
राजकुमार भट्टराई (सरगम)
खोटाङ, असार १८ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल त्रि–धार्मिक स्थल हलेसी विश्व प्रसिद्ध धार्मिक स्थल हो । जहाँ हरेक वर्ष पर्यटकहरुको सङ्ख्या बृद्धिहुँदै गएको छ । हलेसीमा दर्शन गर्न अत्याधिक धार्मिक पर्यटकहरु आउने गरेका छन् । साथै हलेसी क्षेत्रको अवलोकन गर्न मात्र पनि पर्यटकहरु आउने गरेका छन् ।
हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईका अनुसार एक वर्षमा आन्तरिक र बाह्य पर्यटक गरी कबिर २ लाख ३० हजार पर्यटकहरुले हलेसी दर्शन एवं भ्रमण गरेका छन् । २०८२ असार १ गतेदेखि ०८३ जेठ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालका विभिन्न जिल्लाबाट आएका पर्यटक २ लाख ७ हजार ७०५ र विदेशबाट आएका पर्यटक २२ हजार ६४४ रहेको छ । अहिलेसम्म सबै भन्दा धेरै २०८२ साल साउन १२ गते लागेको बोलबम मेलामा एकै दिन हलेसीमा १४ हजार ७ सय ४२ जना दर्शनार्थीले हलेसीको दर्शन गरेका थिए ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा पूजाआजा गर्ने गरेका छन् । तीन वटा धर्मालम्वीहरुको पवित्र स्थल धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तीज, साउनको हरेक सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि प्राय दैनिकरुपमा दर्शनार्थीहरु हलेसी मन्दिरको दर्शन गर्न तथा अवलोकन गर्न आउने गरेका छन् । नेपालका प्राय सबै जिल्लासँगै भारत, चिन, बंगलादेश, भुटान, श्रीलंका, भेदनाम लगायतका देशबाट पर्यटकहरु हलेसीमा आउने गरेका छन् ।
कसरी पत्ता लागेको थियो हलेसी ?
हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसीको नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा करिब ४ सय वर्ष अघिका राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही नामबाट ‘हलेसी’ बन्न गएको बताइन्छ ।
“हलेसी त्रिधार्मिक धाम शोधग्रन्ध” पुस्तकमा मुन्धुम अत्यता भोगिराज चाम्लिङले उल्लेख गरे अनुसार पहिला हलेसी गुफाबाहिर बयर र मुखीबाँस (काँडेबाँस) को घारी थियो । त्यो बेला खोटाङ र भोजपुर जिल्लाको सिमानामा पर्ने रमणीय चुचुरा टेम्केदेखि खोटाङ जिल्लाको रुपाकोट हुँदै हलेसी र भुम्जु डाँडासम्म अटुट रुपमा जंगल फैलिएको थियो । हलेसी क्षेत्रबाट शिकार खेल्दै मान्छेहरु टेम्केसम्म पुग्थे । टेम्केबाट शिकार खेल्दै हलेसीसम्म आइपुग्थे । एकदिन दुईजना राई पुर्खाहरु एउटा शिकारी कुकुरसहित टेम्केमा शिकार खेल्न पुगे । किरात राई धामीहरुको मुन्दुमी भाषामा त्यर्पाचुङ भनिने टेम्केको जंगलमा ती दुई राई पुर्खाहरुले जख्खु मृग फेला पारे । वाणले हान्न लाग्दा त्यो मृग अलप भइहाल्थ्यो र फेरि कतै टाढा देखापथ्र्यो । उनीहरु मृगलाई लखेट्दै जान्थे । नजिकै पुगेर वाण हान्न खोज्दा मृग अलप भइहाल्थ्यो । यसरी मृग लखेट्दै उनीहरु टेम्केबाट मैयुङ, मैयुङबाट रुपाकोट जङ्गल, रुपाकोटबाट नुनथला खिल्कु–अर्खौले–तुवाचुङहुँदै हलेसी गुफा आइपुगे । हलेसी गुफामा आइपुगेपछि मृगलाई हानेको वाण लाग्यो । तर, मृग उफ्रिएर घना जंगलभित्र रहेको गुफामा पस्यो । शिकारी कुकुर पनि मृगलाई पछ्याउँदै गुफाभित्र छिर्यो । त्यसबखत शिकारी कुकुरले वाण लागेर भागेको