राजकुमार भट्टराई
खोटाङ, जेठ ३१ । संघीयताले जनतालाई के दियो ? राजनीतिक वृत्तमा पछिल्लो समय धेरै चर्चित रहेको यो प्रश्नबारे धेरै बहस हुनसक्छ । तर, खोटाङ बुइपाका किसानलाई आएर कसैले यही प्रश्न तेस्र्यायो भने उनीहरुले दिने उत्तरले प्रश्नकर्ता नतमस्तक त बन्न बाध्य हुनेछन् ।
उनीहरुकै अनुभवमा पनि यहाँका किसानलाई संघीयताले सहयोगको बलियो आड दिएको छ । उनीहरुको होस्टेमा कोशी प्रदेश सरकारको हैंसेले यहाँका किसानलाई उत्साह थपिदिएको छ । प्रदेश सरकारको उपस्थिति किसानका लागि बलियो अभिभावकीय छहारी सावित भएको छ ।
परम्परागत मकै, कोदो, धान लगायतका खेती गरिरहेका उर्लेनी गाउँका स्थानीयहरुको करीब ६ वर्ष अगाडी सोँच बदलियो । अहिले उनीहरुको जीवनस्तर र दैनिकी बदलिएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा उर्लेनी गाउँमा अहिले करीब ६० वटा टनेलमा तरकारी खेती भइरहेको छ । गाउँका २६ घर परिवारले गरेको यो सामूहिक खेती आम्दानीको स्रोत मात्रै बनेको छैन्, अरुका लागि प्रेरणा पनि बनिरहेको छ । सुरुमा विदेशबाट फर्किएका १२ जनाले सामूहिक कृषि खेती गर्ने सल्लाह गरे । त्यसपछि गाउँका अन्य १४ घर परिवार पनि जोडिएपछि उर्वरा कृषक समुह दर्ता गरेर २६ परिवारले अहिले सामूहिक खेती गरिरहेका छन् ।
समूहका अध्यक्ष छत्रमान राई, चामकुमार राई, रमेश राई, अविराज थुलुङ, सुनिल राई, अञ्चल राई, केदार राई, मनकुमार राई, दिपक राई, मदन राई, किशोर राई, रोतन राई र मेजर राई विदेशबाट फर्किएर सामुहिक खेतीमा लागेका हुन् । उर्वरा कृषक समुहको मुख्य बाली गोलभेडा (टमाटर) हो । टमाटरसँगै बन्दा, काउली, मुला, प्याज, अकबरे खोसार्नी, तिते करेला, काँक्रा, जुखुने फर्सी लगायतका बालीहरु उनीहरुले लगाउने गरेका छन् । उत्पादन भएको कृषि उपज बजारसम्म लान समूहले ६ लाखमा एउटा अटो खरिद गरेका छन् । सोही अटोबाट बुइपादेखि दिक्तेल बजारसम्म कृषि उपज लगरे उर्वरा समुहले बिक्री गर्ने गरेको समुहका अध्यक्ष छत्रमान राई बताउनुहुन्छ ।
कोशी प्रदेश सरकारले सामूहिक खेतीका लागि बलियो आड दिएपछि यहाँका किसानले समूहमा खेती गर्न कम्मर कसेका थिए । प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र खोटाङले उर्वरा कृषक समुहलाई आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख र आर्थिक वर्ष २०७८/०७९ मा १२ लाख गरी हालसम्म ३७ लाख अनुदान रकम प्रदान गरेको छ ।
सरकारले नगद अनुदान दिएपछि उर्वरा कृषक समुहलाई कृषि खेती गर्ने हौसला प्राप्त भएको छ । सुरुमा सबै परिवारले थोरबहुत रकम संकलन गरेर सामूहिक खेती गर्न सुरु गरेका थिए । सरकारबाट अनुदान पाइन्छ भन्ने जानकारी उनीहरुलाई थिएन । सञ्चारमाध्यममा अनुदान सम्बन्धि आएको सूचना पाएपछि समुहका सदस्यहरुले ज्ञान केन्द्रमा प्रस्तावना हालेको बताउछन् ।
