✍️पवन खड्का
खोटाङ, वैशाख २४ । खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् । आकांक्षा देखाएका तर पार्टीबाट टिकट नपाएकाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गरेका छन् ।
जिल्लाको जन्तेढुंगा र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा यथास्थानका लागि, वराहपोखरी र केपिलासगढी गाउँपालिकामा प्रमुखमा मात्र यथास्थानका लागि, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र ऐँसेलुखर्क गाउँपालिकामा उपप्रमुखमा मात्र यथास्थानका लागि, खोटेहाङ गाउँपालिका, वराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उपप्रमुखबाट प्रमुखका लागि गत निर्वाचन जितेकाहरूको उम्मेदवारी छ । गत निर्वाचनमा वडाध्यक्ष जितेकामध्ये एक स्वतन्त्रसहित दुई जना पालिका प्रमुख र तीन जना उपप्रमुखको उम्मेदवार बनेका छन् ।
जिल्लाका ७९ वडामध्ये ३५ वडामा गत निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेकाहरू फेरि वडाध्यक्षको उम्मेदवार दोहोरिएका छन् । एमालेले २१, कांग्रेसले ८, माओवादीले ४, जनता समाजवादी पार्टीले १ जनालाई वडाध्यक्षको उम्मेदवार दोहोर्याउँदा कांग्रेसले पुनः टिकट नदिएपछि एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा पराजित भएकाहरूले पनि फेरि टिकट पाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
जिल्ला सदरमुकामसमेत रहेको यस नगरपालिकामा प्रमुखमा नयाँ उम्मेदवार आउँदा गत निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुख जितेकी वीणादेवी राई पुनः सोही पदको उम्मेदवार बनेकी छन् । १५ वडा रहेको यस नगरपालिकामा ७ वडामा गत निर्वाचन जितेकाहरूले पुनः वडाध्यक्षका लागि टिकट पाएका छन् । एमालेले ५, कांग्रेस र जनता समाजवादी पार्टीले १/१ जनालाई वडाध्यक्षको उम्मेदवार दाहोर्याएको हो । एमालेले वडा नं. २ मा हर्कबहादुर खत्री, वडा नं ४ मा डिल्लीकुमार राई, वडा नं. ८ मा लिलाकुमार चौहान, वडा नं. ९ मा हर्कराज राई र वडा नं. १४ मा दिनेशकुमार राईलाई फेरि वडाध्यक्षको टिकट दिएको छ । नेपाली कांग्रेसले वडा नं. ११ मा रामचन्द्र राईलाई वडाध्यक्षको उम्मेदवार दोहोर्याउँदा वडा नं. १० मा तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) का मुगाधन राई पुनः वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका
यस नगरपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपप्रमुख जितेकी विमला राईले यसपटक प्रमुखको टिकट पाउँदा कांग्रेसबाटै वडा नं. ६ को वडाध्यक्ष जितेका रमेशकुमार राउत उपप्रमुखको उम्मेदवार बनेका छन् । ११ वडा रहेको यस नगरपालिकामा ६ वडामा गत निर्वाचन जितेकाहरू पुनः वडाध्यक्षको उम्मेदवार दोहोरिएका छन् । कांग्रेसले ४, एमाले र माओवादीले १/१ जनालाई वडाध्यक्षको उम्मेदवारमा दोहोर्याएका हुन् । कांग्रेसले वडा नं. १ मा रुद्रकुमार राई, वडा नं. ४मा किशोरकुमार बस्नेत, वडा नं. ९ मा काशीराज राई र वडा नं. १० ज्ञानबहादुर पुरी, एमालेले वडा नं. २ मा हरिकुमार खड्का र माओवादीले वडा नं. ७ मा चइन्द्र राईलाई फेरि वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
ऐँसेलुखर्क गाउँपालिका
यस गाउँपालिकाले अध्यक्षमा नयाँ उम्मेदवार पाएको छ भने उपाध्यक्षमा भने गत निर्वाचनमा नेकपा एमालेबाट जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेकी पुष्पकला भुजेललाई पार्टीले पुनः सोही स्थानका लागि टिकट दिएको छ । ७ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षमा भने नयाँ उम्मेदवारले टिकट पाएका छन् । गत निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नं. ३ को अध्यक्ष जितेका राजेशकुमार राजभण्डारी गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेका छन् । उनी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट गाउँपालिका उपाध्यक्षको साझा उम्मेदवार बनेका हुन् । कांग्रेसबाट गत निर्वाचनमा वडा नं. २ को वडाध्यक्ष जितेका सन्तवीर तामाङले गाउँपालिका अध्यक्षमा आकांक्षा देखाए पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वडामा भने गत निर्वाचन जितेका कसैलै पनि टिकट पाएका छैनन् ।
केपिलासगढी गाउँपालिका
