Saturday, July 27News That Matters

हलेसी तुवाचुङका ९४ किसानले पाए भैसी, दुध विक्री गर्न नगरपालिकाले डेरी सञ्चालनमा ल्याउदै

नगरपालिकाले दिएको अनुदानबाट भैसी खरिद गरेर ल्याउदै बडहरेका किसान

खोटाङ, चैत ९ । अघिल्लो वर्ष ४४ जना किसानलाई भैसी वितरण गरेको हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष थप ५० किसानलाई भैसी प्रदान गर्ने भएको छ । नगरपालिकाको “भैसी प्रवद्र्धन कार्यक्रम” अन्तरगत थप ५० किसानले भैसी खरिदका लागि शुक्रबार सम्झौता गरेका हुन् ।

किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यले दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ भैसी प्रदान गर्ने नगरपालिकाको नीति छ । सोही अनुसार अघिल्लो वर्ष दुई माउ भैसी पालिरहेका ४४ जना किसानलाई नगरपालिकाले एक माउ भैसी दिएको थियो । उनीहरुले अहिले तीन माउ भैसी पालेर दुध उत्पादन गर्दै विक्री वितरण गरिरहेका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ मा थप ५० जना दुई माउ भैसी पालिरहेका किसानले एक माउ भैसी पाउदै छन् । शुक्रबार भएको सम्झौता अनुसार किसानले उन्नत जातको भैसी खरिद गरेर ल्याउने छन् । त्यसको ८० प्रतिशत अर्थात ८० हजार नगरपालिकाले किसानलाई भुक्तनी गर्ने कृषि तथा पशु शाखामा कार्यरत कर्मचारी रविन राउतले बताउनुभयो । किसानले भैसी खरिद गरेर ल्याएपछि अनुगमन गरेर भुक्तानी गरिने राउतको भनाइ छ ।

छलफल तथा सम्झौताका लागि नगरपालिकामा उपस्थित किसानहरु

दुध विक्री गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले “भैसी प्रवद्र्धन कार्यक्रम” सञ्चालन गरेको मेयर विमला राईले बताउनुभयो । ‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिकरुपमा किसानको स्तर माथि उक्सियोस भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ । किसानलाई व्यवसायिक बनाउने हाम्रो नीति हो ।’ मेयर राईले भन्नुभयो, ‘त्यसैले दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ दिदा तीन माउ भएपछि किसान व्यवसायिक हुन्छ । उसले दुध उत्पादन गर्छ, विक्री गर्छ र पैसा कमाउछ ।’

त्रि–धार्मिकस्थल हलेसीमा आउने भक्तजनलाईसमेत लक्षित गरेर “भैसी प्रवद्र्धन कार्यक्रम” सञ्चालन गरिएको मेयर राईले बताउनुभयो । ‘हलेसीमा देश विदेशबाट आउने सबै भक्तजनले माछा मासु खादैनन्, दुध र दुधबाट बनेका परिकार आवश्यक देखिन्छ । त्यसैले जति दुध उत्पादन भएपनि हामीसँग बजारीकरणको समस्या छैन् । किसानलाई दुधबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सोँचका साथ यो कार्यक्रम सञ्चालन गरेका छौँ ।’

दुध डेरी सञ्चालन हुँदै

दुध खरिद विक्रीका लागि हलेसीमा डेरी सञ्चालन गरिने भएको छ । किसानहरुले उत्पादन गरेको दुध विक्रीमा समस्या नहोस् भनेर डेरी सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । दुध, घिउ उत्पादन र खरिद विक्रीको विषयमा शुक्रबार किसान, जनप्रतिनिधि र डेरी सञ्चालन गर्न इच्छुक ब्यक्तिबीच छलफलसमेत गरिएको छ ।

हलेसी बजारस्थित ७ नम्बर वडा कार्यालयको एउटा कोठा भाडामा दिएर डेरी सञ्चालन गर्ने गरी तयारी गरिएको कृषि तथा पशु शाखामा कार्यरत कर्मचारी राउतले बताउनुभयो । दुध खरिद विक्रीको मूल्य र ढुवानीको विषयमा थप निर्णय हुन बाकी रहेको उहाँको भनाइ छ । करीब १५ दिन भित्रमा डेरी सञ्चालन गर्ने गरी तयारि गरिएको छ । डेरी सञ्चालन भएपछि किसानलाई दुध र घिउ विक्रीको लागि बजार डुलिरहनु पर्ने बाध्यता हुने छैन् ।

हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज बजारीकरणको लागि हलेसी बजारमा चिस्यान केन्द्रसहितको कृषि मार्टसमेत सञ्चालनमा ल्याएको छ ।

किसानसँग छलफल कार्यक्रम