
खोटाङ, असार १४ । महभीर फोडेर खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दुरीको सडक जोडिएको छ । महभीर नजिक दुवैतर्फ सडकको ट्रयाक जोडिएपनि भीर फोड्न नसक्दा सडक जोडिन सकेको थिएन । करिब पाँच महिनाको लगातारको मिहिनेतले मह भीर फोडिएपछि पहिलो पटक छोटो दुरीको सडक जोडिएको हो ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबै भन्दा छोटो दुरीको सडक हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्म ट्रयाक केही वर्ष अगाडीनै खोलिएको थियो । महभिरमा ठूलो चट्टान भएकाले विकल्पकोरुपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोगहुँदै आएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को १ करोड ७ लाख ७७ हजार ८४७ रुपैयाँमा श्री कमला कष्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले महभीर फोड्न सफल भएको पूर्वाधार विकास कार्यालय दिक्तेलका लेखा प्रमुख सिताराम राउतले बताउनुभयो । महभीरको सडक जोडिएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्वतमान मन्त्री भूपेन्द्र राईले असार १३ गते सडकको उद्घाटन गर्नुभएको छ । असार १३ गते पहिलो पटक महभीरबाट सवारीसाधन वारपार गर्न सफल भएको छ ।
दिक्तेल–खानीडाँडा–आहाले–महभीरहुँदै उक्त सडक सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक अन्तरगत रेग्मीटारमा जोडिने छ । दिक्तेल–महुरे–बुइपा–राजापानी रेग्मीटार सडक भन्दा दिक्तेल–खानीडाँडा–आहाले– रेग्मीटार सडक करिब २ घण्टा छोटो दुरीको रहेको बताइन्छ । सदरमुकामबाट तराई आवतजावत गर्ने छोटो दुरीको सडक भएकाले साप्सु खोला किनारको महभीर फोड्नलाई रकम विनियोजन गरिएको निवर्तमान मन्त्री राईले बताउनुभयो । छोटो दुरीको सडकलाई अवरोध गरिरहेको महभीर फोडेर सडक जोड्न सफल भएपछि खोटाङ समृद्धिको यात्रामा एक कदम अगाडी बढेको निवर्तमान मन्त्री राईको भनाइ छ ।
घर्ती भीर पनि भनेर परिचित महभीरमा यस अघि साँगुरो गोरेटो बाटो थियो । खोटाङ जिल्ला सडक सञ्जालले नजोडिदा उक्त बाटोहुँदै पैदलयात्रीहरु हिड्ने गरेका थिए । भीरको बाटो साँगुरो भएकाले ढाकर टेकुवा बोकेर सामान बोक्दा कयौँ ब्यक्ति र कयौँ खच्चडहरु साप्सु खोलामा खसेर मरेको स्थानीय बताउछन् । सोही भीर फोडेर अहिले सडक निर्माण गरिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा मोटरेबल पुलसमेत निर्माण भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा निर्माणाधिन मोटरेबल पुल निर्माण व्यवसायीको चरम ढिलासुस्तीले सुस्त गतीमा निर्माण भइरहेको छ ।
निर्माण व्यवसायी र अपरेटरलाई सम्मान
अत्यान्तै जोखिम मोलेर महभीर फोड्न सफल अपरेटर र निर्माण व्यवासायीलाई सम्मान गरिएको छ । साप्सु खोला किनारको भीर चट्टान फोड्न सफल अपरेटरद्वय सिन्धुलीका प्रकाश लामा र हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको हो ।
