
खोटाङ, फागुन ६ । खोटाङमा तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको हाटबजार खुलाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि माघ ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको थियो ।
संक्रमण घट्दै गएपछि शुुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना र एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी हाटबजार खुलाउने निर्णय गरेको हो ।
जिल्लाको दिक्तेल, बाक्सिला, ऐंसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा परेका थिए ।
