
खोटाङ, भदौ ९ । खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सव डिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षणहुँदा काठ काट्नेहरु बेखबर भएपछि बरामद गरिएको उहाँको भनाइ छ । अवैधानिक तरिकाले काठ निकासा हुने लागेको विषयमा रुपाकोट खबरले समाचार प्रशारण गरेको थियो । समाचार पश्चात वन कार्यालयले तत्काल एक्सन लिएर काठ बरामद गरेको छ ।
साप्सु खोलाको शिरतर्फबाट खोलामा काठहरु बगाउदै ल्याएर मध्य पहाडी लोकमार्गस्थित साप्सु खोला पुलमा काठका मुडाहरु जम्मा गरिएको पाइएको छ । कतीपय मुडाहरु खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको छ । कतीपय मुडा खोलामै छरपस्ट भेटिएका छन् । वनका कर्मचारी निरीक्षणका लागि पुग्दा काठ काट्नेहरु बेपत्ता भएर आठ दिनसम्म पनि सम्पर्कमा नआएपछि काठ बरामद गरेर जिल्ला वन कार्यालयमा ल्याइएको वन अधिकृत घिमिरेले बताउनुभयो । वनका कर्मचारीहरुले भदौ ७, ८ र ९ गते तीन दिन लगाएर सबै काठ गाडीमा लोड गरेर वन कार्यालयमा ल्याइएको उहाँको भनाइ छ । “आठ दिनसम्म कोही पनि सम्पर्कमा आउनुभएन, त्यसैले हामीले काठ उठाएर ल्याएका छौँ । अब सूचना निकाल्छौँ, यदि कोही प्रमाणसहित आउनुहुन्छ भने लानुहुन्छ नत्र वन कार्यालयले लिलाम बिक्री गर्छ ।” वन अधिकृत घिमिरेले भन्नुभयो, “काठ कसले काटेको भनेर हामी अनुसन्धान गरिरहेका छौँ, अहिलेसम्म पत्ता लागेको छैन् ।”
वन कार्यालयका अनुसार त्यस क्षेत्रको काठ बिक्रीका लागि काठ धनी एवं काठ व्यवसायि कसैले पनि कार्यालयबाट फाइल बनाएका छैनन् । केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले उक्त काठ निकासी गर्न लागेको सूचना आएको कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार सूचना आएजस्तै अवैधानिक तरिकाले बिक्री गर्न लागेको जस्तो देखिएको घिमिरेले बताउनुभयो । अन्य कुरा थप अनुसन्धानबाट पत्ता लाग्ने उहाँको भनाइ छ ।
साप्सु खोला वरिपरीका केही उत्तिसका रुखहरु काटिएको देखिएको छ । केही पहिरोमा लडेका रुखहरु काटिएको देखिएको छ । अन्य रुखहरु कहाँ काटिएको हो भनेर अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
