Saturday, July 27News That Matters

गाडी हिँड्न रोक लगाउने की सडक स्तरोन्नती गर्ने ?


दमन राई
खोटाङ, फागुन १२ । । खोटाङको साकेला गाउँपालिकाको गत माघ २८ गतेको कार्यपालिका बैठकले १० चक्के मालवाहक ट्रकलाई गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गर्यो । उत्तिसका काठ बोक्न भित्र्याइएका हेभीवेट गाडीले कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले २० टन क्षमताको ट्रकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

सो सुचनाको बेवास्ता गर्दै साकेला गाउँपालिका–३ खिदिमाको पुङमा पुगेर काठ लोड गर्दै गरेको अवस्थामा गाउँपालिकाले फागुन ३ गते प्रदेश १–०२–००१ ख ९९७६ नम्बरको १० चक्के ट्रकलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर २० हजार जरिवाना गरेको थियो । ठूलो भार क्षमताको गाडीले सडकमा क्षती पुर्‍याएका कारण १० चक्के गाडी प्रवेशमा रोक लगाइएको साकेला गाउँपालिका उपाध्यक्ष बिर्सीका राई बताउँछिन् । “१० चक्के गाडीबाट बाटोमा एकदमै ठूलो क्षति भयो । त्यही भएर प्रवेशमा रोक लगाइएको हो,” उपाध्यक्ष राईले भनिन्, “बाटो पनि क्षती नहुने, व्यवसायी र किसानलाई पनि मार नपर्नेगरी ६ चक्के गाडीलाई हिँड्न दिइएको छ ।”

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि माघ २९ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सूचना जारी गर्दैै ८ वटाभन्दा बढि चक्का भएका माल वाहक सवारी साधनलाई आवत–जावतमा रोक लगाएको थियो । सडकको भौगोलिक अवस्था, संवेदनशिलता एबं सडक दुर्घटनालाई मध्यनजर गर्दै हेभीवेट सवारी साधनको आवत–जावतमा रोक लगाइएको गाउँपालिकाको सूचनामा उल्लेख छ । यद्यपी, गाउँपालिका आफैले गरिरहेका विकास निर्माणको प्रयोजनका लागि भने जुनसुकै क्षमताका सवारी साधन आवत–जावत गर्न दिइने भनिएको छ । ‘गाडी गुडाउन बनाइएको सडकमा गाडी नै हिँड्न रोक लगाइएको’ भन्दै आलोचना भएपछि काठ व्यवसायीको आग्रहमा पुःन गाउँपालिकाले काटिसकेको काठ हप्ता दिनभित्र सप्लाई गरिसक्न भन्दै फागुन ७ गते अर्को सूचना जारी गरेको छ ।
खोटाङका १० स्थानीय तहमध्ये खोटेहाङ गाउँपालिकाले पनि फागुन ९ गते सूचना जारी गर्दै २१ टनको १० चक्के माल वाहक ट्रक हिडाउन रोक लगाएको छ ।

काष्ठजन्यदेखि उपभोग्य सामग्री ढुवानीका क्रममा हिँडाइएको १० चक्के गाडीले मुख्य तथा भित्री सडकमा क्षति पुर्‍याएको, बिग्रेको सडकमा दुई पांग्रे र चार पांग्रे गाडी हिडाउँन कठिन भएको तथा क्षतिग्रस्त सडक मर्मतमा करोडौं खर्च हुने भन्दै गाउँपालिकाले फागुन १६ गतेदेखि १० चक्के माल वाहक ट्रकलाई पूर्ण रुपमा बन्द गरिएको सूचनामा उल्लेख छ । फागुन १६ गतेपछि १० चक्के गाडी गुडाइए २० हजार जरिवाना हुने गाउँपालिकाले जनाएको छ । खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले भने हाल गाउँपालिकाभित्रका प्रमुख सडकहरु स्तरोन्नतीका क्रममा कतिपय ठाउँमा ढलान तथा ग्राभेलिङका काम भइरहेका कारण १० चक्के गाडी हिँडाउन रोक लगाउने निर्णय गरिएको बताए । “अहिले गाउँपालिकामा ठेक्का लागेर सडक मर्मत भइरहेको छ । सडक मर्मतमा बाधा नहोस् भनेर समय दिएर १० चक्के गाडी हिँड्न नदिने भनिएको हो,” गाउँपालिका अध्यक्ष राईले भने, “बाटो गाडी हिँडाउनकै लागि हो । विशेष त काठ ढुवानी हुँदैछ । किसानको ठूलो आम्दानीको श्रोत भनेको त्यही लकडी हो । त्यसलाई रोक्ने नियत त होईन तर त्यसो नगर्दा पनि नहुने भो । सडक मर्मत त गर्नुपर्यो  ।”

हाल जिल्लाबाट ट्रकका ट्रक उत्तिस निर्यात भइरहेको छ । उत्तिस बिक्रीबाट स्थानीयले राम्रो आयआर्जन गरिरहेका छन् । काठ ढाल्ने, संकलन गर्नेक्रममा स्थानीयले रोजगार पाएका छन् । जिल्लाका उत्तिस सुनसरी, झापा, सिराहा लगायतका कच्चा पदार्थ प्रयोग गर्ने कम्पनीले लैजाने गरेका छन् । काठ निकासी गर्न प्रयोग भइरहेको १० चक्के ट्रक प्रवेशमा रोक लगाइएपछि काष्ठ व्यवसायी भने रुष्ट छन् । १० चक्के गाडी हिँड्न नदिन गाउँपालिकाबाट अपरिपक्व निर्णय भएको काष्ठ व्यवसायी संघ खोटाङका महासचिव सुवास राई बताउँछन् । “काठ, बाँस, खयर क्याँसमा परिणत भइरहेको छ । किसानको कच्चा पदार्थले बजार पाइरहेको छ । स्थानीयको रोजीरोटीको कुरा छ,” महासचिव राईले भने, “गाडी गुडाउनलाई बाटो खनिन्छ । अनि त्यो बाटोमा गाडी गुड्दा भत्क्यो भनेर प्रतिबन्ध लगाउन उचित हो र ? त्यसो भए बाख्रा गाई हिँडाउन बाटो खनिएको हो त ?”

डिभिजन वन कार्यालय खोटाङका छैठौं अधिकृत देबीप्रसाद ढुंगानाका अनुसार साकेला गाउँपालिकाबाट हालसम्म ६२ हजार १४१ क्यूफिट काठ निकासी भइसकेको छ । जसबाट मुल्याअभिबृद्धि कर १९ लाख १५ हजार ६७० र प्रदेश सेवा शुल्क १८ लाख ६४ हजार ४२५ रुपैयाँ संकलन भएको छ । यस्तै, दिप्रुङ चुईचुम्म गाउँपालिकाबाट हालसम्म २ लाख ९ हजार ५९० क्यूफिट काठ निकासी हुँदा मुल्या अभिबृद्धि कर ६२ लाख ४९ हजार ३४० र प्रदेश सेवा शुल्क ६ लाख २८ हजार ७७० रुपैयाँ संकलन भएको छ । उत्तिसका काठ निर्यात गर्ने व्यवसायीबाट गाउँपालिकाले पनि प्रतिट्रक चार हजार र प्रतिट्याक्टर एक हजार शुल्क उठाउने गरेका छन् ।