जंगली जनावरको रगत पहिल्याउँदै ढलेको ठाउँ पत्ता लगाएर भुक्थ्यो र शिकारीहरु त्यहाँ पुगेर शिकार लिएर आउँथे । लहराहरुले ढाकिएर केही नदेखिने अटप्पे भएकोले ती दुई शिकारी पुर्खाहरु गुफाभित्र छिर्न सकेनन् र त्यसबखत गैरीगुठमा किरात राईहरुको बस्ती भएकोले त्यता सहयोग माग्न गए । गैरीगुठबाट बागवंशी राईको नेतृत्वमा आएका गाउँलेहरुले झोरजंगल फाँडेर गुफाभित्र पस्दा अचम्मलाग्दो शिलाहरु देखे । गुफाको माथिबाट तलतिर शिलाहरु फलिरहेजस्तो, तल भुइँबाट शिलाहरु उम्रिरहेजस्तो देखे । बागवंशी राईको नेतृत्वमा उनीहरुले कुकुर फेला पारे तर मृग कतै फेला परेन । उनीहरु अचम्ममा परे । उनीहरुलाई त्यो अलौकिक घटना लाग्यो र बागवंशी राईको नेतृत्वमा हलेसी गुफामा किरात राईहरुले आफ्नो संस्कृतिअनुसार पुनः पूजाआजा गर्न थाले । मुन्धुम अत्यता भोगिराज चाम्लिङका अनुसार हलेसी यसरी पत्ता लागेको थियो ।
हलेसी कसरी भयो हिन्दु धर्मालम्वीहरुको पवित्र स्थल ?
“हलेसी त्रिधार्मिक धाम शोधग्रन्ध” पुस्तकको हिन्दु दृष्टिकोणमा डा. धनप्रदास सुवेदीले उल्लेख गरेअनुसार हलेसीको उत्पत्तिसँग पौराणिक आख्यानमा रहेको वृकासुरको कथा जोडिएको छ । वृकासुर नामको राक्षसले शिवजीको कठोर तपस्या ग¥यो । उसको १२ वर्षसम्मको कठोर तपस्याले शिवजी प्रशन्न भएर वर माग भने । वृकासुरले जसको टाउकोमा मेरो हात राख्छु उसको मृत्यु होस् भनेर वरदान माग्यो । शिवजीले तथास्तु भनेर वरदान दिए । वरदान पाउनेसाथ राक्षसले शिवजीतिर हेर्दा शिवजीसँगै रहेकी पार्वती देख्यो र पार्वतीको रुपमा मोहित भई पार्वती पाउनका लागि शिवकै टाउकामा हात राख्न खोज्यो । यसपछि शिवजी भाग्न थाले, राक्षस पछ्याउन थाल्यो । यस क्रममा शिवजी हलेसीमा पुगे । राक्षसलाई झुक्याउनका लागि उनी पहरा फोरेर भित्र पसे र केही पर पुगेपछि जमिन फोरेर बाहिर निस्के र पुनः अर्को गुफा सिर्जना गरी त्यही गुफामा लुके । किंवदन्ती अनुसार अहिलेको बसाह गुफा यसरी शिवले बनाएको पहिलो गुफा हो भने शिवजी लुकेको गुफा चाहि महादेव गुफा हो । दोस्रो गुफामा लुकेर शिवले ध्यानबाट विष्णुलाई आफ्नो सङ्कट जानकारी गराए । शिवको सङ्कटको सन्देश विष्णुकहाँ पुग्यो । विष्णुले तत्काल मोहिनीको रुप धारण गरी हलेसीमा आए । बसाह गुफाका आसपासमा शिवलाई खोजिरहेको वृकासुरका अगाडि मोहनी रुप विष्णु देखापरे । मोहिनी रुपी विष्णुलाई देखेर वृकासुर लट्ठियो । मोहनी रुपी विष्णुले वृकासुरलाई शिवजीले दिएको वरदान सत्य नहुने भन्दै नाच्न लागे । मोहिनीको रुपमा लट्ठिएको वृकासुर उनी जसरी नै नाच्न लाग्यो । नाच्दै जाँदा मोहिनीले टाउकोमा हात लगाइन्, वृकासुरले पनि टाउकोमा हात लगायो र तत्काल भष्म भयो । यसरी भष्म भएकाले उसको नाम भष्मासुर भनी प्रसिद्ध हुन पुग्यो । राक्षस भष्म भएपछि भगवान् विष्णु त्यसको खबर दिन भनी शिवजी लुकेको ठाउँमा गएर शिवजीको दर्शन गरे । यसप्रकार विष्णु अर्थात् हरि र शिव अर्थात् ईश्वरको भेट भएको ठाउँ भनी विश्वास गर्ने गरिएकोले यस ठाउँको नाम हरिश्वर रहन गएको र पछि हलेसी भएको हुनसक्ने इतिहासकार ज्ञानमणि नेपालको अनुमान रहेको भनी उल्लेख गरिएको छ ।
हलेसी गुफालाई किन मान्छन् किरात धर्मालम्वीहरुले ?
