
खोटाङ, असोज ८ । खोटाङको सिम्पानी बजारको फोहोर अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर भएको छ । जिल्लाको पुरानो बजार खोटेहाङ गाउँपालिका–८ सिम्पानी बजारको फोहोर बजार नजिकै अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर पुगेको हो ।
चिसापानी बजारको फोहोर बजार नजिकै सडकबाट खोल्सामा फाल्ने गरेको देखिएको छ । सडकको डिलमा बोतल, प्लास्टिकजन्य लगायतका फोहोर असरल्ल छरिएका छन् । स्वास्थ्य संस्थाले प्रयोग गर्ने सिरिन्जसमेत सडकको डिलमा फालिएको छ । सडक भन्दा तल रहेको खोल्सामा खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेको तीन खोप्रे गाउँमा जाने खानेपानीको मुहान रहेको स्थानीय रोमन श्रेष्ठले बताउनुभयो । फालिएको फोहोर खानेपानीको मुहानसम्म पुग्ने भएकाले पटक पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
सिम्पानी बजारको फोहोर व्यवस्थापनको लागि वडा कार्यालयले हरेक वर्ष ठेक्का खुलाउने गरेको छ । ठेक्का पाउने व्यक्तिले बजारको फोहोर ट्याक्टरमा हालेर सोही ठाउँमा लगेर फाल्ने गरेको सिम्पानीका स्थानीय पारस थापाको भनाइ छ । सिम्पानी बजारको फोहोर वर्षौँदेखि उचित तरिकाले व्यवस्थापन हुन सकेको छैन् । अहिले फोहोर फालिदै आएको ठाउँ बजार भन्दा करिब २ सय मिटर मात्र टाढा रहेको छ । रसुवा–पान्धारे सडक र सिम्पानीकै अर्को गाउँ जाने सडकको डिलबाट खोल्सातर्फ फाल्ने गरिएको स्थानीय थापाले बताउनुभयो । सडकको डिलबाट फलिएको फोहोरले वातावरण प्रदुषणसँगै खानेपानीको मुहानमा असर गरिरहेको अर्का स्थानीय शिशिर राई बताउनुहुन्छ । बजार नजिकै असरल्ल फोहोर फाल्दा रोग फैलिन सक्ने स्थानीयमा त्रास बढेको उहाँको भनाइ छ ।
फोहोरले सडक र खानेपानीको मुहानमा असर गरेको भन्दै कुरा उठेपछि अन्य ठाउँमा व्यवस्थापन गर्न छलफल भइरहेको सिम्पानीका वडाध्यक्ष चन्द्र थापाको भनाइ छ । एक साता भित्र अन्य सुरक्षित ठाउँ व्यवस्थापन गरी त्यहाँ फालिएको फोहोरसमेत उठाएर लगिने वडाध्यक्ष थापाले बताउनुभएको छ ।
