
खोटाङ, पुस १७ । खोटाङको वराहपोखरी गाउँपालिकामा आयोजित डम्बर राना मगर (शुक्र) दोस्रो स्मृति कप अन्तर वडास्तरीय भलिबलमा पुरुषतर्फको उपाधि उदयपुरको त्रियुगा नगरपालिका–१५, कुभिण्डेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सो टिमले प्रतियोगिताको प्रथम उपाधि जितेको हो ।
यस्तै आयोजक वराहपोखरी–२ सुन्तले ‘ए’ दोस्रो र वराहपोखरी–४ फाक्टाङ तेस्रो भएको छ । पुरुषतर्फको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद रु.५१ हजार १ सय ११, ३१ हजार १ सय ११ र २१ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका आयोजक खेलकुद विकास समिति सुन्तलेका सचिव प्रदीप लुङ्गेली मगरले जानकारी दिनुभयो ।
यसैगरी महिलातर्फको भलिबल खेलको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ ले जितेको छ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–४ बतासेले दोस्रो र वराहपोखरी–४ फाक्टाङले तेस्रो स्थान हासिल गरेको छ ।
महिला भलिबलतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद रु. ४१ हजार १ सय ११, २५ हजार १ सय ११ र १५ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वराहपोखरी गाउँपालिका खेलकुद विकास समिति र २ नं. वडा सुन्तले खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताको प्रायोजन वराहपोखरी गाउँपालिकाले गरेको थियो ।
पुस १४ देखि शनिबारसम्म ज्यू मावि, सुन्तलेको खेल मैदानमा सञ्चालन भएको भलिबल प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ १० टिमको सहभागिता रहेको थियो । विजयी टिमलाई वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा, उपाध्यक्ष गोमा मगर, सुन्तलेका वडाध्यक्ष अम्बरबहादुर मगरले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि जनही नगद रु. दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
वराहपोखरी गाउँपालिकाका चर्चित भलिबल खेलाडी डम्बरबहादुर राना (शुक्र) को सम्झानामा भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ । यो वर्ष कोरोना महामारीका कारण दुई वर्ष ढिला गरी प्रतियोगिता आयोजना भएको हो । खेलाडी मगरको २०७५ पुस २३ गते निधन भएको थियो ।
