पवन खड्का
खोटाङ, ५ फागुन । प्रायः सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयले टोकन प्रणालीको आधारमा सार्वजनिक सेवा प्रवाह गरेको पाइन्छ । तर, खोटाङको दुर्गम मानिने वराहपोखरी गाउँपालिकाले भने सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागु गरेको छ ।
सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने वराहपोखरी गाउँपालिका जिल्लाकै एक मात्र हो । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङका अरू कुनै पनि पालिकामा यस खालको अभ्यास छैन ।
गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँसभाबाट टोकन प्रणाली लागु गर्ने निर्णय पारित गरेर ५ लाख बजेटसमेत छुट्याएको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ बाट उपकरण खरिदपछि जडान गरेर टोकन प्रणाली सुरु गरेको हो । गत आर्थिक वर्षबाटै सेवा प्रवाहमा टोकन प्रणाली लागु गर्ने योजना भए पनि कोरोना महामारीका कारण केही ढिलाइ हुन गएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुजीव तामाङले बताउनुभयो ।
हाल गाउँपालिकाले प्रशासन शाखा, योजना शाखा, लेखा शाखा र प्राविधिक शाखा गरी चार वटा फाँटमा टोकन प्रणाली लागु गरेको छ । गाउँपालिकाले लेखा शाखा बाहिरपट्टि टोकन मेसिन राखेको छ । त्यहाँबाट मेसिनको बटन थिचेर सेवाग्राहीले टोकन लिन सक्छन् ।
अन्य शाखामा पनि यो प्रणाली लागु गर्दै जाने गाउँपालिकाको योजना छ । त्यसका लागि सम्बन्धित शाखामा जडान गर्न कलिङ प्याड र डिस्प्ले बोर्ड खरिद गरिने तामाङको भनाइ छ ।
‘टोकन प्रणाली नहुँदा सेवाग्राहीहरूमा तँछाडमछाड हुन्थ्यो । यो लागु गरेपछि विगतमा भन्दा सेवा प्रवाह सहज, प्रभावकारी र व्यवस्थित बनेको छ’ तामाङले भन्नुभयो, ‘अहिले आफ्नो पालो अनुसार मात्र सेवा पाइने भएपछि एउटा राम्रो संस्कार बसेको छ । सेवाग्राहीको धैर्यता कायम गरेर अनुशासित राख्नमा ठूलो मद्दत मिलेको छ ।’ टोकन प्रणाली सेवाग्राही र सेवा प्रदायक कर्मचारी दुवैलाई सेवा आदानप्रदान गर्नमा निकै सहज रहेको तामाङले बताउनुभयो ।
सेवाग्राही पनि टोकन प्रणाली प्रभावकारी भएको बताउँछन् । वराहपोखरी गाउँपालिका–४, फाक्टाङका स्थानीय बोजराज सिग्देलले गाउँपालिकामा टोकन प्रणाली लागु भएपछि सेवा लिन विगतमा भन्दा निकै सहज भएको बताउनुभयो । ‘आफ्नो पालो मिचिने डर पनि भएन । टोकन लिएपछि ढुक्कले सेवा लिन पाइन्छ ।’ सिग्देलले भन्नुभयो ।
