Wednesday, April 15News That Matters

पूर्वमा ‘लक्का जवान’ को प्रचारप्रसार व्यापक

इटहरी, वैशाख १२ । कमेडी जनरामा निर्माण भएको नेपाली चलचित्र ‘लक्का जवान’ यही वैशाख २३ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचारप्रसारलाई व्यापक बनाउँदैछ । काठमाडौँमा मात्रै नभई युनिट प्रदेश १ मा समेत प्राचारको लागि आइपुगेको छ । शुक्रबार चलचित्रका तर्फबाट हाँस्य कलाकार तथा लक्का जवानका निर्देशक शिवहरि पौडेल ‘मुखमा हान्नु जस्तो’ र अर्का हाँस्य कलाकार किरण केसी ‘राता मकै’ पूर्व आएका हुन् । विराटनगर एअरपोर्टदेखि १० ओटा अटोमा पोस्टरसहित ‘अटो र्‍याली’ गर्दै इटहरी आएर पूर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै कलाकार किरण केसीले एउटै गीतमा २७ लाख खर्च गरिएको जानकारी गराए भने निर्देशक शिवहरिले यो चलचित्रको कथा अर्गानिक आफ्नै गाउँघरको भएकाले १० वर्षपछि लक्का जवान हेर्दा पनि यसको कथा पुरानो नहुने बताए ।

इटहरीको पत्रकार सम्मेलनपछि केसी र पौडेल धरान पुगे । धरानमा पनि व्हाइट हाउस होटल म्यानेजमेन्ट स्कुलमा धरानका पत्रकारबीच पत्रकार सम्मेलन गरियो । इटहरी र धरानको पत्रकार सम्मेलनपछि अर्को कार्यक्रमको तय भोलिपल्ट शनिबार पूर्व झापामा गरिएको थियो । झापाको दमकमा पनि पत्रकार सम्मेलन गर्दै प्राचारका लागि आएका यी २ ‘कमल डान्स च्याम्पियन, २०७९’ मा प्रमुख अतिथिको भूमिका निर्वाह गर्न समेत पुगेका थिए ।

लक्का जवान चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ । किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’ को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो चलचित्र निर्देशन हो । निर्देशक पौडैलकै कथा र पटकथा, सिनेमेटोग्राफरमा पुरुषोत्तम प्रधान र सम्पादनमा मित्र डी गुरुङ रहेका छन् । धुर्व वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सकाको ब्यानरमा बनेको हो ।