यस गाउँपालिकामा गत निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका कृष्णकुमार राईलाई पार्टीले पुनः सोही पदको उम्मेदवारमा दोहोर्याएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ५ वडामा गत निर्वाचनमा वडाध्यक्ष जितेकाहरू पुनः सोही पदको उम्मेदवार बनेका छन् । नेकपा एमालेले ३, कांग्रेस र माओवादीले १/१ जनालाई वडाध्यक्षको उम्मेदवारमा दोहोर्याएको हो ।
एमालेले वडा नं. १ को वडाध्यक्षमा वीरबहादुर तामाङ, वडा नं. ३ को वडाध्यक्षमा खगेन्द्रबहादुर गुरुङ र वडा नं. ५ को वडाध्यक्षमा खगेन्द्र राईलाई पुनः उम्मेदवार उठाएको छ । कांग्रेसले वडा नं. २ को वडाध्यक्षमा वलीराज राई र माओवादीले वडा नं. ७ को वडाध्यक्षमा तेजकुमार राई ‘कोयी’ लाई फेरि उम्मेदवार बनाएको छ ।
खोटेहाङ गाउँपालिका
यस गाउँपालिकामा गत निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी कविता राईलाई यसपटक अध्यक्षको उम्मेदवार बनाएको छ । ९ वडा रहेको यस गाउँपालिकामा ६ वडामा गत निर्वाचनमा वडाध्यक्ष जितेकाहरू नै पुनः वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
एमालेले ४ र माओवादीले १ जनालाई वडाध्यक्षको उम्मेदवार दोहो¥याउँदा नेपाली कांग्रेसबाट वडाध्यक्षमा पुनः आकांक्षा देखाएका एक जनाले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले वडा नं. १ मा खड्गबहादुर कार्की, वडा नं. ६ मा देवीन्द्र राई, वडा नं. ७ मा शिवप्रसाद फयल र वडा नं. ९ मा गोपीकृष्ण राई, माओवादीले वडा नं. ५ मा किरण राईलाई पुनः उम्मेदवार बनाउँदा कांग्रेसले टिकट नदिएपछि वडा नं. ८ मा चन्द्रबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जन्तेढुंगा गाउँपालिका
यस गाउँपालिकामा एमालेबाट अध्यक्ष जितेका शंखरबहादुर राई र उपाध्यक्ष जितेकी विमला राई पुनः सोही पदको उम्मेदवार दोहोरिएका छन् । ६ वडा रहेको यस गाउँपालिकामा ३ वडामा अघिल्लो निर्वाचन जितेकाहरू पुनः उम्मेदवार बनेका छन् ।
एमालेले २ र माओवादीले १ जनालाई पुनः वडाध्यक्षको टिकट दिएको हो । एमालेले वडा नं. ४ मा विदुुरमान राई र वडा नं. ६ मा शुकदेव राई र माओवादीले वडा नं. १ मा केदारमान राईलाई फेरि वडाध्यक्षमा उठाएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका
यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नयाँ अनुहारले उम्मेदवारी पाएका छन् । ७ वडा रहेको यस गाउँपालिकामा गत निर्वाचनमा एमालेबाट वडा नं. ४ को वडाध्यक्ष जितेका लोकेन्द्र राईलाई यसपटक पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा एमालेबाट वडा नं. २ को वडाध्यक्ष जितेका भीमबहादुर खत्री र वडा नं. ६ को वडाध्यक्ष जितेका मिलन राई पुनः सोही पदको उम्मेदवार बनेका छन् ।
रावाबेँसी गाउँपालिका
यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार दुवै नयाँ आएका छन् । ६ वडा रहेको यस गाउँपालिकामा ४ वडामा गत निर्वाचन जितेकाहरू पुनः उम्मेदवार दोहोरिएका छन् । कांग्रेस र एमालेले २/२ जनालाई पुनः वडाध्यक्षको उम्मेदवार बनाएको हो ।
कांग्रेसले वडा नं. ३ मा विदुरकुमार खतिवडा र वडा नं. ४ मा ज्ञानबहादुर पाण्डे तथा एमालेले वडा नं. ५ मा गणेशबहादुर थापा र वडा नं. ६ यज्ञनारायण श्रेष्ठलाई फेरि वडाध्यक्षको टिकट दिएको हो ।
वराहपोखरी गाउँपालिका
यस गाउँपालिकामा गत निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्ष जितेका शालिकराम बञ्जाराले पुनः सोही पदको टिकट पाएका छन् । उनी कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट अध्यक्षको साझा उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा एमालेबाट वडा नं. ४ को वडाध्यक्ष जितेर एमाले फुटेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका भुवलराज राई गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार छन् । गत निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी गोमा मगरलाई पार्टीले यसपटक अध्यक्षको उम्मेदवार बनाएको छ ।
६ वडा रहेको यस गाउँपालिकामा गत निर्वाचनमा वडाध्यक्ष जितेका २ जना पुनः सोही पदको उम्मेदवार दोहोरिएका छन् । एमालेले वडा नं. ५ मा फौदराज राई र वडा नं. ६ मा दिलबहादुर राईलाई फेरि वडाध्यक्षको टिकट दिएको हो ।
साकेला गाउँपालिका
यस गाउँपालिकामा गत निर्वाचनमा माओवादीबाट अध्यक्ष जितेका अर्जुनकुमार खड्का र कांग्रेसबाट उपाध्यक्ष जितेकी सरिता खड्का यथास्थानको पदका लागि पुनः उम्मेदवार दोहोरिएका छन् । ५ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षमा भने गत निर्वाचन जितेका कसैले पनि टिकट पाएका छैनन् ।
