Friday, April 24News That Matters

खोटाङमा ट्राफिक नियम उल्लंघन बढ्दो : एक महिनामा ५८७ सवारी कारबाही

पवन खड्का/०६ असोज खोटाङ ।

खोटाङमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो दुई महिनामा कारबाही गरेका सवारी साधनको संख्याबाट ट्राफिक नियम उल्लंघन बढ्दो अवस्थामा रहेको पाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार भदौ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने ५८७ सवारी साधनलाई कारबाही गरिएको छ ।
कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । भदौमा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ३०८ मोटरसाइकल कारबाहीमा परेका छन् ।

यस्तै कार–जीप–भ्यान १३२, ट्रक ५०, ट्याक्टर ४९, टिप्पर १९, बस १५, अटो–टेम्पो १० र अन्य ४ वटा सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । ती सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी चालक अनुमतिपत्र नलिएका, हेल्मेट र सिटबेल्ट नलगाएका, साथमा लाइसेन्स र बिलबुुक नबोकेका, तोेकिएभन्दा बढी भार बोक्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीको भनाइ छ ।

अघिल्लो महिना साउनमा ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ४१३ सवारी कारबाहीबाट २ लाख ६७ हजार राजश्व संकलन भएको थियो ।
ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउँदा हुुन सक्ने सम्भावित दुुर्घटनाबाट जोगाउन ट्राफिक प्रहरीले चालकलाई दैनिक ट्राफिक सचेतना प्रदान गर्ने गरेको खत्रीले बताउनुुभयो ।

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

यस्तै भदौ महिनामा एउटा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।