Wednesday, May 20News That Matters

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

रुपाकोटमा निर्माण गरिएको भ्यु टावरसँगै देखिने हिमालको दृश्य

राजकुमार सरगम (भट्टराई)

खोटाङ, चैत १५ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थल खोटाङको रुपाकोट चर्चामा आउन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने सम्भावना भएपनि प्रचारको अभावले ओझेलमा रहेको छ ।

रुपाकोट डाँडा जिल्ला सदरमुकाम दिक्तेलको शिरमा रहेपनि हालसम्म लुकेको अवस्था छ । रुपाकोट डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विभिन्न हिमशृङ्खलासँगै अन्य मनोरम दृश्य देखिन्छ । रुपाकोट आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं धार्मिक महत्व बोकेको ठाउँ पनि हो ।

जानकारहरुका अनुसार मौसम खुलेको समयमा रुपाकोटबाट सगरमाथा, चोयु, लोत्से, मकालु र आमाडब्लम विश्व चर्चित सँगै अन्य थुर्पै साना हिमशृङ्खला देखिन्छ । अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुन्धुुम ट्रेलको अन्तिम स्थल साल्पा सिलिचुङ लगायतका दृश्यको अवलोकन रुपाकोटबाट गर्न सकिन्छ । यस्तै, पुरै एक दिनसम्म घुम्न नसकिने खुल्ला फाँट र जङ्गलका फाँट पनि रुपाकोटमा रहेको छ । जहाँ विभिन्न जडिबुटीसँगै लोपुन्मुख वन्यजन्तु पनि पाइने जानकार सुर्य राईले बताउनुभयो । चराहरुको आवाजले रुपाकोटडाँडा सधै गुन्जायमान भइरहने गर्छ । रुपाकोट वरिपरी एवं पदमार्गमा पर्ने विभिन्न प्रजातीका रुखहरुलाई चिनाउन सामुदायिक वनले रुखको नामप्लेट पनि राखेको छ ।

खुल्ला चौर र जंगलको फाँट

मध्यपहाडी लोकमार्गबाट करिब ५ मिटर मात्र टाढा रहेको रुपाकोट २ हजार ६ सय मिटरको उचाइमा रहेको छ । पैदलमार्गबाट मध्यपहाडी लोकमार्गस्थित मुढे र हुर्लुङदेखि रुपाकोटसम्म जान सकिन्छ । पर्यटकीय स्थलकोरुपमा विकासका लागि रुपाकोटमा केही वर्ष अघि भ्यु टावरसमेत निर्माण गरिएको छ । तथापी रुपाकोटलाई थप व्यवस्थित र प्रचारप्रसार नगर्दा पर्यटकहरुको रोजाइमा पर्न सकेको छैन् । शनिबार र विशेष गरी बिदाको समयमा कर्मचारी र विद्यार्थीहरु रुपाकोटमा घुम्न जाने गरेको मुढेका स्थानीय फुर्लमु शेर्पा बताउनुहुन्छ । त्यो क्षेत्रमा विशेष गरी मानिसहरु पिक्निक खान जाने गरेका छन् । माथी रुपाकोट डाँडामा पानीको सुविधा नहुँदा केही तल रहेको भूल्केमा अधिकांश मानिसहरु अडिन्छन् । केही मानिसहरु मात्र रुपाकोटमा घुम्न पुग्ने गरेको उहाँको भनाइ छ ।

जंगलबीचको पदमार्गको सुन्दर दृश्य

त्यहाँ पुग्ने ब्यक्ति पुनः फर्किर जाने आकर्षणको केन्द्र रुपाकोट रहेको शैक्षिक अभियान्ता सुर्य राई बताउनुहुन्छ । खोटाङमै रहेको विश्व चर्चित त्रि–धार्मिक स्थल हलेसीबाट रुपाकोट, मेरुङहुँदै मयुङस्थित मुन्धुुम ट्रेलमा जोडिने गरी रेडपाण्डा तथा थार रुटको अवधारण अघि सारिएको उहाँको भनाइ छ । हलेसीमा आएका मानिसलाई रुपाकोट लगेर सोही मार्गबाट मुन्धुुम ट्रेलमा जोड्न सकिने उहाँको भनाइ छ । यस्तै, पर्यटन प्रवद्र्धनका लागि रुपाकोट जाने पदमार्गलाई थप व्यवस्थित, रुपाकोटडाँडामा खानेपानीको व्यवस्था, टहराहरु निर्माण लगायतका कार्यहरु गर्नु पर्ने राईको भनाइ छ ।

नामप्लेटसहितका वनस्पतीहरु

धार्मिक मान्यता

रुपाकोटमा कुनै समय कहिले लामा, कहिले जोगी र कहिले विभिन्न जंगली जनावार भएर शक्तिसाली ब्यक्ति बस्ने गरेको किंवदन्ती रहेको छ । जहाँ ढुङ्गाको ओढार अझै पनि रहेको छ । उक्त ओढारलाई जोगी कुटी पनि भन्ने गरिन्छ । वरिपरी घेराबारा गरेर वुद्ध धर्मालम्बीहरुले त्यसको संरक्षण गरेका छन् । जंगलको बीचमा रहेको त्यो ओढारमा अहिले पनि बेलाबेलामा विभिन्न ठाउँबाट आएर धामीझाक्री एवं जोगीहरु बस्ने गरेको स्थानीय बताउछन् । वुद्ध जयन्तीको अवसरमा लामा पढाएर पुजा गर्ने गरिएको स्थानीय फुर्लमु शेर्पा बताउनुहुन्छ ।

धार्मिक महत्व बोकेको ढुंगाको ओढार(जोगी कुटी)

त्यहाँ बस्ने शक्तिसाली ब्यक्ति तामाङ जातीको पुर्खा रहेको उल्लेख छ । लामा, जोगी देखि बाघ, अजिङ्गर लगायत विभिन्न रुप धारण गरेर बस्ने उनको मृत्यु भएपछि सोही ओढारमै उनलाई राखिएको छ । पुर्खाको भनाइलाई उद्धृत गर्दै फुर्लमु शेर्पाका अनुसार स्थानीयले फलफूल र दुध लगिदिने र उनी त्यहि खाएर बस्ने गरेका थिए । सपनामा आफुलाई त्यो ठाउँमा गएर ध्यान गर्न भनेपछि आएको भन्दै बेलाबेलामा केही ब्यक्तिहरु त्यो ओढारमा आउने गरेको शेर्पाको भनाइ छ । त्यहाँ आएर ध्यान गरेपछी धामीको शक्ति प्राप्त गर्ने विश्यास छ ।
यस्तै, रुपाकोटमै शिद्धथान पनि अवस्थित छ । जहाँ विशेष गरी राई समुदायले पुजा गर्ने गरेका छन् ।

भिडियो हेर्नको लागि