“हलेसी त्रिधार्मिक धाम शोधग्रन्ध” पुस्तकको किरात दृष्टिकोणमा भोगिराज चाम्लिङले उल्लेख गरे अनुसार किरात मिथक अनुसर उहिले किरात राईहरुका शक्तिशाली पुर्खा पारुहाङ ले धनुवाण हानेर गुफा निर्माण गरेको हुनाले ‘होँलैस्यु’ भन्दाभन्दै हलेसी हुन पुगेको मान्यता छ । ऐतिहासिक कालमा किरातहरूका पुर्खा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । जसकारण यहाँ बर्षेनी किरातको विशेष चाडको बेला किराँत धर्मालम्वीहरुले पुजाआजा गर्ने चलन रहेको छ ।
हलेसी कसरी जोडियो बौद्ध धर्मसँग ?
“हलेसी त्रिधार्मिक धाम शोधग्रन्ध” पुस्तकको बौद्ध दृष्टिकोणमा मोहन कुमार तामाङले उल्लेख गरे अनुसार हलेसीलाई बौद्ध धर्मालम्वीहरुले मारतिका गुफा नाममा एक पवित्र स्थान मान्दछन । महान बौद्ध गुरु पद्मसंभवले सन् ७४७ मा भोट जानुअघि फर्पिङमा तीन वर्ष ध्यान साधना गर्नु भएको र सोभन्दा अगाडि सैलुङ क्षेत्रमा पाँच वर्ष ध्यान साधना गर्नु भएको र सोभन्दा अगाडि हलेसी (मारतिका) मा तीन महिना ध्यान साधना गर्नु भएको हुँदा उहाँले सन् ७३९÷४० तिर हलेसी (मारतिका) मा ध्यान साधना गर्नु भएको उल्लेख छ । जसकारण बौद्ध धर्मालम्वीहरुले मारतिका गुफाको नाममा एक हलेसीलाई पवित्र स्थान मान्ने गरेका छन् । विश्वभरका बौद्ध धर्मालम्वीहरु मारतिकामा आउने गरेका छन् ।
हलेसी क्षेत्रमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफा लगायतका धार्मिकस्थलमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।
हलेसी क्षेत्रको व्यवस्थापन
हलेसी गुफा भित्र प्रवेश गर्न रेलिङसहितको सिढि निर्माण गरिएको छ । प्रवेशद्धार वरिपरी ढुङ्गा ओछ्याइएको छ । यस वर्ष मात्र हलेसी बजार पुरै सडकमा ढुङ्गा ओछ्याएर चिटिक्क बनाइएको छ ।
अघिल्लो वर्ष कोशी प्रदेश सरकारको लगानीमा हलेसीमा हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।
धार्मिकरुपले मात्र नभई प्राकृतिकरुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा संघ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समितिसमेत लागिपरेको छ ।
हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि सुविधायुक्त अतिथिगृह धर्मशाला समेत निर्माण गरिएको छ । मन्दिर नजिकै अर्को धर्मशाला पनि निर्माणधिन रहेको छ । हलेसीमा आएका सवारी साधन पार्किङका लागि बसपार्कसमेत निर्माण गरिएको छ ।
हलेसीमा आएका पर्यटकहरुलाई थप समय भ्रमण गर्नका लागि एवं त्यस ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिकाले मञ्जुश्री गुफा जाने पर्यटकीय पदमार्ग निर्माण गरेको छ । यस्तै, हलेसी नजिकै रहेको ढुङ्गै ढुङ्गाको बँगैचा भएको ढुङ्गे बँगैचाको सौन्दर्यकरण गरेको छ । हलेसी नजिकै रहेको अर्को ऐतिहासिक ठाउँ तुवाचुङको पनि सौन्दर्यकरण गरिएको छ । उक्त ठाउँहरुमा पनि पर्यटकहरु वृद्धि भइरहेको मेयर राईले बताउनुभएको छ ।
