
खोटाङ, कात्तिक १६ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको जयराम–हलेसी सडक मर्मत हुनेभएको छ । कालोपत्रे उक्किएर धुजाधुजा भएको ३५ किलोमिटर जयराम–हलेसी सडकखण्ड मर्मत हुनेभएको हो ।
जयराम–हलेसी सडकखण्ड २०६५ देखि २०६७ सालमा ओटासिल कालोपत्रे गरिएको थियो । केही वर्षमै कालोपत्रे उक्किन थालेपछि सडकमा खाल्डाखुल्डी बढ्दै जादा अहिले सडक धुजाधुजा भएको छ । धुजाधुजा भएको सडक मर्मतको लागि ठेक्का लगाइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठले बताउनुभयो । कालोपत्रे उक्किएर खाल्डाखुल्डी भएको ठाउँमा मर्मत गर्ने, जीर्ण भएको ठाउँमा सहज बनाउने गरी ठेक्का लागेको इन्जिनिय श्रेष्ठको भनाइ छ ।
जयराम देखि हलेसीसम्म ३५ किलोमिटर सडक मर्मतको लागि करिब ७ करोड २१ लाखमा सम्झौता गर्ने पक्रिया अघि बढेको छ । सडक मर्मतको लागि एसआरबी बिल्डर्स सिन्दुपाल्चोक निर्माण कम्पनी छनोट भएको छ । केही दिन भित्रमा निर्माण कम्पनीसँग सम्झौता गरेर तिहार पछि मर्मतको काम सुरु गर्ने तयारी रहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । आगामी जेठ मसान्तसम्म काम सक्ने गरी ठेक्का खोलिएको उहाँको भनाइ छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने यो सडकखण्ड राजधानी काठमाडौं र अन्य सहर आवतजावत गर्ने एकमात्र मार्ग हो । खोटाङसँगै छिमेकी जिल्ला भोजपुरका सवारीसाधन पनि सोही मार्गबाट काठमाडौं आवतजावत गर्दै आएका छन् । दैनिक सयौँको सङ्ख्यामा सवारी साधन वारपार गर्ने सडकखण्ड जीर्णहुँदा यात्रा जोखिमपूर्ण हुने गरेको छ । जयराम–हलेसी सडक मध्यपहाडीको मापदण्ड अनुसार स्तरोन्नति गर्न, तत्काल खाल्डाखुल्डी मर्मत गर्न र मध्यपहाडी राजमार्ग योजना कार्यालय रामेछापले हेर्दै आएको उक्त मार्ग सडक बिभागलाई जिम्मा दिन निरन्तर खबरदारी गर्दै आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । तत्काललाई सडक मर्मतले केही सहजता मिल्ने मेयर राईको भनाइ छ ।
मध्यपहाडीको अन्य खण्डको चौडाइ कम्तीमा नौ मिटर कायम गरिएको छ । तर, जयराम–हलेसी ३५ किलोमिटर सडकखण्डको चौडाइ करिब ४ देखि ५ मिटर मात्र रहेको छ । उक्त खण्डलाई स्तरोन्नति गरेर मध्यपहाडीको मापदण्डमा लान खोटाङका सरोकार निकायहरुले पटक पटक माग गर्दा पनि सरकारले वेवास्ता गर्दै आएको छ ।
विश्व चर्चित त्रि–धार्मिक स्थल हलेसी दर्शनको लागि हरेक दिन सोही मार्गबाट दर्शनार्थीहरु ओहोरदोहोर गर्दै आएका छन् । साँघुरो र खाल्डाखुल्डीले जोखिमपूर्ण सडकका कारण दर्शनार्थी पनि मारमा परिरहेका छन् । कालोपत्रे उक्किएर खाल्डो बनेको ठाउँमा बर्खामा पानी जमेर हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । हाल सम्झौता हुन लागेको ठेक्का सडकमा भएको खाल्डाखुल्डी टालटुल गर्नका लागि मात्र रहेको इन्जिनियर श्रेष्ठले बताउनुभएको छ । सडकको चौडाइ बढाउने कार्य भने अझै अन्योल छ ।
