Thursday, April 16News That Matters

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना


राजकुमार भट्टराई (सरगम)
खोटाङ कार्तिक ३० : नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा चार जनाको भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेस खोटाङको जिल्ला नेतृत्व गर्न चार जनाले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला अधिवेशनमा चार जनाको भिडन्त हुने पक्का जस्तै भएको छ ।

नेपाली कांग्रेस खोटाङको अधिवेशन मंसिर ६ गते हुँदैछ । अधिवेशन आफ्नो पक्षमा पार्नको लागी यतिबेला कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेका छन । सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेस पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै घोषणा भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको छ ।

यस्तै, पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वार रहेको धेरै अगाडि देखी बताउँदै आएपनि आज भने सामाजिक सञ्जालमा भोटको अपिल गर्दै तस्विर नै सार्वजनिक गर्नु भएको छ । राईको समुहमा को–को रहेनेछन उम्मेद्वार भन्ने टुंगो नलागेपनि उपसभापतीमा मनोज तिमिल्सीना र सचिवमा रोजन राईले आफ्नो उम्मेद्वार रहेको बताउनु भएको छ । तिमिल्सीना र राई दुवै जना पुर्व राज्यमन्त्री राई नजिक मानिनु हुन्छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निर्वाचित अध्यक्ष भूपेन्द्र राईले सबै भन्दा सुरुमै जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । उहाँले औपचारीक कार्यक्रममै उम्मेद्वार घोषणा गर्नु भएको हो भने सामाजिक सञ्जालमा भोटको अपिल सहित राईको तस्वीर पनि सार्वजनिक भएका छन । राईको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई बाहेक अरु को–को रहेने भन्ने टुंगो लागेको छैन ।

यस्तै, नेपाली कांग्रेसका महासमिति सदस्य रबिप्रकाश राईले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । जिल्ला अधिबेसन नजिकिँदै गर्दा भोटको अपिल गर्दै सामाजिक सञ्जालमा राईले तस्विर सार्वजनिक गर्नु भएको छ ।

दोस्रो चुनावको संभावना

नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापतिको उम्मेद्वारले मतदाताको ५१ प्रतिशत ल्याएमा मात्र सभापति हुन पाईन्छ । जिल्लामा अहिले प्रदेश क, बाट ७०३ र ख, बाट ७०३ गरि जम्मा एक हजार ४०६ जना प्रतिनिधिहरुको सहभागिता हुनेछ । उम्मेद्वारले ५१ प्रतिशत अर्थात ७१८ मत ल्याएमा मात्र सभापति बन्नेछन ।
अहिले सभापतिका उम्मेद्वार घोषणा गरेका चार जनानै चुनावी मैदानमा उत्रिने हो भने ५१ प्रतिशत मत ल्याउने संभावना कम देखिन्छ । हुनत चार पक्षले आफ्नो समुह बलियो बताउदै आएपनि सोचे अनुसार नतिजा कसैको पक्षमा पर्छ भन्ने कुरामा यकिन छैन । पहिलोे चुनावमा ५१ प्रतिशत मत कसैको पक्षमा जाने निश्चित नदेखिएको कारण जिल्लामा दोस्रो चुनाव हुने उच्च संभावना छ ।

कुन पक्ष बलियो ?

जिल्ला सभापतिको उम्मेद्वार दिएका चार पक्षले आफ्नो पक्ष बलियो रहेको दावी गरिरहेका छन । केहि समय अगाडि भएको पालिका अधिवेशनलाई हेर्दा कांग्रेसका बरिष्ठ नेता पौडेल र महामन्त्री कोईराला पक्ष अर्थात जिल्ला सभापतिका उम्मेद्वार बिष्णुकुमार राईको पक्षका ५ जना पालिका सभापतीमा बिजयी भएका छन भने नेता सिटौला अर्थात जिल्ला सभापतिका उम्मेद्वार भुपेन्द्र राईको पक्षका ४ जना पालिका सभापती बिजयी भएका छन । यता पार्टी सभापती देवा पक्ष अर्थात जिल्ला सभापतीका उम्मेद्वार सर्वधन राई र रविप्रकाश राईको पक्षमा एक जना मात्र पालिका सभापती बिजयी भएका छन । यसरी हेर्दा बिष्णु कुमार राई पक्ष बलियो देखिएको छ । तर पालिका सभापतीको आधारमा जिल्ला सभापती को हुन्छ यकिन गर्न सकिन्न ।

पालिका सभापतीकै अधिनमा सबै क्षेत्रिय सभापती होलान त ? अनि केहि मतले मात्र अर्का उम्मेद्वार पराजित भएका थिए, त्यसोत पालिकामा पराजित उम्मेद्वारलाई मत दिएका क्षेत्रिय प्रतिनिधिले जिल्लामा मत कसलाई दिन्छन त ? जसअनुसार वडा सभापती र पालिका सभापति कुन पक्षमा बढी छन भन्ने आधारमा जिल्ला सभापति छनोट हुने संभावना कम छ ।

