Thursday, April 16News That Matters

खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

खोटाङ कार्तिक २१ : १२ औँ राष्ट्रिय जनगणना २०७८ अन्तर्गत खोटाङमा मूल गणनाको तयारी पूरा भएको छ । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाका लागि आवश्यक तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय खोटाङले जनाएको छ ।

मूूल गणनाका लागि छनोट भएका २ सय ९० गणकलाई काक्ति १३ देखि १६ गतेसम्म तालिम दिइएको थियो । तालिम प्राप्त गणकहरूलाई कात्तिक २५ गतेदेखि तथ्यांक संकलन गर्ने गरी आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकिएको जिल्ला जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी) ले बताउनुभयो ।

उहाँले कात्तिक २४ गते घर तथा घर परिवारको सूचीकरणमा खटिएका सुपरीवेक्षकले गणकलाई कार्यक्षेत्र देखाउने बताउनुभयो । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ । ८० प्रश्नसहित गणक घरघरमा मूल गणनाका लागि आउँदा उनीहरूलाई सही सूचना दिन पनि जिल्ला जनगणना कार्यालयले आग्रह गरेको छ ।

जनगणनालाई प्रभावकारी बनाउन जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका ४ ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–१, दिक्तेलबजार, हलेसी तुवाचुङ नगरपालिका–७, हलेसीबजार, रावाबेँसी गाउँपालिका–१, कुभिण्डे र खोटेहाङ गाउँपालिका–७, खोटाङबजारमा स्थानीय जनगणनाको कार्यालय सञ्चालन गरिएको हो । मूल गणनाका लागि खटिएका गणकलाई यिनै स्थानीय जनगणनाको कार्यालयमा तालिम दिइएको जनगणना अधिकारी कोइरालाले बताउनुभयो ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालित राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घर तथा घरपरिवारको सूचीकरण गरिएको थियो । पहिलो चरणमा जिल्लामा करिब ५८ हजार घर तथा ४१ हजार बढी घर परिवार सूचीकृत भएका कार्यालयले जनाएको छ ।

सरकारले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणा गर्दै आएको छ । यो वर्ष ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना २०७८’ भन्ने नारासहित जनगणना हुुँदैछ ।