Thursday, April 16News That Matters

खोटाङ : जंगलबाट गाउँ पसेको डढेलोले चार घर र तीन मतान जले

फाइल तस्वीर

खोटाङ, वैशाख ११ । जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा चार घर र दुई मतान घर पूर्ण जलेर नष्ट भएको छ । एक मतान घर आंशिक जलेको छ ।
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको सल्लेनीस्थित जोरमाटार सामुदायिक वनमा आइतबार दिउँसो लागेको डढेलो बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय रामकुमार राईको ढुंगा माटोको गारो र फुसको छानो भएको २ तल्ले घर र २ तल्ले मतान घर पूर्ण रूपमा जलेको छ । घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट हुँदा करिब २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

यस्तै दीपक राईको ढुंगा माटोको गारो र जस्ताको छानो भएको २ तल्ले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जली नष्ट हुँदा ३ लाख १० हजार, शिवकुमारी तामाङको ढुंगा माटोको गारो र फुसको छानो भएको २ तल्ले घर र १ तल्ले मतान घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जली नष्ट हुँदा २ लाख ७० हजार, श्रीकृष्ण राईको ढुंगा माटोको गारो र फुसको छानो भएको २ तल्ले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जली नष्ट हुँदा २ लाख ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्ण राईको ढुंगा माटोको गारो र फुसको छानो भएको १ तल्ले मतान घर आंशिक रूपमा जल्दा १० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गाउँमा पसेको डढेलो भने अस्थाई प्रहरी चौकी भण्डारेघाटबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहभागितामा निभाइएको छ । जंगलमा लागेको डढेलो पनि अग्नि रेखा कोरेर नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।