Thursday, April 16News That Matters

यी हुन् खोटाङमा निर्वाचित कांग्रेस पालिका सभापति

१० असोज, खोटाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न पालिका अधिवेशनबाट खोटाङका १० मध्ये ९ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चार स्थानीय तहमा सहमतिमा र पाँच स्थानीय तहमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीका अनुसार ऐँसेलुखर्क गाउँपालिका, वराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो ।

ऐँसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ, वराहपोखरी गाउँपालिकामा दीपक राई , रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ र साकेला गाउँपालिकामा विजय गुरुङ सभापति चुनिनुभएको छ ।

यस्तै चुनावी प्रक्रियाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई, केपिलासगढी गाउँपालिकामा हेमन्त राई, खोटेहाङ गाउँपालिकामा प्रेम थापा र जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट पालिका सभापतिमा विजयी हुनुभएको खोटाङ कांग्रेसले जनाएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने वडा नं. १ याम्खाको वडा अधिवेशन विवादका कारण पालिका अधिवेशन एक दिन पछि धकेलिएर आइतबार हुँदैछ ।