ज्ञान केन्द्रले उर्वरा समुहले गरिरहेको काम मन पराएर अनुदान दिएपछि उनीहरुले व्यवस्थित आधुनिक कृषि खेती गरिरहेका हुन् । सरकारबाट अनुदान लगेर कृषि खेती गर्नेहरुको सूचिमा उर्वरा समुह एक नम्बरमा आउने ज्ञान केन्द्रका सूचना अधिकारी सञ्जय कुमार पण्डित बताउनहुन्छ ।
अचेल सिजनको बेला हरेक दिन किसानको कृषि उपज बजार पुग्ने गरेको छ । अन्य समय बेमौसमी उपजहरु हप्ताको शुक्रबार बुइपा साप्ताहिक हाटमा लगेर बिक्री गर्ने गरेको अध्यक्ष राईको भनाइ छ । बुइपा बजारमा उर्वरा कृषक समुहको कृषि उपज बिक्री वितरणको लागि नगरपालिकाले छुट्टै संरचना निर्माण गरिदिएको छ । बजारमा निर्माण भएको संरचनामा अन्यलाई शूल्क लाग्ने भएपनि उर्वरा समुहलाई निःशूल्क संरचना उपलब्ध गराइएको बुइपाका वडाध्यक्ष दिनेश राई बताउनुहुन्छ ।
उर्वरा कृषक समुहले गाउँभरिको करिब ६ सय रोपनी जग्गामा चार ठाउँमा छुट्टा छुट्टै क्लस्टर निर्माण गरेर खेती गरिरहेको छ । करिब ८० वटा टनेल र टनेल बाहिर पनि तरकारी खेती गरिरहेको कृषक समूहलाई केही समय अघि आएको हावाहुरीले क्षति गरेको छ । केही टनेलहरु उडाउनुका साथै च्यातिदिएपछि अहिले समुहसँग ६० वटा टनेल बाँकी रहेको हो । उक्त टनेल भित्र अहिले काँक्रा, टमाटर फलिरहेका छन् । अन्य तरकारीको बिरुवा हुर्किदै गरेको अध्यक्ष राई बताउनहुन्छ ।
२६ घरलाई चारदेखि पाँच समुहमा बिभाजन गरेर काम गर्ने गरिएको छ । हरेक घरबाट एक जनाको उपस्थितिमा कुनै समूहले खनजोत गर्ने, कुनै समूहले मल बोक्ने, कुनै समूहले बिउ बिरुवा उत्पादन गर्ने लगायतको काम बाँडफाँड गरिएको छ ।
कुनै समूहले उत्पादन भएको उपज बजारसम्म लगेर बिक्री गर्ने गर्छ । उपज बिक्री भएर जम्मा भएको रकम हरेक शनिबार समूहको बैठकले हिसाब गरेर कोषमा जम्मा गर्ने गरेको छ । समूहका सदस्यहरुले हरेक महिना १ सय २५ रुपैयाँ रकमसमेत कोषमा जम्मा गर्ने गरेका छन् । उक्त रकम अनिवार्य तरकारी बिक्रीबाट आम्दानी गरेको हुनुपर्ने नीति राखिएको छ ।
समूह भन्दा फरक सबैले आ–आफ्नो घुर्यानमा छुट्टा छुट्टै पनि तरकारी खेती गर्ने गरेका छन् । त्यसको बजारीकरण पनि समूहले नै गर्ने गरेको छ । समूह र ब्यक्तिगत गरेर हरेक परिवारले वर्षको ४/५ लाख कमाउने गरेको समूहका सदस्यहरु बताउँछन् । जसले गर्दा घर परिवार चलाउन अहिले उर्लेनी गाउँका नागरिकलाई कुनै समस्या छैन् । युवाहरु पनि बैदेशिक रोजगारीमा जान छाडेर गाउँमै आधुनिक खेती गर्न जागरुक भएका छन् ।
