Sunday, August 23News That Matters

दिक्तेलको सार्वजनिक चौतारो पाँच वर्षदेखि गायब


राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ ३ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारो गायब भएको छ । करिब २ सय वर्षदेखि स्थानीय समुदायको संस्कारसँगसमेत जोडिएको सार्वजनिक चौतारो अहिले गायब भएको हो ।

हस्पिटल चोक नामले परिचित जिल्ला अस्पताल नजिकै रहेको सार्वजनिक धारा अहिले पनि जिवित छ । परापूर्वकालदेखि नागरिकको तिर्खा मेटाउदै आएको धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा संरक्षण गरिएको छ । तर, धारासँगै जोडिएको सार्वजनिक चौतारो भने अहिले गायब भएको छ । उक्त स्थानमा दुई कित्ता सार्वजनिक जग्गा रहेको छ । एक कित्ता सार्वजनिक धारा र अर्को कित्ता सार्वजनिक चौतारोकोरुपमा भूमि प्रशासन कार्यालय (तत्कालिन मालपोत कार्यालय)मा दर्ता रहेको देखिन्छ ।

साविक दिक्तेल गाउँविकास समिति वडा नम्बर २ र ३ अन्तरगत हस्पिटल चोकस्थित ७ आना ३ दाम २ पैसा क्षेत्रफल रहेको कित्ता नम्बर २९६ सार्वजनिक चौताराको नाममा दर्ता रहेको छ । यस्तै, सोही ठाउँको ९ आना २ पैसा क्षेत्रफल भएको १११२ कित्ता नम्बर जग्गा सार्वजनिक धारामा दर्ता भएको पाइन्छ । सार्वजनिक धारा अहिले पनि यथावत रहेको छ । तर, सार्वजनिक चौतारा उक्त स्थानबाट गायब भएको छ । भूमि प्रशासन कार्यालयमा अहिले पनि सार्वजनिक चौताराकैरुपमा कित्ता नम्बर २९६ रहेपनि स्थलगतरुपमा चौतारा गायब भएको हो । चौतारासँगै रहेको वरपीपलको नामनिसान अहिले उक्त ठाउँमा छैन् । चौतारोसँगै रहेको ब्यक्तिगत जग्गामा स्थानीय नारायण काजी श्रेष्ठले पक्की घर निर्माण गरेर चौतारो जग्गालाई आँगन(पार्किङ)को रुपमा प्रयोग गर्दै आएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

यता, नारायण काजी श्रेष्ठले भने आफुहरुले सार्वजनिक जग्गा नमिचेको बताउनुहुन्छ । सार्वजनिक चौतारा रहेको जग्गामा अहिले सडक रहेको उहाँको दाबी छ । आफुले आफ्नै नम्बरी जग्गामा घर बनाएको सडकको लागि पनि मापदण्ड अनुसार जग्गा छाडेको उहाँको भनाइ छ ।

स्थानीयको संस्कारसँग जोडिएको हराएको चौतारो

स्थानीय बस्नेत, खड्का विशेष गरी नेवार समुदायको संस्कारसँग जोडिएको सार्वजनिक चौतारो रातारात गायब भएको श्रेष्ठको भनाइ छ । २०७८ सालमा नारायण काजी श्रेष्ठको घर निर्माण गर्दा रातारात चौतारो र वरपीपलको रुख हटाइएको स्थानीयको भनाइ छ । सार्वजनिक चौतारो हटाउदा स्थानीय सरकार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तत्कालिन नेतृत्व, दिक्तेल वडाको नेतृत्व मौन बसेको श्रेष्ठको भनाइ छ । स्थानीय सरकारकै मिलेमतोमा सार्वजनिक चौतारो गायब बनाइएको स्थानीयको आरोप छ ।

