खोटाङ, वैशाख २५ । संघीयता कार्यान्यवनपछिको दोस्रो स्थानीय तहको निर्वाचन, २०७९ यही वैशाख ३० गते हुँदैछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरू आफ्ना घोषणा र प्रतिबद्धता लिएर नागरिकका घरआँगन पुगिरहेका छन् । खोटाङको रावाबेँसी गाउँपालिकामा हरि पोख्रेल नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार छन् । ४२ वर्ष कम्युनिस्ट पार्टीमा जीवन बिताएका पोखेरल आफू निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने पारिश्रमिक नलिने घोषणासहित चुनावी मैदानमा छन् ।
यी हुन् हरि पोख्रेलका प्रतिबद्धता :
–पालिका अध्यक्षमा विजय भइसकेपछि सरकारबाट प्राप्त पारिश्रमिक गरिब तथा विपन्न परिवारको शिक्षामा कोष स्थापना गरी जनताको कर जनताको पक्षमा लगानी गर्ने
–पालिकाको केन्द्र हरमटारलाई व्यवस्थित बजारीकरण गरी नमुना गाउँपालिका केन्द्र बनाउने
–युवा स्वरोजार कोष स्थापना गरी युवालाई कृषि तथा पशुपालनसँग जोड्ने र कृषकले उत्पादन गरेका उपभोग्य वस्तुको बजारीकरण गर्ने
–‘एक वडा : एक उत्पादन’ लाई कार्यान्वयन गर्नको लागि आवश्यक अनुदान दिने
–गाउँपालिकाको आयस्रोतलाई व्यवस्थित गर्न गाउँपालिकाभित्र रहेका स्रोतहरूलाई पहिचान गरी उत्खनन तथा प्रवद्र्धन गर्ने
–खानेपानी तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखी काम गर्ने
–खेलकुद तथा बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्नको लागि खेल मैदान तथा व्यवस्थित पार्क निर्माण गर्ने
–चिस्यान केन्द्र, आवास गृहलगायतको संरचनालाई पूर्णता दिई पालिका भवनलाई व्यवस्थित गर्ने
–शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि पहिलो चरणमा ३ वटा माध्यामिक तहको विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाई आधारभूत तह र बाल शिक्षलाई अंग्रेजी मिडियममा लैजाने
–सडक निर्माण नभएका ठाउँमा व्यवस्थित सडक निर्माण गर्ने र अहिले भइरहेको मुख्य सडकलाई ग्राभेल गर्ने साथै बिजुले–ऐँसेलुखर्क सडकलाई पिच गर्नलाई पहिलो प्राथमिकतामा राख्ने
–स्वास्थ्य क्लिनिक तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्ने र एमबिबिएससहितको स्वास्थ्य सुविधालाई निरन्तरता दिने
–घोषणापत्रमा गरेको प्रतिबद्धतालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै दिगो विकासलाई जोड दिने
