Thursday, April 16News That Matters

खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

खोटाङ कार्तिक २२ : खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत निःशुल्क उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत प्रसव बेदनाले पीडित दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो ।

आचार्य र राईलाई सामान्यतया सुत्केरी हुुनुपर्ने समय अगावै प्रसव वेदना लागेकोे र खड्काको सुत्केरी हुनुपर्ने समय नाघिसक्दा पनि उच्च रक्तचापका कारण सुत्केरी हुन नसकेको जिल्ला अस्पताल खोटाङकी जीपी डा. नितु लामाले बताउनुभयो । उहाँहरूको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

अस्पतालबाट यसबारे जानकारी भएपछि लगत्तै प्रशासनले उद्धारका लागि महिला तथा बालबालिका मन्त्रालयमा सिफारिस गरेको थियो । प्रशासनको सिफारिसका आधारमा मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गरेपछि उहाँहरूलाई सदरमुकाम दिक्तेलबजारबाट उद्धार गरी काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।