खेतीमा लाग्ने रोग र त्यसको उपचार पनि समुहका सदस्यहरु आफै गर्न जान्ने भएका छन् । ज्ञान केन्द्र लगायतले दिएको तालिमबाट खेतीलाई कसरी जोगाउने भनेर अहिले सबै सिपालु भइसकेका छन् । अन्य समयमा साप्ताहिक र भदौ, असोज तथा माघ फागुनमा तरकारी खेतीको सिजनमा उर्वरा कृषक समुहले प्रत्येक दिन करीब १० हजार बराबरको तरकारी बिक्री गर्ने गरेको छ । बुइपा बजारसँगै, सदरमुकाम दिक्तेल र त्रि–धार्मिक स्थल हलेसी बजारमा पनि उर्वरा कृषक समूहको तरकारी पुग्ने गरेको छ ।
समूहले कमाएको आम्दानी सबै सदस्यलाई बराबर बाँडेर समूहको कोष रित्तो बनाउने भन्दा पनि आवश्यकताको आधारमा आम्दानी बाँड्ने र अन्य रकम कोषमा जम्मा गर्ने गरेका छन् । समूहको आम्दानीबाट ३ वर्ष अगाडि ९ लाखमा मोरङ जिल्लामा १० धुर जग्गा खरिद गरेका छन् । अहिले जग्गाको भाउ बढेर करीब २० लाख पुगेको समूहका पूर्व अध्यक्ष सुमन राई बताउनुहुन्छ । अहिले समूहसँग एउटा अटो, २० लाख बराबरको जग्गा र कोषमा २ लाख नगद रकम छ । कृषि उपज बजार लान नपरेको समयमा अटोलाई मानिस बोक्न पनि प्रयोग गरिएको छ । यसबाट पनि आम्दानी भइररहेको छ ।
‘हामीले सुरुवातदेखि नै आम्दानी बाँड्ने भन्दा पनि समूहमा जम्मा गर्ने गरेका छौँ । समूहका कोही सदस्यलाई आवश्यक परेमा, उसले छुट्टै अन्य कृषि खेती तथा पशुपालन गर्न चाहेमा समूहको कोषबाट किस्तामा फिर्ता गर्ने गरी दिने गरेका छौँ ” पूर्वअध्यक्ष राईले भन्नुभयो, ‘दशै तिहार जस्ता चाडपर्वमा आम्दानीको केही रकम सदस्यहरुलाई बाँड्ने पनि गरेका छौँ । तर, प्राय सबैले ब्यक्तिगत पनि खेती गर्नुभएको छ । त्यसबाट राम्रो आम्दानी सबैले गरिरहेका छन् । समूहलाई धनी बनाउने र सबै सदस्यहरु पनि धनी हुने हाम्रो सोच छ ।’
हाल उर्वरा कृषक समूहले कृषि उपज संकलन गर्न एउटा भवन पनि निर्माण गरेको छ । भवन निर्माणमा वडा कार्यालय र समृद्धि परियोजनाले सहयोग गरेको अध्यक्ष छत्रमानले बताउनुभयो । आगामी दिनमा तरकारी खेतीलाई थप गर्दै जाने समूहको योजना छ । तरकारीमा च्याउ खेती र मौरीपालन पनि सुरु गर्ने योजना रहेको अध्यक्ष छत्रमानले सुनाउनुभयो ।
‘हामी विदेशबाट फर्किएर लागिपरेका छौँ, यसलाई यतिमै सिमित बनाउने होइन, बृहत बनाउने हाम्रो सोच छ । गाउँका अन्य युवाहरु पनि बैदेशिक रोजगारीका लागि विदेश पलायन नहुन् भनेर तरकारी खेती सिकाइरहेका छौँ । अब तरकारी खेतीलाई बृहत बनाउँदै, यसमा मौरीपालन, सुँगुर, बाख्रा जस्ता पशुपालनलाई पनि जोड्ने हाम्रो योजना छ’, अध्यक्ष छत्रमान राईले भन्नुभयो, ‘जसको लागि पुनः सरकारले हामीलाई सहयोग गरोस् भन्ने हाम्रो चाहाना छ । हाल हामीले गरिरहेको तरकारी खेतीमा सिँचाइको थोरबहुत समस्या छ । यस्ता समस्या समाधान गर्न र बाकी योजना सफल बनाउन सरकारले हामीलाई पुनः सहयोग गरे यस गाउँलाई नमुना बनाउने हाम्रो उद्देश्य छ । हाम्रा यी योजनाहरु सफल भएमा गाउँका कोही युवा आगामी दिनमा रोजगारीको लागि विदेश जाने छैनन् ।’