Wednesday, November 4News That Matters

निःशूल्क हेलिकोप्टर उद्धारले जोगायो आमा र बच्चाको ज्यान

नेपाली सेनाको हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार गरिदै ।

खोटाङ, कात्तिक १८ । खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरेपछि आमा र बच्चाको ज्यान जोगिएको छ । सुत्केरी व्याथा लागेर खोटेहाङ गाउँपालिका–६ स्थित इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भर्ना भएकी महिलाको शल्यक्रिया गर्नु पर्ने भएपछि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको हो ।

इन्द्रेणीपोखरीकी २२ वर्षीया लक्ष्मी थापा खत्रीलाई सुत्केरी हुने समय अगावै व्यथा लागेपछि मंगलबार राती स्थानीय आधारभूत अस्पताल भर्ना गरिएको थियो । तर, गर्भमा तौल कम भएका जुम्ल्याहा बच्चा रहेकाले शल्याक्रिया गर्नुपर्ने भएपछि उद्धार गरेर काठमाडौं पठाइएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरबाट निःशूल्क उद्धार गरेर काठमाडौं लगिएपछि थापाको शल्याक्रियामार्फत दुई छोराको जन्म भएको राईले बताउनुभयो ।

३२ हप्तामै सुत्केरी व्याथा लागेपछि शल्याक्रियामार्फत समान १ हजार ७ सय ग्रामका दुई सन्तानको जन्म भएको बताइएको छ । बुधबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंस्थित परोपकार प्रसुति केन्द्र थापाथली लगिएकी थापाको अवस्था अहिले सामान्य रहेको बताइएको छ । तौल कम भएकाले बच्चालाई हाल भेन्टिलेटरमा राखिएको पारिवारीक स्रोतले जनाएको छ । तत्काल हेलिकोप्टरबाट उद्धार गरेर सुविधा सम्पन्न अस्पतालमा नलगिएको भए आमा र बच्चा दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । तत्काल उद्धार पश्चात आमा र बच्चाको ज्यान जोगिएको छ ।

दुर्गम तथा पहाडी क्षेत्रमा विशेष गरी गर्भवती महिला र नवजात शिशुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनदान बन्दै आएको छ । नेपाल सरकारले २०७३ सालबाट सुरु गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका गर्भवती एवं सुत्केरी महिलाको हेलिकोप्टरमार्फत निःशूल्क उद्धारहुँदै आएको छ ।