खोटाङ, मङ्सिर १३ । च्यास्मीटार भन्ने बित्तिकै झट्ट दिमागमा आउने शब्द सुख्खा, पानी नपाइने ठाउँ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार सुख्खा ठाउँ हो । नगरपालिकाको प्राय सबै वडानै सुख्खा क्षेत्र हो । यहाँहा हरेक मानिस पानीको सङ्कट भोगिरहेका छन ।
कक्षा १२ सम्म पठनपाठन हुने च्यास्मीटार माध्यमिक विद्यालयका विद्यार्थी यस अघि प्यास मेटाउन विद्यालय नजिकका होटल पसल चार्ने गर्थे । टाढाबाट दुःखले ल्याएको पानी त्यति सजिलो कहाँ मिल्थ्योर । केही खानेकुरा किन्ने बहानामा होटल पसलको पानी पिउन बाध्य थिए विद्यार्थी । प्राय विद्यार्थी घरबाटै बोतलमा पानी लिएर आउथे । तर अहिले उनीहरुको दैनिकी फेरिएको छ । उनीहरु विद्यालयमै धित मरुन्जेल पानी पिउछन ।
पिउने पानीको समस्या भएपछि आकाशे पानीलाई शुद्धीकरण गरेर विद्यालयमा प्रयोग गर्न थालिएको छ । आकाशे पानीलाई संकलन गरेर शुद्धीकरण गरिएपछि विद्यालयको खानेपानीको सम्यस्या समाधान भएको हो । विद्यालयमा आकाशे पानीलाई संकलन गरेर शुद्धीकरण गरी पिउन योग्य बनाइने उपकरण जडान गरिएको हो । हलेसी तुवाचुङ नगरपालिको पहलमा बेस्ट वाटर संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी फिल्टर गरेर पिउन योग्य बनाइएको च्यास्मिटार माविका प्रधानाध्यापक तेजकुमार राईले बताउनुभयो ।
बेस्ट वाटर संस्थाको १२ लाख र विद्यालयको १ लाख ९० हजारमा उपकरण जडान र आवश्यक काम सम्पन्न भएको प्रधानाध्यापक राईको भनाइ छ । विद्यालयको २ वटा भवनको छतमा वर्षातको पानीलाई ३० हजार लिटरको तीन वटा ट्यांकीमा जम्मा गर्ने गरिएको छ । उत्त ट्यांकीबाट लिफ्ट भएर एक हजार लिटरको ट्यांकीमा जान्छ, त्यहाँ पानी फिल्टर हुन्छ, त्यसपछि ५ हजार लिटरको ट्यांकीमा पानी राखिन्छ, उक्त ट्यांकीबाट भने विद्यालयमा निर्माण गरिएको ४ वटा धारामा पानी जाने गरेको छ । वर्षातको समयमा राखिएका तीन ठुला ट्यांकी भरिएमा वर्ष भरी पानीको समस्या नहुने बताइएको छ । फिल्टरिङ भएको पानी पिउनको लागि योग्य रहेको प्राविधिकको भनाइ छ ।
फिल्टरिङ गरिएको पानी गत साउनबाट विद्यालयले प्रयोग गर्न थालिसकेको छ । अहिले विद्यार्थी र शिक्षकले सोही पानी उपभोग गरिरहेका छन् । मङ्सिर ९ गते विद्यालयलाई बेस्ट वाटर संस्थाले औपचारिकरुपमा खानेपानी हस्तान्त्रण गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले रिबन काटेर शुद्धीकरण गरेको पानीको उद्घाटन गर्नुभएको हो । नगरपालिकाका मेयर राईसँगै उपमेयर रमेश कुमार राउत, बेस्ट वाटर संस्थाका प्राविधिक अधिकृत गोकुल दंगाल, बेस्ट वाटर संस्थाका दाताहरु अर्पना पोखरेल, अनमिका अर्याल र सरोज भण्डारीको उपस्थितिमा विद्यालयलाई औपचारिकरुपमा पानी हस्तान्त्रण गरिएको प्रधानाध्यापक राईले बताउनुभयो ।
यस अघि शिक्षक तथा विद्यार्थीले नजिकैको होटल पसलमा गएर पानी पिउनु पर्ने बाध्यता थियो । “विद्यालयमा पानी नहुँदा शिक्षक एवं विद्यार्थीहरु नजिकै कसैको घर तथा होटल पसलमा गएर मागेर पिउनु पर्ने बाध्यता थियो ।” प्रधानाध्यापक राईले भन्नुभयो, “पानी पिउनकै लागि भएपनि होटल पसलमा केही खानु पर्ने अवस्था थियो, उनीहरुले पनि टाढाबाट बोकेर ल्याएको पानीहुँदा प्रसस्त हुँदैन थियो ।”
आकाशे पानीलाई फिल्टर गर्ने प्रविधि जडान पश्चात भने विद्यार्थीहरुले आनन्दले पानी सेवन गर्न पाएका छन् । नगरपालिकाको पहलमा विद्यालयमा खानेपानीको व्यवस्था भएपछि विद्यालय र शिक्षक सबैलाई सहज भएको प्रधानाध्यापक राईले बताउनुभयो ।