हामीले जिल्लाका बिभिन्न ठाउँका क्षेत्रिय प्रतिनिधिसँग बुझ्दा फरक पक्ष गनिनेहरुले पनि ईमान्दारीताका आधारमा जिल्ला सभापतिमा बिष्णु कुमार राई नै ठिक भएको कारण राईलाई मत दिने बताए । तर राई पक्षकै केहि प्रतिनिधहरुले १५ बर्ष सभापति चलाए पनि पार्टीलाई जिताउन कहिले नसकेको भन्दै पुर्व राज्यमन्त्री सर्वधन अवको आवश्यकता भएको बताए ।

यता दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको पक्षमा पनि कम मतदाता छन भन्दा गलत हुन्छ । चतुर दिमाग चलाउने र पार्टीलाई जिताउन सक्ने खुबी रहेको भन्दै जिल्ला सभापतिमा राईलाई मत दिनेहरुको पनि लर्को देखिन्छ ।

अर्का युवा नेता एवं माहासमिति सदस्य रबिप्रकाश राई पनि युवा सर्कलमा लोकपृय नेता मानिनु हुन्छ । राईले आफ्नो जिल्ला सभापतिमा उम्मेद्वार रहेको तस्विर सार्वजनिक गरेसँगै युवाहरु उत्साहित भएको पाईन्छ । हाल कांग्रेसका क्षेत्रिय प्रतिनिधिहरु पनि युवानै धेरै रहेका छन ।

यसरी हेर्दा चार जनामा केहि तलमाथी भएपनि कोहि भन्दा कोहि कम देखिदैनन् । त्यसैले कसैको पक्षमा पनि ५१ प्रतिशत मत आउने संभावना छैन ।

क्षेत्रिय अधिवेशनले माहोल परिवर्तन गर्न सक्छ

खोटाङमा क्षेत्रिय अधिवेशन मंसिर तीन गते अर्थात जिल्ला अधिवेशनको तीन दिन अगाडि हुँदैछ । क्षेत्रिय अधिवेशनको नतिजाले जिल्ला उम्मेद्वारमा परिवर्तन हुने स्रोतको दावी छ । क्षेत्रिय अधिवेशनमा जिल्ला सभापतिका उम्मेद्वार बिष्णु कुमार राई र रवि प्रकाश राई समुहको तालमेल भएको बताईन्छ भने अर्का उम्मेद्वार सर्वधन राई र भुपेन्द्र राईको समुहको तालमेल भएको स्रोतको दावी छ । क्षेत्रको नतिजा आफ्नो पक्षमा आए जिल्लामा सर्वधन राई र भुपेन्द्र राई आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रिने छन । तर क्षेत्रमा आफ्ना उम्मेद्वार पराजित भएको अवस्थामा सर्वधन राई र भुपेन्द्र राई पक्षले एउटै प्यानल बनाएर जान सक्ने संभावना रहेको स्रोतले बताएको छ । यता आफ्नो पुरै प्यानल नै घोषणा गरेको बिष्णु कुमार राई पक्षसँग जिल्ला सभापतिका उम्मेद्वार रविप्रकाश राई मिलेर जान सक्ने संभावना रहेको स्रोत बताउछ । यसरी चार पक्ष मिलेर दुई प्यानल भएमा कुनै एउटा पक्षमा ५१ प्रतिशत मत आउने संभावना छ । तर चार पक्ष छुट्टै प्यानल बनाएर अधिवेशन लड्ने हो भने कुनै पक्षमा पनि ५१ प्रतिशत मत आउने संभावना झिनो मात्र छ । जसअनुसार कि सर्वसम्मत नेतृत्व चयन गर्ने हैन भने दुई प्यानल बनेर दोस्रो पटक चुनाव हुने कुरालाई नकार्न सकिन्न ।

साँढेको चुधाई बाच्छाको मिचाई

नेपाली कांग्रेस भित्र देशैभरी “साँढेको चुधाई बाच्छाको मिचाई” भन्ने नेपाली उखान जस्तै नै भईरहेको कार्यकर्ता बताउछन । माथील्लो तहका नेताहरुले कुर्सीको लोभमा गुट बनाउने अनि कार्यकर्तालाई भागबण्डा गर्छन । जसले गर्दा गुटगत पक्ष बिपक्षका कार्यकर्ता बिच मनमुटाव रहने र चुनावमा खुट्टा तानतान गर्ने परिपाटी कांग्रेस राजनितिमा छर्लङग रहेको एक नेताले बताए ।

त्यसोत : कांग्रेसमा सर्वसम्मत नेतृत्व चयन किन नहुने ? आफ्नै पार्टी भित्रका नेता कार्यकर्तालाई पराजित गरे भन्दै अविरजात्रा गर्ने अनि मनमुटाव गरेर आफ्नै पार्टीका उम्मेद्वारलाई चुनाव हराउने कहिले सम्म ? यतिबेला यो प्रश्नले कांग्रेसका आम ईमान्दार नेता कार्यकर्ताको मन पिरोली रहेको त्यी नेताले सुनाए ।