Thursday, April 16News That Matters

खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

३० कात्तिक, खोटाङ । खोटाङमा पछिल्लो एक महिनामा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या झण्डै दोब्बरले बढेको छ ।

जिल्लामा कात्तिक महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरी चलाइएका ९ सय ५ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । ती सवारी साधन कारबाहाीबाट ६ लाख ५३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो ।

अघिल्लो महिना असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७० हजार राजश्व उठेको थियो । यो महिनामा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेको र सो समयमा सवारी आवागमन बढेकाले कारबाहीको संख्या पनि बढेको खत्रीको भनाइ छ ।

उहाँका अनुसार जिल्लामा यो महिना सबैभन्दा बढी कार–जीप–भ्यान कारबाहीमा परेका छन् । कात्तिक महिनामा मात्र ३ सय ७४ वटा कार–जीप–भ्यान कारबाहीमा परेका हुन् । यस्तै मोटरसाइकल ३ सय ५६, ट्रक ८६, ट्याक्टर ५०, बस २३, अटो–टेम्पो १३ र टिप्पर ३ वटा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

सवारी चालक अनुमतिपत्र नलिएका, हेल्मेट र सिटबेल्ट नलगाएका, साथमा कागजात नबोकेका, स्वरूप परिवर्तन, ओभरस्पिड, ओभरलोड र मादक पदार्थ सेवन गरी चलाइएका, बढी भाडा असुल्ने सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

ट्राफिक प्रहरीले चाडपर्वको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने सवारी चालकलाई जरिवाना साथै बढी असुल भएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउँदा हुुन सक्ने सम्भावित दुुर्घटनाबाट जोगाउन चालकलाई दैनिक ट्राफिक सचेतना प्रदान गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।