेको यस जिल्लामा सबै भन्दा धेरे अंक ल्याएर हलेसी तुवाचुङ प्रथम भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार हलेसी तुवाचुङले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनमा १०० पुर्णाङ्कमा ८६.७५ अंक पाएको हो ।

संघीय सरकारले आउँदो आर्थिक वर्षको बजेट निर्माणमा स्थानीय तहलाई विनियोजन गर्ने ससर्त र निसर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दै आएको छ । मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमुल्यांकन गराउँदै आएको हो ।

नगरपालिकामा सुशासन र पारदर्शितालाई ध्यानमा राखी हरेक काम कानून र नियम अनुसार सञ्चालन गरिरहेकाले हलेसी तुवाचुङको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा राम्रो आएको मेयर विमला राईले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार पनि हलेसी तुवाचुङ नगरपालिका जिल्लाका अन्य स्थानीय तह भन्दा अगाडी थियो ।

संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भने सबै भन्दा कमजोर देखिएको छ । दिक्तेलले १०० पुर्णाङ्कमा ६६.२५ अंक पाएको हो । यस्तै, जिल्लाका अन्य स्थानीय तहहरुमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ८३.७५ अंक, केपिलासगढी गाउँपालिकाले ८३.५ अंक, साकेला र जंन्तेढंगा गाउँपालिका समान ८० अंक, खोटेहाङ गाउँपालिकाले ७४.७५ अंक, ऐसेलुखर्क गाउँपालिकाले ७४ अंक, बाराहपोखरी गाउँपालिकाले ७१.२५ अंक र रावा बेसी गाउँपालिकाले ७०.२५ अंक प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्धमा, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा बिपद व्यवस्थापनन गरी १० शिर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।