Saturday, July 27News That Matters

हलेसीमा तरकारीको मूल्य निर्धारण, खरिद विक्री र चिस्यान केन्द्र आइतबारबाट सञ्चालन हुने


खोटाङ, फागुन १८ । हलेसी तुवाचुङ नगरपालिकामा तरकारीको मुल्य निर्धारण गरिएको छ । जनप्रतिनिधि, कृषक र होटल व्यावसायीहरुको शुक्रबार बसेको छलफलले मूल्य निर्धारण गरेको हो ।

हाल निर्धारण गरिएको मूल्य अनुसार कृषकले उत्पादन गरेको तरकारी खरिद विक्री हुने छ । आवश्यकता र सयमको आधारमा मूल्य परिवर्तन पनि हुँदै जाने नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । मूल्य निर्धारणसँगै हलेसी तुवाचुङ नगरपालिकामा तरकारीमा एकरुपता आउने छ ।

मूल्य निर्धारणको छलफल

यस्तै, कृषकहरुले उत्पादन गरेको तरकारी र फलफुलको बजारीकरणको लागि नगरपालिकाले वडा नम्बर ७ महादेवस्थानस्थित ट्राफिक चोकमा खरिद विक्री केन्द्र (कृषि मार्ट) र चिस्यान केन्द्रसमेत स्थापना गरेको छ । उक्त दुवै संरचनाहरु पर्सी आइतबारदेखि सञ्चालनमा आउने छन् । सञ्चालनको लागि नगरपालिकाले कार्यविधि निर्माण गरेर सूचनामार्फत निजी क्षेत्रलाई जिम्मा दिएको प्रमुख राईले बताउनुभयो । जिम्मा पाएको उक्त संस्थाले नगरपालिकालाई कृषि मार्ट र चिस्यान केन्द्रको भाडा तिरेर तरकारी तथा फलफुल खरिद विक्री गर्ने छ ।

छलफलमार्फत निर्धारण भएको मुल्य अनुसार कृषकहरुको कृषि उपज खरिद हुने छ । त्यसको बजारीकरण जिम्मा लिएको उक्त संस्थाले गर्ने छ । नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषि उपज खरिद गर्नु पर्ने छ भने बढीमा २० प्रतिशतसम्म मात्र नाफा लिएर उसले विक्री गर्न पाउने गरी नीति बनाइएको नगर प्रमुख राईले बताउनुभयो ।

विगतमा कृषि उपजहरु विक्री नहुने, उचित मूल्य नपाउने, विक्री गर्न घरहरुमा बोकेर डुलाउदै जानु पर्ने कृषकहरुको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकहरुको उक्त समस्या समाधान हुने नगर प्रमुख राईले बताउनुभयो । ‘उत्पादित कृषि उपजहरु विक्री गर्न किसानहरुलाई धेरै समस्या छ, घर घर बोकेर डुलाउदै हिड्नु पर्ने, विक्री भएन भने कुहिएर जाने लगायतको समस्या अब समाधान हुन्छ ।’ प्रमुख राईले भन्नुभयो, ‘हामीले कृषि उपज संकलन गर्न र विक्री गर्न भवन निर्माण गरेका छौँ, चिस्यान केन्द्र स्थापना गरेका छौँ । यी दुवै संरचना आइतबारबाट सञ्चालनमा आउछ । त्यसपछि कृषकहरुलाई ढुक्क हुनेछ । उनिहरुले जती उत्पान गर्छन तोकिएको मूल्य अनुसार त्यहाँ ल्याएर विक्री गर्छन ।’

हरेक दिन सयौँको संख्यामा त्रि–धार्मिक स्थल हलेसीमा पर्यटकहरु आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटलहरु प्राय सधै चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज कुहिएर जाने र बाहिरबाट तरकारीहरु भित्रिने गरेको बताइन्छ । नगरपालिकाले संकलन केन्द्र सञ्चालनमा ल्याएसँगै कृषकहरुले उत्पादन गरेको सबै कृषि उपज विक्री हुने विश्वास लिइएको छ ।

नागरिकलाई कृषिबाटै आत्मानिर्भर बनाउन उत्पादनमा जोडसँगै बजारीकरणको सुनिश्चित गरिएको नगर प्रमुख राईले बताउनभयो । कृषि र पर्यटनलाई जोडेर समृद्धिको यात्रामा हलेसी तुवाचुङ अघि बढिरहेको उहाँको भनाइ छ ।

मूल्य सूचि