Tuesday, April 21News That Matters

यस्तो छ देउवाको पाँचौँ पटक प्रधानमन्त्री बन्दासम्मको राजनीतिक यात्रा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराउनुभएको हो । २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मनुभएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०२८ सालमा नेविसङ्घको सभापति बन्नुभएका देउवा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । देउवाले राजनीतिक जीवनकालमा पटक–पटक गरी नाै वर्षभन्दा बढी समय जेल जीवन बिताउनुभएको छ ।

देउवा २०४८ सालदेखि यताका सबै संसदीय तथा संविधान सभा चुनावमा अपराजित हुनुहुन्छ । देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापति बन्नुभएको हो । २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरेर उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नुभएको थियो । २०६४ सालमा पार्टी एकीकरण गरेर देउवा पार्टीको वरिष्ठ नेता बन्नुभएको थियो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृह मन्त्री रहनुभएका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यस पटकसम्म उहाँ पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको छ ।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो । त्यस्तै २०५८ सालमा देउवा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । तर तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि देउवालाई पदच्युत गर्नुभयो  ।  २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पुनः देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । २०६१ सालमा देउवा तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

यस्तै २०७४ सालमा नेकपा माओवादीको समर्थनमा चौथो पटक प्रधानमन्त्री बन्नुभयो । त्यतिखेर माओवादीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएर देउवालाई साथ दिएको थियो । अहिले फेरि माओवादीकै मुख्य समर्थन र एमाले तथा जनता समाजवादी पार्टीका केही सांसदको समर्थनमा सर्वोच्चको परमादेशपछि देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको हो ।