Thursday, April 16News That Matters

जन्मदिनको अवसरमा पत्रकार वनले गरे अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै पत्रकार वन ।

खोटाङ, चैत ९ । सोलुखुम्बुको जुबुमा जन्मनुभएका पत्रकार रमन वनले आफ्नो जन्मदिनको अवसरमा काठमाडौँको एक बाल आश्रमका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । उहाँले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौँको मूलपानीमा रहेको जनजाती बाल आश्रमका अनाथ र विपन्न ३० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । वनले आश्रममै पुगेर प्रति बालबालिका ३ ओटा कापीको साथमा कलम, पेन्सिल, इरेजर र कर्टर उपलब्ध गराउनुभएको थियो ।

जन्मदिनमा महँगो रकम खर्चेर अनावश्यक तडकभडक देखाउने परम्परालाई तोड्दै सामाजिक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफूले शैक्षिक सामग्री सहयोग गरेको वनले बताउनुभयो । साथै वनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बालबालिकको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

उक्त अवसरमा पर्यटन व्यवसायी तुलसीराम पुरी, कपन जेसिआईमा आवद्ध भएर काम गर्नुभएका समाजसेवी नवराज वन, कविता वन, मुना पुरी, पत्रकारद्वय सुनिल विष्ट, प्रकाश कपालीलगायतको उपस्थिति रहेको थियो ।

जनजाती कल्याण आश्रमले वि.सं. २०५९ सालदेखि जनजाती बालबालिकाहरूको हकहित तथा उत्थानको लागि काम गर्दै आएको छ ।