
खोटाङ, भदौ १ । सवारी साधन कारबाहीबाट खोटाङ ट्राफिकले एक वर्षमा रु ४९ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थीक वर्ष २०७८/७९ मा ६ हजार ८ सय ५० सवारी साधन कारबाहीमा पर्दा रु ४९ लाख ८७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय दिक्तेलले जानकारी दिएको छ ।
सबैभन्दा धेरै मोटरसाइकलबाट राजस्व उठेको छ । एक वर्ष भरीमा ३ हजार ६६ वटा मोटर साइकल कारबाहीमा परेका छन् । जसबाट २३ लाख ९५ हजार राजस्व उठेको छ । दोस्रो धेरै कारबाही पर्नेमा कार, जीप र भेन रहेका छन् । २ हजार २ सय २७ वटा कार, जीप र भेन कारबाहीमा पर्दा १४ लाख ६८ हजार राजस्व उठेको छ । यस्तै ६ सय ८३ ट्रक कारबाहीबाट ४ लाख ९२ हजार, ५ सय ९ ट्याक्टर कारबाहीबाट ४ लाख १३ हजार, १ सय ९ वटा टेम्पो कारबाहीमा पर्दा ७९ हजार ५ सय, १ सय ३ वटा बस कारबाहीमा पर्दा ७६ हजार ५ सय र अन्य विभिन्न ७१ वटा मेसिन तथा सवारी साधन कारबाहीमा पर्दा ६३ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालये जनाएको छ ।
सबै भन्दा धेरै सवारी साधन चालक अनुमती पत्र (लाइसेन्स) नभएर कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालय दिक्तेलमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार निर बहादुर बुढाथोकीले बताउनुभयो । तिव्र गतीमा चलाएको, ब्लुबुक नविकरण नगरेको लगायतका कारणले पनि धेरै मात्रामा सवारी साधन कारबाहीमा पर्ने गरेको उहाँको भनाइ छ । जिल्लामा कुद्ने अधिकांश मोटरसाइकल चालकहरुको चालक अनुमती पत्र नरहेको उहाँले बताउनुभयो ।
