Thursday, April 16News That Matters

खोटाङका चार स्थानीय तह कोरोना संक्रमणमुक्त

पवन खड्का/०८ असोज, खोटाङ । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङमा चार स्थानीय कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका अनुसार हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र वराहपोखरी गाउँपालिका तत्कालका लागि संक्रमणमुक्त भएका हुन् ।

कोरोनाको दोस्रो लहरयता हालसम्म ३०१ जना संक्रमित देखिएको हलेसी तुवाचुङ नगरपालिका र १२४ जना संक्रमित देखिएको केपिलासगढी गाउँपालिकामा समान १–१ जनाको ज्यान जाँदा बाँकी निको भएका छन् ।

यस्तै २९५ संक्रमित देखएको दिप्रुङ चुइचुम्मा र ३१ संक्रमित देखएको वराहपोखरी गाउँपालिकामा सबै संक्रमणमुक्त भएका छन् । यी चार पालिकामा केही दिनयता संक्रमण शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

यसैगरी १० स्थानीय तहमध्ये सबैभन्दा बढी ११ सय ५८ संक्रमित देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० को ज्यान गएको, ३८ सक्रिय संक्रमित रहेको र ११ सय निको भएको तथा १० जनालाई जिल्लाबाहिर उपचारका लागि रेफर गरिएको कार्यालयले जनाएको छ ।४०८ संक्रमित देखिएको ऐँसेलुखर्क गाउँपालिकामा १ को ज्यान गएको, १० सक्रिय संक्रमित रहेका तथा बाँकी निको भएका सिग्देलले बताउनुभयो ।

त्यस्तै २५९ संक्रमित देखिएको रावाबेँसी गाउँपािलकामा २ जनाको ज्यान गएको छ साथै १८ सक्रिय संक्रमित रहेका र बाँकी निको भएका छन् ।

१९५ संक्रमित देखिएको साकेला गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका र बाँकी निको, १४४ संक्रमित देखिएको खोटेहाङ गाउँपालिकामा ६ जना सक्रिय संक्रमित रहेका र बाँकी निको तथा ९१ संक्रमित देखिएको जन्तेढुगा गाउँपालिकामा ७ सक्रिय संक्रमित रहेका र बाँकी निको भएका छन् ।

कार्यालयका अनुुसार दोस्रो लहरयता जिल्लाभर २९ सय ८९ संक्रमित देखिएकोमा १५ जनाको ज्यान गएको छ भने २८ सय ९७ जनाले संक्रमण जितेका छन् । जिल्लामा अहिले ८० जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म ४५ हजार ४६८ जनाले पहिलो मात्रा र ४० हजार ९७९ जनाले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएको पनि कार्यालयले जनाएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले गत जेठ २ गते निषेधाज्ञा जारी गरेको थियो भने संक्रमण जोखिमको अवस्था हेरेर जिल्लाका विभिन्न स्थान सिलसमेत गरिएको थियो ।