
खोटाङ, फागुन ४ । खोटाङमा पाँच जना बन्दकर्ता पक्राउ परेका छन् । एमसिसीकोविरुद्ध बन्द गराउँदै हिँड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । एमसिसी समझौता विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी लगायतका राजनितिक दलले आज नेपाल बन्दको आह्वान गरेका थिए ।
सोहिक्रममा बन्द गराउदै हिड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहका अनुसार पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) खोटाङ जिल्ला सेक्रेटरी झमप्रसाद आचार्य, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ जिल्ला सचिवालय सदस्य सुदिप शर्मा, सोहि पार्टीको विद्यार्थी संगठनमा आबद्ध कमल थापा, अजय चाम्लिङ र संगम राई रहेका छन । उनिहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थीत पेट्रोल पम्प र रमितेडाँडाबाट सार्वजनिक सवारीसाधन सञ्चालनमा अवरोध गर्दैगर्दा पक्राउ गरिएको निरीक्षक शाहले बताउनुभयो ।
यसैबिच जिल्लामा बन्दको प्रभाव सामान्य परेको छ । जिल्लाबाट काठमाण्डौ तराई लगायतका ठाउँमा छुट्ने सवारी साधन बिहान छुटेका थिए । अन्य दिन भन्दा आज सडकमा सवारीसाधनको चहलपहल आज केहि कम रहेको छ ।