उक्त सार्वजनिक चौतारोमा स्थानीय बस्नेत, खड्का र विशेष गरी नेवार समुदायले आफ्नो संस्कार अनुसार कसैको मृत्युहुँदा बाह्र दिनसम्म गरिने काजकिरिया, पितृकार्य, धार्मिक तथा सामाजिक संस्कार उक्त चौतारोमा गर्ने गरेका थिए । नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा पनि सोही ठाउँमा सेलाउने परम्परा रहेको छ । तर, ऐतिकाहिस एवं धार्मिक स्थललाई रातारात भत्काएर ब्यक्तिले निजी बनाइ प्रयोग गर्दै आएको सामाजिक गुठीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । सार्वजनिक चौतारो भत्काएपछि सोही ठाउँमा कटेरो बनाएर नेवार समुदायले परम्परागत गर्दै आएको मृत्यु संस्कार गर्दा घरधनीले अपशब्द बोलेर गाली गर्ने गरेको गुठीका सचिव सरोज सैजुले बताउनुभयो । गाली गर्दै भिडियोसमेत सामाजिक सञ्जालमा राखिएको पाइएको छ । उक्त भिडियो अहिले हटाइएको छ ।

न्यायिक समितिको निर्णय

समुदायको संस्कारसँग जोडिएको सार्वजनिक चौतारो प्रयोग गर्न नपाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदन परेपछि दुवै पक्षबीच छलफल गराएर वि.स. २०८१ भदौ ७ गते निर्णयसमेत भएको पाइएको छ । सामाजिक गुठीले दिएको निवेदन अनुसार करिब २ सय वर्ष अघिदेखि दिक्तेल बजारस्थित नेवार समुदायले उक्त कित्ता नम्बर २९६ र १११२ को जग्गामा काजकिरियाको दशौं, एघारौं र बाह्रौं दिनको संस्कार सोही स्थानमा बसोबास गरेर गर्दै आएको र अन्य जातीले काजकिरया गर्दा हरेक दिन उक्त स्थानमा आफ्नो संस्कार अनुसार खाना पकाएर खाने गरेको, नेवार जातीको जात्रा सोही स्थानमा सेलाउने गरिएको पाइएकाले उक्त सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीले संरक्षण गर्ने र पराम्परागत गर्दै आएको संस्कार गर्न पाउने गरी न्यायिक समितिले निर्णय गरेको पाइएको हो । सोही अनुसार सामाजिक गुठीको संरक्षणमा रहने गरी पाटी, चौतारा निर्माण गर्ने र स्थानीय समुदायले भोगाधिकार गर्न पाउने अधिकार निर्णयले प्रदान गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विसन राईले बताउनुभयो ।

न्यायिक समितिले निर्णय गरेपनि पाटी, चौतारा निर्माण गर्न र संस्कार गर्न अवरोध भइरहेको स्थानीयको भनाइ छ ।

संघीय सरकारमा उजुरी
सार्वजनिक चौतारो तथा सार्वजनिक धारा रहेको जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग भएको भन्दै उक्त जग्गाको विषयमा नेपाल सरकार समक्षसमेत उजुरी पुगेको पाइएको छ । स्थानीय समुदायको संस्कारसँगसमेत जोडिएको सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै सरकारसमक्ष उजुरी पुगेको हो । उजुरी पुगेपछि तत्काल अतिक्रमण भएको जग्गाको विषयमा अध्ययन अनुसन्धान गर्न प्रधानमन्त्रीको कार्यालयबाट जिल्ला प्रशासन कार्यालय खोटाङमा निर्देशनसमेत भइसकेको स्रोतले बताएको छ ।

सार्वजनिक धारा र चौताराको कायम रहेको कित्ता नम्बर

सार्वजनिक जग्गामा पाँच वर्ष अघिसम्म रहेको वरपीपलको रुख र सार्वजनिक चौतारो

वरपीपलको रुख काटेर, चौतारो भत्तकाएर पाँच वर्ष अघि सम्याइएको उक्त स्थान

हालको अवस्था