Thursday, April 16News That Matters

पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएकाे पहिरोमा परेर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् ।

हुप्सेकोट गाउँपालिका-४ का अध्यक्ष रोशन थापाका अनुसार बेपत्ता हुनेमा हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी रहेका छन् ।

हर्कबहादुर पुलामीको भने गम्भीर अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । सुरक्षाकर्मीको टोली अहिले घटना स्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।

पहिरोका कारण त्यही ठाउँका पदमबहादुर पुलामीकाे घरमा समेत क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेका छन् । यस्तै शङ्खदेवमा समेत एक घरमा क्षति पुगेको छ । वडाका विभिन्न ठाउँमा पहिरोले सडकमा क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

यसैगरी लेकाली युवा क्लबको फुटबल ग्राउण्ड समेत गिरुवारी खोलाले बगाएको छ । वडामा बाढीले खेतीयोग्य जमिन डुबानमा परेको उहाँले बताउनुभयो । शङ्खदेव र नयाँ गाउँ जोड्ने पुलमा समेत बाढीले क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो ।