खोटाङ, २४ वैशाख । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको पवित्र सङ्गमस्थल हलेसी मन्दिरबाट १९ दिनमा ११ लाख बढी भेटी सङ्कलन भएको छ । २०७९ वैशाख १ गतेदेखि १९ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकले ११ लाख २६ हजार ९६ रुपैयाँ भेटी चढाएका हुन् ।
हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईकाअनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ७ लाख ७३ हजार ५ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६९ हजार ६ सय, रुद्री, पुराण, लाखबत्ती र अन्य सहयोगबाट २ लाख ८२ हजार ९ सय ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । भेटीबापतको आम्दानीबाट विद्युत, पानी, रुद्री, पुराण, लाखबत्तीको रसिद कटाएबापतको खर्च, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कार र अन्य गरी १ लाख ४० हजार ६ सय ३४ रुपैयाँ खर्च गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम ९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ माछापुच्छ्रे बैङ्क, हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको राईले जानकारी दिनुभयो ।
यस अवधिमा दर्शनार्थी तथा पर्यटकले भा.रु. १० हजार ९ सय १०, सुन ०.७१५ तोला र चाँदी ०.२१६ तोला चढाएका सूचना केन्द्रले जनाएको छ ।
