खोटाङ, वैशाख २४ । हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएमा विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने र युवालाई रोजगार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले १२ बुधे आफ्नो प्रतिबद्धता जारी गर्दै यस्तो बताएको हो । जेष्ठ नागरिकसँगै एकल महिला/पुरुष र शारीरिक अशक्तको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै कपासको इतिहास बोकेको यस नगरपालिकामा पुनः कपास खेतीलाई पहिलो प्रथामिकतामा राख्दै उत्पादनमुखी कृषीमा जोड दिने, चिस्यान केन्द्र, र संकलन केन्द्र स्थापना गरेर बजारिकरणको सुनिश्चितता पनि नगरपालिकाले गर्ने पत्रमा उल्लेख छ । नगरपालिकामा यस अघिनै सुरु गरेर लोकपृय भएको कार्यक्रम महिला कृषी सहकारी र बालिका बचत कार्यक्रमलाई थप बृहत बनाउने, प्राविधिक÷प्रयोगात्मक शिक्षामा जोड दिने, पर्यटनलाई कृषिसँग जोडेर काम गर्ने, नगरपालिका र ११ वटै वडाको प्रशासनीक भवन निर्माण गर्ने, अन्तरपालिका÷अन्तरजिल्ला जोड्ने सडक स्तरोन्नति गर्ने कांग्रेसको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै १ हजार युवालाई तत्काल नगरपालिकामा तत्काल रोजगार दिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । कांग्रेसको तर्फबाट नगरपालिकाको मेयर पदमा विमला राई र उपमेयरमा रमेश राउतको उम्मेद्वारी छ । राई यस अघि नगरपालिकाको उप–मेयर र राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष हुनुहुन्थ्यो । पाँच वर्षे कार्यकालमा राम्रो काम गरेको भन्दै दुवै जना जनतामाझ लोकप्रिय हुनुहुन्छ । जसलाई पार्टीले पनि विश्वास गरेर उम्मेद्वार बनाएको छ ।