हलेसी क्षेत्रमा करिब एक सय बढी होटलहरु सञ्चालनमा रहेका छन् । प्रायः सबै होटलहरुमा हरेक दिन पर्यटकहरुको उपस्थिति रहेको पाइन्छ । हलेसीमा विशेष मेला लागेको समयमा होटलहरु भरिभराउ भएर धार्मिक पर्यटकहरुलाई बाँस पाउन कठिन हुने गरेको छ ।
हलेसीको जोखिम र व्यवस्थापनमा चूनौति
त्रि–धार्मिक स्थल हलेसी गुफा माथि विभिन्न रुखहरु रहेका छन् । गुफा माथि रहेको ठुलो फँलाट जातको रुखको करिब १५ मिटर लामो हाँगा भाँचिएर जेठ २९ गते राती गुफा भित्र झरेको थियो । रातको समयमा रुखको हाँगा भाँचिएर झरेकाले मानवीय क्षति नभएको हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले बताउनुभयो । विशेष गरी बिहानको समयमा हरेक दिन दर्शनार्थीहरु दर्शन गर्न गुफामा पुग्ने गर्छन । दिउँसो, साँझसम्म पनि फाट्टफुट्ट दर्शनार्थीहरु हलेसी गुफा पुग्ने गर्छन् । उक्त समयमा रुखको हाँगा भाँचिएको भए ठुलो मानवीय क्षति हुन सक्ने चाम्लिङको भनाइ छ ।
हलेसी गुफा माथी ठुला ठुला रुखहरु रहेका छन् । कुनै कुनै रुखका हाँगाहरु सुकिसकेका पनि छन् । उक्त हाँगाहरु कुनै पनि समयमा भाँचिन सक्ने भएकाले त्यसलाई हटाउन विभिन्न निकायमा आग्रह गरिसकिएको विकास समितिका अध्यक्ष चाम्लिङको भनाइ छ । तर हालसम्म त्यसको व्यवस्थापन भएको छैन् ।
सडक स्तरोन्नतीको आवश्यकता
विश्वको प्रसिद्ध स्थल हलेसी आउनको लागि विशेष गरी तीन वटा सडक रहेका छन् । काठमाडौं लगायतका क्षेत्रबाट आउन खुर्कोट–घुर्मी–जयरामहुँदै मध्यपहाडी लोकमार्ग सडकबाट हलेसी पुग्न सकिन्छ । तर, जयरामदेखि हलेसीसम्मको सडक मध्यपहाडी लोकमार्गको मापदण्डमा छैन् । साँघुरो र ठाउँ ठाउँमा पिज उक्कसिकेकाले आवतजावतमा समस्या छ । यस्तै, तराईका विभिन्न विभिन्न ठाउँबाट उदयपुर कटारीहुँदै घुर्मी जोडिने सडक पनि कटारी–घुर्मी क्षेत्र अधिकांश कच्ची रहेको छ ।
तराईबाट आउने छोटो दुरीको सडा उदयपुर गाइघाट–फोक्सिन्टार–रेग्मिटार–भाट्बेँसी–धितुङ–हलेसी सडक हो । तर, रेग्मिटार–भाट्बेँसी–धितुङ–हलेसी सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मेहुँदा यात्र गर्न कठिन छ । फोक्सिन्टारमा निर्माण गरिएको पक्की पुल सुनकोशीले बगाएपछि बेलिब्रिजबाट हिउँदका केही महिना बाहेक अन्य समयमा सिधा सवारी साधन वारपार हुँदैन् ।
यस्तै, मध्यपहाडीकै सडकहुँदै भोजपुर क्षेत्रबाट भोजपुर–चखेवा–दिक्तेलहुँदै पनि हलेसी आउन सकिन्छ । तर, चखेवा–सेखुवा १० किलोमिटर सडक कालोपत्रे गर्न बाकी रहेकाले बर्खामा सवारी साधन फस्ने गरेको छ ।
यसरी हलेसी आउतजावत गर्ने मुख्य तीन नाकाको सडकमा समस्या भएकाले त्यसको समाधान हुन सके हलेसीमा अझै पर्यटकहरुको विकास हुने अनुमान गर्न सकिन्छ । जसले हलेसी तुवाचुङ नगरपालिका, खोटाङ जिल्ला र समग्र कोेशी प्रदेशको आन्तरिक आयमा वृद्धि हुनेछ ।

