Thursday, April 16News That Matters

१३ जिल्लामा छठलगत्तै वडा अधिवेशन गर्दै कांग्रेस

नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ। भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन।

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन। रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यता विवाद टुंगिएको छैन।

यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ।

यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ। साथै २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ। हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन्।

कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भनेको छ। त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन्।

कांग्रेसले पटकपटक महाधिवेशनको मिति सार्दै आएको छ। अब तोकिएकै समयमा महाधिवेशन हुने सभापति शेरबहादुर देउवा बताउँछन्। आफूले चाहेर पनि अब महाधिवेशन सार्न नमिल्ने उनले बताएका छन्।

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाइ गरेको तथा सदस्यतासम्बन्धी विवाद टुंग्याउन समय लगाएकोले पनि महाधिवेशन पटकपटक सर्दै आएको छ।