कार्तिक २३ : शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले हिजो (सोमबार) शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिनुभयो । समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गर्नु भएको थियो । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो । यस्तै सो मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ ।
कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ व.मी क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।
सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिनुभयो ।
