Sunday, November 22News That Matters

खोटाङमा समन्वय प्रमुखसहित ८ जनाको पद रिक्त, एउटा वडा जनप्रतिनिधि विहीन

पद रिक्त भएका जिल्ला समन्वय प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राई र पाथेकाका वडाध्यक्ष मुगाधन राई ।

खोटाङ, मङ्सिर ३ । खोटाङमा जिल्ला समन्वय प्रमुखसहित एकै पटक ८ जनाको पद रिक्त भएको छ । वडा अध्यक्षसहित चारै जना वडा सदस्यको पद रिक्तहुँदा एउटा वडा जनप्रतिनिधि विहीन बनेको छ ।

निर्वाचन आयोगले मङ्सिर ३ गते सूचना प्रकाशित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको छ । पद जाने १८ मध्ये ८ जना खोटाङका जनप्रतिनिधि रहेका छन् ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१० पाथेकाका वडाअध्यक्ष मुगाधन राई, नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पद रिक्त भएको छ । यस्तै, पाथेकाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राईको पनि पद रिक्त भएको छ । वडाध्यक्षसहित चारै जना सदस्यको पनि पद रिक्त भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१० पाथेका जनप्रतिनिधि विहीन बनेको छ ।

निर्वाचन आयोगको सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई दिएको थियो । आयोगले सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित प्राप्त जानकारीका आधारमा २०८३ मङ्सिर २ गते निर्णय गर्दै उनीहरूको पद रिक्त भएको जनाएको हो ।