Wednesday, October 28News That Matters

दँसै बिदा सकिएपछि जिल्ला प्रशासन खोटाङमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता बनाउने सेवाग्राहीको लाइन ।

खोटाङ, कात्तिक ११ । दसैँको बिदा सकिएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङबाट एकै दिन १ सय १३ जनाले नागरिकता लिएका छन् । बुधबार एकै दिन प्रशासनबाट १ सय १३ जनाले नागरिकता लिएका हुन् । यस्तै, ६३ जनाले राष्ट्रिय परिचयपत्र र २८ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

दसैँ मनाउन गाउँ आएका नागरिकले त्यही मौकामा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्दा सेवाग्राहीको भीड बढेको हो । दँसै बिदा सकिएर सोमबारबाट जिल्ला प्रशासन सञ्चालनमा आएको हो । दँसै बिदा सकिएको पहिलो, दोस्रो भन्दा तेस्रो दिन सेवाग्राहीको भीड लागेको छ ।

पहिलो दिन सोमबार ४२ जनाले नागरिकता, ३६ जनाले राष्ट्रिय परिचयपत्र र २१ जनाले राहदानी बनाएका थिए । दोस्रो दिन मंगलबार ६६ जनाले नागरिकता, ५४ जनाले राष्ट्रिय परिचयपत्र र २४ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी शम्शेर बहादुर राईले बताउनुभयो । कार्यालय खुलेको तेस्रो दिन सेवाग्राहीको सङ्ख्या अझै बढेको उहाँको भनाइ छ । सेवाग्राहीको सङ्ख्या अत्याधिक बढेर बुधबार एकै दिन १ सय १३ जनाले नागरिकता, ६३ जनाले राष्ट्रिय परिचयपत्र र २८ जनाले राहदानी बनाएको सूचना अधिकारी राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय खोटाङसँगै अन्य दुई वटा इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा प्रदान हुँदै आएको छ । खोटाङ बजार र ऐसेलुखर्क इलाका प्रशासन कार्यालमा पनि जिल्ला प्रशासन जस्तै दँसै बिदा पश्चात सेवाग्राहीको भीड बढेको छ ।