
खोटाङ, जेठ ३ । एमालेको गढ मानिएको संघीय सांसद तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गत निर्वाचनमा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष दुुवै जितेकोमा यसपटक दुवैमा हार बेहोरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चारदलीय गठबन्धनबाट अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । अध्यक्षमा विजयी उदिमले निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईलाई ३८ मतले हराएका हुुन् । उदिमले ३७२८ मत ल्याएर विजयी हुँदा कविता ३६९० मत प्राप्त गरी पराजित भएकी छन् । अध्यक्षमा पराजित एमालेकी कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३७३७ र पराजित एमालेका राजन बञ्जाराले ३३१० मत ल्याएका छन् ।
९ वडा रहेको यस गाउँपालिकामा ६ वडामा गठबन्धनका, २ वडामा एमालेका र १ वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १, २ र ९ मा गठबन्धनबाट माओवादीको प्यानल नै विजयी हुँदा ३ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेस र वडा सदस्यहरूमा एमाले, ५ मा खुल्ला र दलित महिला वडा सदस्यमा एमाले र अरूमा गठबन्धनबाट माओवादी, ६ मा १ जना खुल्ला वडा सदस्य एमाले र अरू गठबन्धनबाट माओवादी, ८ मा वडाध्यक्षमा स्वतन्त्र र वडा सदस्यहरूमा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ र ७ मा एमालेको प्यानल विजयी भएको छ ।
